काठमाडौं । नेपाल विद्यार्थी संघको काठमाडौंमा जारी महाधिवेशनको निर्वाचन सुरू भएको छ । विहान ७ बजेदेखि सुरू हुने भनिएको मतदान झण्डै ५ घण्टा पछि सुरू भएको निर्वाचन समिति सदस्य अरूण पञ्जियारले जानकारी दिए ।
उनले अहिले निर्वाचन सुरू भईसकेको जानकारी दिए । बिहानैदेखि निर्वाचन समितिका सदस्यहरू पूर्ण तयारीका साथ बसेको र मुचुल्का बाँध्ने काम पनि सकिईसकेको भएपछि सबै अध्यक्ष र महामन्त्रीका उम्मेदवारहरू भेला नभएकोले मतदानमा ढिलाई भएको उनले जानकारी दिए । ‘ग्रीन
सिग्नल नआएकोले हामीले मतदान सुरू गरेका थिएनौं ।’ उनले भने ‘अहिले निर्वाचन सुरू भईसकेको छ ।’
नेपाल विद्यार्थी सघंको अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म गरि १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ भने महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहेको छन् ।