काठमाडौं। नेपाल विद्यार्थी संघको जारी महाधिवेशनमा बुधवार नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। मंगलवार दिउँसो १२ वजेसम्म मनोनयन दर्ताको समय दिइएको थियो। मनोनयनका क्रममा विभिन्न पदहरुमा करिव ५ सयले उमेद्वारी दर्ता गराएका छन्।
यसैक्रममा मध्यपश्चिम प्रदेश नम्वर ५ की निमा गिरीले पनि कोषाध्यक्षमा उमेद्वारी दिएकी छन्। व्यवस्थापनकी स्नातकोत्तर गिरीले पढाइ अनुसारकै काम आउने कोषाध्यक्ष पदमा उमेद्वारी दिएको बताउँछिन।
कम्युनिष्टहरूको बाहुल्यता रहेको प्यूठान जिल्लामा रहेर पनि नेपाली काँग्रेसको भातृ संस्थामा राजनीति गर्दै आएकी गिरी महेन्द्र बहुमुखी क्याम्पसमा इकाई अध्यक्ष समेत भएकी थिइन। संविधानसभा २ मा टिकटसम्म पाएपनि आफूले आफू भन्दा अग्रजहरूलाई सम्मान गर्नुपर्छ भनेर उनले टिकट फिर्ता गरेको थिइन।
उनी दाङको नेविसंघ जिल्ला सदस्य, प्यूठान नेविसंघको जिल्ला उपाध्यक्ष, त्रिवि नेविसंघ कार्य समितिको उपाध्यक्ष र पार्टीको महासमिति सदस्य समेत बनिसकेकी उनले अहिले पनि महिलालाई स्थापित गराउन सकिएन भने नेविसंघ महिलाप्रति कहिल्यै पनि उदार बन्न नसक्ने धारणा राख्छिन। महिला भनेर होइन कि क्षमता हेरेर भोट हाल्न उनको आग्रह छ।
राजनीतिशास्त्र र व्यवस्थापनकी स्नातकोत्तर तथा एलएलवी गरेर वकालत लाइसेन्स समेत लिइसकेकी निमा गिरीले नेपाली काँग्रेस र महिला आन्दोलन नामक पुस्तकको सहलेखक समेत छिन। सिर्जनशिल र वौद्धिक विद्यार्थी नेतृका रुपमा चिनिने उनले नेविसंघमा वास्तविक विद्यार्थीहरुको प्रतिनिधित्वलाई जोड दिन्छिन।