arrow

साहसकी प्रतीक र विचारकी खानी सिर्जना सिंह 

logo
बाबु नेपाली,
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
srijana-singh-kathmandu-mayor-candidate-2079.jpg

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पूरै देश होमिएको छ । विभिन्न पार्टीका नेताहरु आ–आफ्ना उम्मेदवारलाई जिताउन जनताको घरदैलोमा पुगेका छन् । स्थानीय तह भनेको जनतासँग प्रत्यक्ष जोडिएको सरकारी इकाइ भएकाले पनि आममानिसमा आफ्नो नजिकको सरकारबारे चासो र सक्रियता हुनु सामान्य हो ।  

यस क्रममा स्वदेश र विदेशका नेपालीको सबैभन्दा बढी आकर्षणको केन्द्र काठमाडौं महानगरपालिका भएको छ । देशको राजधानी भएको हुनाले सबैको चासो हुनु स्वाभाविक नै मान्नुपर्छ ।

काठमाडौं महानगरमा नेपाली कांग्रेसले महिला नेतृ सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । उनी राजनीतिक संस्कार भएको घरानाबाट आएकी हुन् । राजनीतिमा विद्यार्थीकालदेखि नै सक्रिय रहेकी उनी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शंकरदेव क्याम्पसमा कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

२०३९ सालमा भएको निर्वाचनमा उनले हालकी उर्जामन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाललाई पराजित गरेकी थिइन् । अहिले महानगरको मेयरका लागि उनका प्रतिस्पर्धीहरु धेरै छन् । तर मुख्य प्रतिस्पर्धा एमालेका उम्मेदवार पूर्वमेयर केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन शाह, विवेकशील साझाकी समीक्षा बास्कोटा लगायतसँग हुने आँकलन गरिएको छ । काठमाडौंमा पाँच दलीय गठबन्धन मिलेर चुनावी मैदानमा छन् । 

सिर्जनाको प्रचार शैली भने शालीन रहेको छ । उनले आफूले गर्न सक्ने कामहरूको मात्र वाचा गरेकी छिन् । स्वच्छ, सफा, सुरक्षित र सुन्दर काठमाडौं शहर निर्माण गर्ने प्रतिवद्धता छ, सिर्जना सिंहको । काठमाडौंमा ठूलो समस्याका रूपमा रहेको फोहर व्यवस्थापनलाई पनि सिर्जना सिंहले महत्वपूर्ण एजेण्डा बनाएकी छिन् । उनले उत्सर्जन भएको शतप्रतिशत फोहोर पूरै व्यवस्थापन गरी दीगो विकासको लक्ष्यसहित काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

सिंहको प्रतिबद्धता पत्रमा काठमाडौं महानगरमा बसोबास गर्ने सबै नागरिकका काठमाडौंप्रति अपनत्व जगाउने प्रेरणादायी विचार सम्प्रेषित भएको छ ।  काठमाडौं महानगरलाई ७७ वटै जिल्लाका नागरिकले आफ्नो महसुस गर्ने शहर बनाउने कल्पना छ सिर्जनाको ।

विद्यार्थी राजनीतिबाट उदाएकी सिर्जनाले बीचमा केही समय पदको राजनीति गरिनन् तर राजनीतिक परिवारमा भएको हुनाले राजनीतिबाट भने कहिल्यै टाढा थिइनन् । उनी विद्यार्थी राजनीतिपछि नेपाल महिला संघमा सक्रिय रूपमा अभियानहरूमा सहभागी भएकी थिइन् ।

सिंहले २०५९–६० को कांग्रेसको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएर सहभागी भएकी थिइन् । सिर्जना सिंहको शालीन स्वभाव, निष्कलंक छवि अनि प्रतिस्पर्धीलाई पनि सम्मान गर्ने व्यक्तित्वले महानगरवासीलाई लाभ पुग्ने निश्चित रहेको विश्लेषण गरिएको छ ।

सिर्जनाको सुशासित, सुसंस्कृत र समृद्ध महानगरको निर्माण गर्ने घोषणा आफैंमा प्रशंसनीय छ । काठमाडौं महानगरसँग सदियौँ पुरानो सभ्यता  छ । त्यही मानवीय सभ्यतालाई जोगाउँदै महानगरलाई सबैको गर्व गर्न लायक ‘महान् घर’ बनाउने सिर्जना सिंहको अभियानलाई नगरवासीहरूले साथ दिन्छन् भन्नेमा कांग्रेस विश्वस्त रहेको कांग्रेस सभापति शेरबहादुरले नै बताउँदै आएका छन् । 

को हुन् सिर्जना ?
२०३३ सालमा नेपाली कांग्रेसको सदस्यता लिएकी सिर्जनाको राजनीतिक सक्रियता नेपाल महिला संघमा बढ्दै गयो । २०३६ सालमा गोरखा जिल्ला महिला संघकी सभापति भएकी उनी २०३५ देखि २०३८ सालसम्म महाबौद्ध क्याम्पसको इकाई सभापति थिइन् ।

२०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचार प्रसारमा भिडेकी सिर्जना महामानव वीपी कोइरालाको स्वास्थ्य उपचारका लागि चन्दा संकलन अभियानका क्रममा २०३७ सालमा पक्राउ परेकी थिइन् । उनी त्यसबेला गोरखामा बहुदल प्रचारप्रसार समितिको महिला फाँटको अध्यक्षसमेत थिइन् ।

शंकरदेव क्याम्पसमा अध्ययनरत रहँदा उनको राजनीतिक सक्रियता प्रखर थियो । २०३९ सालमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनले शंकरदेव क्याम्पसको कोषाध्यक्षमा ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी थिइन् । त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर सिर्जना कांग्रेस नेता एवं सर्वोच्च कमाण्डर गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहसँग विवाह भएपछि भने राजनीतिको लाइमलाइटभन्दा बाहिर रहिन् ।

यो बीचमा उनी कुनै पदमा रहिनन् तर राजनीतिक सक्रियता भने टुटेन । गणेशमानकी बुहारीका रूपमा उनले नेपाली समाजमा आम गृहणीले निर्वाह गर्ने भूमिकालाई पनि उत्तिकै तनमनका साथ निर्वाह गरिन् ।

यसमा कुनै शंका छैन कि ससुरा गणेशमान सिंह, सासू मंगलादेवी सिंह र पति प्रकाशमान सिंहलाई प्रजातन्त्र प्राप्तिको आन्दोलनमा लाग्ने क्रममा सिर्जनाको सहयोगी भूमिका रह्यो । उनी आफैं पनि २०४६ को जनआन्दोलनमा होमिइन् ।

लामो समय उनी महिला संघको सल्लाहकार रहिन् । उनले पदको आकांक्षा गरेको भए मंगलादेवी सिंहको विरासत थाम्दै महिला संघको अध्यक्ष नै हुन सक्थिन् । तर घरका सबै राजनीतिमा होमिएको बेला कसै न कसैले घर व्यवहारमा केन्द्रित हुनुपर्ने बाध्यताका कारण उनले पद प्राप्तिको चाहनालाई थाती राखेकी थिइन् ।

२०५४ सालदेखि महिला संघ, काठमाडौं जिल्ला समितिको सल्लाहकार भएकी उनी कांग्रेसको ११ औं महाधिवेशनमा प्रतिनिधि बनेकी थिइन् । १२ औं र १३ औं महाधिवेशनमा प्रतिनिधि नभए पनि १४ औं महाधिवेशनमा भने काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी थिइन् । अन्ततः लामो समयको गुपचुप राजनीतिपछि सिर्जना यसपालि भने मेयरमै खडा भएकी छन् । दृढता र अठोटसहित काठमाडौंको कायापलट गर्ने गरी । 

उनी गणेशमानको राजनीतिक थलो, गृहथलो चाक्सीबारीकी हुन् । मंगलादेवीको त्यो गरिमामय ओज थामेकी बुहारी हुन् । त्यही चाक्सीबारी जसले २००७ सालदेखि नियमित रुपमा नेपाली राजनीतिक परिवर्तनका लागि वैचारिक अखडा स्थापित गरेको छ । सिंह निवास लोकतन्त्रवादीहरूको सार्थक आश्रय, सक्रियता र सन्देशको केन्द्र बन्दै आएको छ । त्यो गरिमा अहिले पनि प्रकाशमान सिंह र सिर्जना सिंहले थाम्दै आएका छन् । 

राजनीतिक घरानाको साख जोगाउन पनि पहिलो पटक पाएको गरिमामय उम्मेदवारी र त्यसपछिको जिम्मेवारीमा उनले पक्कै पनि कुनै कसर बाँकी राख्ने छैनिन् । उनको परिवार नै विश्वासको आधार हो । 

राजनीतिमा चाहिने नम्रता र धैर्य स्वभाव सबैभन्दा महत्वपूर्ण हो । नेपाली राजनीतिमा गणेशमान सिंहको पहुँच निकै ठूलो थियो । राजा वीरेन्द्रले प्रधानमन्त्री खान आग्रह गरे पनि उनले त्यो पद लिन चाहेका थिएनन् । त्यागका प्रतीक थिए गणेशमान । तिनै त्यागका खानी गणेशमानको राजनीतिक संस्कारबाट अगाडि बढेकी सिर्जना अहिले न्यायको कठघरामा छिन् । उनी साहसकी प्रतीक हुन् । विचारकी खानी हुन् । उनी आफूले केही गरेर देखाउने अठोटका साथ चुनावी मैदानमा छिन् । बाँकी मर्जी काठमाडौं महानगरका मतदाताको !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ