arrow

कम्युनिष्ट नेता उपाध्यायको निधनमा ओलीद्वारा दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
kp-oli-new.jpg

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको गए राति थापाथलीस्थित नर्भिक अस्पतालमा ९३ वर्षका उमेरमा निधन भएको थियो । 

आज शोक वक्तव्य जारी गर्दै उनले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहेका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अनुभवी अभिभावक र निरन्तर आन्दोलनमा लागिरहेको प्रतिबद्ध नेता गुमाएको बताएका छन् । 

नेकपामा विभिन्न महाधिवेशन र सम्मेलनमा भाग लिनुका साथै संस्थापक महासचिव पुष्पलालको सामिप्यमा रहेर उनले निरन्तर कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको पार्टीले स्मरण गरेको अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । 

“हाम्रो पार्टी उनका समस्या योगदानको उच्च मूल्याङ्कन गर्दै उनका सकारात्मक योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहनेछन् भन्ने विश्वास व्यक्त गर्दछ”, अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ । 

उपाध्यायले विसं २००७ सालको क्रान्तिबाट आफूलाई राजनीतिमा संलग्न गराउँदै कम्युनिष्ट पार्टीका विभिन्न घटकको नेतृत्व तहमा रहेर काम गरेको वक्तव्यमा जनाइएको छ । 

साथै पुष्पलाल स्मृति प्रतिष्ठानले संस्थाका उपाध्यायका निधनमा दुःख व्यक्त गरेको छ । प्रतिष्ठानका महासचिव डा गङ्गालाल उपाध्यायले आज शोक वक्तव्य जारी गरी उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 

उनी १९८७ साल वैशाख १२ गते तनहुँ जिल्लाको रिसिङ रामजाकोटमा पिता पूर्णकान्त उपाध्याय लम्साल र आमा विद्याकुमारी लम्सालको कोखबाट जन्मिएका थिए ।

नेकपाका संस्थापक महासचिव पुष्पलालबाट विसं २००८ मा तनहुँको बन्दिपुरमा पार्टी सदस्यता लिएका उपाध्यायले नेपालको वाम आन्दोलनमा विभिन्न चरणमा सहभागिता जनाउनाका साथै २०५१ प्रतिष्ठान स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ