arrow

वडाध्यक्ष जितेर बस्ती बनाउने लक्ष्यमा अष्ट्रेलियाको पीआर त्यागेका बराल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
kiran-baral.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ का किरण बराल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा होमिएका छन् । अष्ट्रेलियाको विकास अनुभूति गरेका बराल वडामा सोचेजस्तो परिवर्तन र विकास नभएपछि चुनावी मैदानमा होमिएका हुन् । उनी अष्ट्रेलियाको पीआर त्यागेर स्वदेशमै केही गर्नुपर्छ भन्ने सपना लिएर फर्किएका थिए ।

उनले व्यवस्थापन संकायमा स्नातक र अष्ट्रेलियामा रहँदा एकाउन्टिङ र होटल म्यानेजमेन्ट अध्ययन गरेका थिए । अष्ट्रृेलियाबाट नेपाल फर्किएर उनले राजनीति, व्यवसाय र जनसेवालाई सँगसँगै अघि बढाए । एक कांग्रेस नेताको नजरमा बराल निकै प्रतिभाशाली युवा हुन् । पोखराका लागि केही गर्न सक्ने खुबी बरालसँग भएको उनी बताउँछन् ।

एक कुराकानीमा बराल भन्छन्, ‘पोखरा पर्यटकीय हब भएकाले स्वदेशी मात्र होइनन् विदेशी पर्यटक पनि उत्तिकै संख्यामा भित्रिन्छन् । वडामा के छैन ? इच्छाशक्ति भएमा यहाँको स्रोतसाधनलाई उपयोग गरेर राम्रो आम्दानी गर्न सकिन्छ ।’ 

उनी थप्छन्, ‘पोखराका वरिपरि प्रकृतिले अग्ला–अग्ला हिमाल दिएका छन् । यहाँबाट अवलोकन गर्न सकिन्छ । रोजगारीको सिर्जना गर्न सकिन्छ । विदेश पलायन भइरहेका युवाहरूलाई यहीँ रोजगारी दिन सकिन्छ ।’

बरालले वडाध्यक्षमा विजयी भएर विदेशका अनुभूतिलाई यहाँ साकार पार्ने लक्ष्य बनाएका छन् । राजनीतिले मात्रै समाजको सर्वाङ्गिण विकास गर्ने भएकाले वडाध्यक्ष पदमा रहेर निर्वाचिनमा होमिएको बताउँछन् । 

मतदाताका घरमा पुग्दा बराल मत होइन आशीर्वाद मागिरहेका छन् । मत पाउनु भनेको शक्ति आर्जन गर्नु भएको बरालको बुझाइ छ । वडाबासीको आशिर्वाद लिन सकेमा मात्र पनि राम्रो काम गर्न प्रेरणा मिल्ने उनको बुझाइ छ ।

‘पोखरा गण्डकी प्रदेशको राजधानी मात्रै होइन देशकै ठूलो महानगरपालिका भएकाले समुन्नत हुनुपर्छ’, उनी भन्छन्, ‘प्रत्येक वडाले विकास र समृद्धि खोजिरहेको आभास भएको छ । डोजरे विकास भन्दा अगाडि बढ्न नसकेको वडालाई आधुनिक विकासले समुन्नत बनाउन सकिन्छ भन्ने मेरो सोच हो ।’

यसअघि वडामा अभिभावक बनेर आएकासँग भिजन नहुँदा वडाले मुहार फेर्न नसकेको बराल बताउँछन् । ‘भिजन र क्षमता नभएकाले नेतृत्व लिन सक्दैनन्’, उनी भन्छन्, ‘वडाबासीको जीवनस्तर उकास्नु पर्नेछ । आफ्नो ठाउँ आफैँ बनाउनुपर्ने छ । वडामा भएका खाली जग्गा खोजी त्यसलाई व्यवस्थापन गरेर वृद्ध तथा बालबालिकाका लागि पार्क बनाउनु छ ।’

वडालाई हरियाली बनाउने, वडाबाट भएको आम्दानी र अर्थतन्त्रलाई मजबुत बनाइ एकत्रित गर्ने, वडाबाट विदेश पलायन भएकालाई फर्काउने र विदेशबाट आएकालाई स्वरोजगार बनाउन वडाले ऋणका लागि पहल गर्ने उनको योजना छ । 

जनताका आवाज वडामा सहजै पहुँच पुर्याउन पहल गर्ने, सीपमूलक गुणस्तरयुक्त शिक्षा र वडालाई पूर्णप्रविधिमैत्री बनाउने, घर–घरबाट निस्कने फोहोरलाई मोहरमा बदल्न वडाबासीलाई प्रेरित गर्ने योजना पनि उम्मेद्वार बरालले बताए ।
उनले वडाका केही ठाउँमा वर्षाको समयमा बाटोले एकदमै दुःख दिने भएकाले बर्सेनि वडाका लागि दुःख बनेका घाउलाई विकास गरेर सदाका निम्ति अन्त्य गर्ने अठोट गरेका छन् । 

बराल स्कूले जीवनदेखि नै राजनीतिमा सक्रिय थिए । कक्षा ८ देखि राजनीति शुरु गरेका उनी पीएन क्याम्पसको स्ववियू सदस्यदेखि जिल्ला नेविसंघको सचिवदेखि उपाध्यक्षसम्म भए । 

उनले पीएन क्याम्पसमा नेविसंघको अध्यक्षको टिकट पनि पाएका थिए । पढाइका लागि अष्ट्रेलियाका लागि अप्लाइ गरिसकेकाले चुनाव सकेको केही दिनमा नेपाल छोड्न बाध्य भएका बराल संगठनले विश्वास गरेर दिएको टिकट पनि साथीलाई छोडेर विदेश हानिनु पर्दा नमीठो अनुभूति भएको उनी बताँछन् । ३६ वर्षीय बराल किसान परिवारमा हुर्किएका हुन् । उनका पारिवारिक सदस्यहरू पनि कांग्रेसमै आवद्ध छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ