arrow

खरीदारबाट सेवा प्रवेश गरेका मैनाली सचिवमा बढुवा

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
Gopi_Mainal-secretary.jpeg
काठमाडौं। आज भन्दा ३५ वर्ष अगाडि खरीदारको रूपमा निजामती सेवामा प्रवेश गरेका गोपीनाथ मैनाली नेपाल सरकारको सचिव पदमा बढुवा भएका छन्। राजपत्र अनङ्कित द्वितीय श्रेणीबाट सुरू गरेर सचिव पदसम्म पुगेर उदाहरणका पात्र समेत बनेका मैनाली आफू निजामती सेवामा रहेपनि आन्तरिक तर्फको बाटो कहिलै नखोजेको बताउँछन्। एक पछि अर्को पदमा खुल्ला उम्मेदवारी दिँदै सफलता हाँसिल गरेका मैनाली निजामती सेवाबाट अवकास हुनु भन्दा झण्डै ५ वर्ष अगाडि बिहीबारको मन्त्री परिषद्बाट सचिव पदमा बढुवा भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। 
 
आफ्नो ३५ वर्षे सेवा अवधिमा आफूलाई निजामती सेवाको अव्बल दर्जाको कर्मचारी सावित गराईसकेका मैनालीले वि.सं २०४३ सालमा नायव सुब्बा पदमा खुल्लाबाटै नाम निकालेका थिए। त्यसको ठीक दुई वर्षपछि वि सं २०४५ सालमा भिन्न भिन्न सेवामा अधिकृत तहका तीन पदहरूमा नाम निकालेका मैनालीले तात्कालीन समयमा परराष्ट्र र इन्सपेक्टरको सेवा छाडेर प्रशासन तिर आफ्नो यात्रा तय गरे। अधिकृत तहमा आफ्नो सेवा सुरू गरेसँगै जिल्ला विकास समितिको कार्यालय डोल्पामा योजना अधिकृतको रूपमा काम गर्न सुरू गरेका उनी सोही वर्ष अर्थात् २०४५ सालमा नै डोल्पाको स्थानीय विकास अधिकारी बने। सो पदमा केही समय काम गरेर २०४६ सालको अन्तिम तिर योजना अधिकृतको रूपमा उनी सिन्धुपाल्चोक जिल्लामा पुगे।
 
सिन्धुपाल्चोक जिल्लाको निजामती सेवा उनको लागि केही कष्टकर र बढी दबाब झल्नु परेको अनुभव सुनाउँछन्। तात्कालीन समयमा पनि बहुदलको पक्षमा खरो रूपमा उत्रिएका मैनालीलाई तात्कालीन विद्रोहीको रूपमा रहेका अग्नीप्रसाद सापकोटा नपक्रिएको आरोपमा जागिरबाटै निस्कासित गर्ने तयारी गरिएको उनी सम्झन्छन्। तात्कालीन समयमा सरकारका उच्च पदस्थ अधिकारीबाट आएको ठाडो निर्देशन नमानेको आरोपमा उनलाई निस्कासित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेपनि त्यसपछि बहुदल आयो र उनको जागिर पनि बच्यो। 
 
तीनै सचिव मैनाली अहिले एउटै परिवारबाट सचिव बन्ने चौथो सदस्य पनि बनेका छन्। उनको परिवारबाट मात्रै यसअघि तीनजना सचिव बनिसकेका छन्। बहुदल आएपछि पनि उनको काठमाडौं उपत्यका भन्दा बाहिरको यात्रा रोकिएन। त्यसपछि उनको यात्रा जनकपुर नगरपालिकाको अध्यक्ष एवं कार्यकाररिणी सचिवको रूपमा जनमपुर तिर गयो। केही समय जनकपुर धाममा काम गरेका उनी पछि सोही जिम्मेवारी लिएर धरान तिर लागे। सवा वर्ष जति धरानतिर गएर नगरपालिकाकै अध्यक्ष एवं कार्यकारिणी सचिवको रूपमा काम गरेका मैनाली २०४९ सालमा आईपुग्दा राजविराज नगरपालिकाको कार्यकारी अधिकृतको रूपमा राजविराज पनि पुगेको बताउँछन्। उनले अधिकृतको रूपमा यति ठाउँमा पुग्दा पनि धेरै कामहरूको अनुभव र चुनौतीसँग मुकाविला गर्न पाएको भएपनि उल्लेखनीय कामको रूपमा उनी धुलिखेल बसाईके समयलाई सम्झिन्छन्। उनी सुनाउँछन् उनले आफ्नो निजामती जीवनमा धेरै उल्लेखनीय र अहिले पनि सुनाउन मिल्ने काम धुलिखेल नगरपालिकाको कार्यकारी अधिकृत पदमा झण्डै साढे दुई वर्ष रहँदा गरेका थिए । उनको गज्न पनि काभ्रे जिल्लाको कानपुर गाविसमा नै भएको थियो।
 
उनले आफ्नो कार्यकालमा धुलिखेललाई पर्यटकीय शहर बनाउनको लागि उल्लेखनीय योगदान पुर्‍याएका थिए। उनले आफू कार्यकारी अधिकृतको रूपमा जिम्मेवारी लिएको बेलामा नै यो योजनालाई अघि बढाएका थिए। यससँगै सामुदायिक खानेपानी प्रणाली विकास आयोजनाको सदस्यसचिव बनेर खानेपानीको विकास, धुलिखेल कम्युनिटी अस्पतालको जग्गा मुआब्जा वितरणदेखिका अन्य कामबाट समेत उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। केही समय यहाँ काम गरेर उनी लाागे नुवाकोटको कायममुकायम स्थानीय विकास अधिकारी बन्नको लागि। 
 
२०५३ सालमा खुल्लाबाट नै उपसचिव पदमा नाम निकाले पछि भने उनी मन्त्रालय तिर हानिए। रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, राजश्व प्रशासन तालिम केन्द्र र लोक सेवा आयोगमा समेत गरेर उनले लगभग १२ वर्ष जति विताए। त्यसो त यस पदमा रहँदै गर्दा वि. सं २०५९ सालमा सहसचिव पदमा खुल्लाबाट लिखितमा त नाम निकालेका पनि थिए। तर, अन्तर्वार्तामा उनको नाम फालियो र उनी उपसचिव पदमा नै आफ्नो सेवालाई निरन्तरता दिन बाध्य भए। 
 
पछि २०६४ सालको विज्ञापनबाट २०६५ सालबाट सहसचिव बनेका मैनाली बुधबारसम्म सहसचिवको रूपमा लगभग आठ वर्ष योजना आयोगमा नै रहेर काम गरे। यसरी योजना आयोगमा रहँदै गर्दा उनी पूर्वाधार विकास महाशाखा जलवायू परिवर्तन लगायतका विषयमा विभिन्न किसिमका नयाँ प्रयोगहरूमा संलग्न रहेका थिए। जसले गर्दा संयुक्तराष्ट्रसंघमा आवद्ध विभिन्न नियोगबाट उनी र उनकै कामबाट नेपालले समेत पुरस्किृत हुने मौका पायो। 
 
गरिबी र वातावरणीय प्रभावको विषय (पीईआई)अन्तर्गत् योजना र नीतिमा समावेश गर्ने लगायतका उल्लेखनीय काम गरेका मैनालीले कुनैपनि आयोजनामा जलवायू परिवर्तनको प्रयोग कसरी भएको छ भन्ने विषयमा अध्ययन गर्नको लागि जलबायू परिवर्तन बजेट कोड लागू गरेर विश्वमा नै पहिलो पटक नयाँ प्रयोग सुरू गरेका थिए। जसका कारण संयुक्त राष्ट्रसंघले सन् २०१३ मा मैनालीको नाम समेत उल्लेख गर्दै पहिलो पटक नेपाललाई ग्लोवल लिडरसिप अवार्ड प्रदान गरेको थियो। 
 
त्यस्तै, आफू सहसचिव हुँदा सबैका लागि दीगो उर्जा कार्यक्रमको राष्ट्रिय संयन्त्रको सदस्यसचिव हुँदै जग्गा प्राप्ति, पूनर्वास तथा पुनस्र्थापना नीति बनाउन समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका मैनाली अनुभवले खारिएका निजामती कर्मचारीको दर्जामा दर्ज भएका व्यक्ति हुन्। विपद् पछिको आवश्यकता आकलन गर्ने कन्ट्रि सेफ गार्ड सिस्टम अन्तर्गत रहेर कूल २३ क्षेत्र मध्ये ६ क्षेत्रको आवश्यकता आकलन गरेका मैनालीले सन् २०१५को सेप्टेम्बर २५ मा पारित भएको दिगो विकासको लक्ष्यमा रहेका कूल १७ लक्ष्य मध्ये ५ वटा लक्ष्यको प्राविधिक कामको नेतृत्व समेत गरिसकेका छन्। 
 
‘प्लानिङ फर रिजल्ट’ अन्तर्गत् विश्व बैंक र नेपाल सरकारको सहकार्यमा बन्ने नेपालका १५ रणनीतिक पुलहरूको प्राविधिक नेतृत्व समेत गरिसकेका मैनाली १२औं १३ ओं र १४औं नीति तथा कार्यक्रम बनाउने काममा समेत सक्रिय रहेका थिए। तिनै मैनालीलाई मन्त्रिपरिषद्ले वरिष्ठताका आधारमा विहीबार सहसचिवबाट सचिव पदमा बढुवा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ