काठमाडौं। नेपाल विद्यार्थी संघको महिला उपाध्यक्षमा कृष्ण कुमारी बस्नेतले उमे्दवारी दर्ता गराएकी छन्। काठमाडौंमा जन्मिएर नेपाली काँग्रेसको पृष्ठभूमिमा रहेको परिवारमा हुर्किएर नेविसंघको राजनीतिमा लागेकी कृष्णकुमारी बस्नेतले नेविसंघको यो महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन्। पशुपति बहुमुखी क्याम्पसबाट राजनीति सुरू गरेकी बस्नेत स्पष्ट वक्ताको रूपमा चिनिन्छिन। उनी २०५६ सालमा स्ववियूसभापति हुँदै २०६२ सालसम्म आईपुग्दा नेविसंघ इकाई सभापतिको रूपमा पनि संगठनको नेतृत्व गरि सकेकी छिन्।
मिजासिलो शैली र आफ्ना कुराहरू स्पष्ट रूपमा राख्ने स्वभाव भएकी बस्नेत नेताको नजिक भएर नेताको आशीर्वादबाट होइन कि आफ्नो क्षमता आफैंले तय गर्नुपर्ने तर्क गर्छिन्। अरूको भर पर्दा आरक्षणको कोटामा पुग्ने र उसको भक्ति गरून्ज्याल मात्रै काम बन्ने भन्दै आफ्नो क्षमताको आधारमा अगाडि बढ्नेहरू कहिलै पनि कसैको भर पर्नु नपर्ने धारणा राख्छिन्।
जनआन्दोलनको क्रममा चावहिलबाट नेतृत्व गरेकी उनी आफू तात्कालिन समयमा संयोजक तोकिएकोले पनि आन्दोलनको अग्रपङ्तिमा भेटिन्थिन्। नेविसंघलाई केही नदिई नेविसंघबाट आफूले केही अपेक्षा गर्नु राजनीतिक इमान्दारिताको विपरित हुने बताउने बस्नेत आरक्षणको नाममा सक्षम व्यक्तिले पनि स्थान नपाएको तर्क गर्छिन।
व्यक्तिगत स्वार्थको लागि संगठनमा लाग्नु स्वार्थ भएको उनको मत छ। उपाध्यक्ष पदमा उम्मेदवारी दिने बौंद्धिक पृष्ठभूमिको बस्नेतले राजनीतिशास्त्र र ग्रामिण विकासमा स्नातकोत्तर गरेकी छन्। साथै बस्नेतले कानन संकायमा समेत एलएलवी गरेकी छन्। नेविसंघमा बौद्धिक नेतृमा गनिने उनले आफू वास्तविक विद्यार्थीहरुको योग्य उम्मेदवार रहेको बताउँछिन्।
महिला सशक्तिकरणको लागि मुलुकमा महिला नेतृत्वको लहर छाएको भन्दै योग्य नेतृत्वको लागि महिला र पुरूष भनेर विभेद गर्ने हो भने मुलुकले कहिल्यै पनि उन्नतीको पथमा लाग्न नसक्ने बताँउछिन्।