arrow

बारपाक सडक डेढ महिनादेखि अवरुद्ध

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
Gorkha-hamrakura.jpg.jpeg
गोरखा । सडकमा झरेका दर्जनौँ पहिरोले गोरखाको बारपाक सडक विगत डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । 
 
सडक अवरुद्ध हुँदा यात्रु हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् भने पुनर्निर्माणको काम सुरु नभएको बारपाकी गुनासो गर्छन् । निर्माण सामग्री ढुवानी नहुँदा अनुदान रकम बुझेकाले पनि घर बनाउन सुरु गरेका छैनन् । बारपाकी सडक मर्मतको पर्खाइमा छन् । 
 
सदरमुकामदेखि बालुवाबजारसम्म सवारी आवागमन हुँदै आएको छ । बालुवादेखि बारपाक, लाप्राक हुँदै गुम्दा सडक अवरुद्ध भएको हो । “सडकमा ठूलो पहिरो झरेको छ”, सो खण्डको रेखदेख गर्न खटिएका सडक योजना कार्यालयका कर्मचारी राजेन्द्र गुरुङले भने , “पहिरोसँगै ठूला रूख ढलेका छन् ।” राङरुङ खोलामा पुल नहुँदा समस्या भएको छ । मान्द्रेभन्दा तलको उकालो बाटोमा धेरै ठाउँमा पहिरो झरेको उनको भनाइ छ । 
 
सडक योजना कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीका अनुसार पानी पर्न कम भएपछि अवरुद्ध बारपाक सडक खुलाउने तयारी छ । राङरुङदेखि मान्द्रेसम्मको खण्डमा पहिरोका कारण गाडी नचल्ने भएपछि गोरखाबाट बारपाकका लागि छुटेका बस बालुवा बजारमा रोकिन्छन् । 
 
बारपाकसम्म सवारीसाधन नचल्दा भूकम्पको केन्द्रबिन्दु बारपाकलगायत धेरै क्षति भएका गाविस लाप्राक, गुम्दा, उहियासम्म निर्माणका सामग्री तथा अत्यावश्यक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ । 
 
बारपाक–१ का लालबहादुर गुरुङका अनुसार बर्खाका बेला बर्सेनि सडक अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि सदरमुकामस्थित अस्पताल पुर्‍याउन सकिँदैन । गाउँमा बिरामी बोक्न सक्ने युवा छैनन् । हेलिकोप्टर चार्टर गर्नसक्ने गाउँलेको आर्थिक क्षमता पनि छैन । अवरुद्ध बाटो छिटो खुलाएर बारपाक सडक कालोपत्र गर्नुपर्ने उनको भनाइ छ । 
 
बारपाकलगायत जिल्लाभरका ३२ ग्रामीण सडक डेढ महिनादेखि अवरुद्ध हुँदा त्यस रुटमा चल्दै आएका यात्रुवाहक बस ग्यारेजमा छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ