arrow

चौधरी फाउन्डेसनद्वारा कान्ति बाल अस्पतालमा निर्मित ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ हस्तान्तरण

सारिका भन्छिन्– बच्चा बिरामी पर्दा आमाको मन कति पोल्छ भन्ने मलाई गहिरो अनुभूति छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
chaudhary-foundation-kanti-child-hospital.jpg

काठमाडौँ। चौधरी फाउन्डेसनले काठमाडौँको कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ। चौधरी फाउन्डेसन मार्फत उक्त अस्पतालको आकस्मिक कक्षको स्तरोन्नति र विस्तार कार्यमा सारिकादेवी चौधरीको विशेष योगदान रहेको छ।

बुधवार अस्पतालमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरेका छन्। उक्त अवसरमा बोल्दै राज्य मन्त्री श्रेष्ठले देशको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुपले सर्वसाधारण नागरिकका सन्ततिले उपचार सेवा पाउने अस्पताललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा आफूले राखेको बताए। फाउन्डेसनद्वारा १४ शय्याको इमरजेन्सी वार्ड विस्तार गरी २५ शय्याको निर्माण गरिएको छ।

चौधरी फाउन्डेसन नेपालका एक मात्र डलर अरबपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कामकालागि स्थापना गरेका हुन्। राजनीतिमा समेत सक्रिय रहेका चौधरी हाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रहेका छन्।

आकस्मिक कक्ष हस्तान्तरण समारोहमा बोल्दै फाउन्डेसनका महासचिव सारिकादेवी चौधरीले आफू आमा रहेको र आफ्ना सन्तान बिरामी पर्दा आमाहरूको मन कति पोल्छ भन्ने बारेमा आफूलाई गहिरो अनुभूति रहेको बताउँदै सर्वसाधारण नेपाली नागरिकका बालबच्चाले उपचार पाउने कान्ति बाल अस्पताललाई आफूले रोज्नुको कारण यही रहेको बत्ताइन्। आम नेपाली बालबालिकाको उपचारमा अहिले विस्तार गरिएको आकस्मिक कक्षले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरिन्।

उक्त अवसरमा फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा.युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका थिए। हस्तान्तरणपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई सन्तोष लागेको बताए।

चौधरीले आउँदा दिनहरूमा अस्पतालको सेवा विस्तारमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। ‘बालबालिका देशको भविष्य निर्माता हुन्’ उपाध्यक्ष चौधरीले भने, ‘त्यसैले उनीहरूलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध गराउन हामी सबैले विशेष ध्यान दिनुपर्छ।’ उपाध्यक्ष चौधरीले दूर–दराजसम्मका सर्वसाधारण र निम्न आर्थिक स्तर भएका नागरिकका सन्ततिले पनि सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पाउन भन्ने ध्येयले आफूहरूले कान्ति बाल अस्पताललाई सहयोग गरेको बताए।

देशको विकासका लागि बालबालिकामाथिको लगानी अत्यावश्यक रहेकोमा जोड दिँदै उपाध्यक्ष चौधरीले गुणस्तरीय शिक्षा र स्वास्थ्यमार्फत बालबालिकाहरूलाई बलियो बनाउन आवश्यक रहेको बताए।

कान्ति अस्पताल देशकै मुख्य बाल अस्पताल हो। हरेक वर्ष करिब एक लाख पचास हजार बिरामी बालबालिकालाई चिकित्सकीय सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पताल ३७२ शय्याको छ। चौधरी फाउन्डेसनले आज हस्तान्तरण गरेको आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेको छ।

फाउन्डेसनले इमरजेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शय्यासहित २५ शय्या, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि उपलब्ध गराएको छ। फाउन्डेसनले इमरजेन्सी वार्डलाई निःशुल्क वाई फाई जोन पनि बनाएको छ। यसकोलागि सिजी नेटको इन्टरनेट जडान गरिएको छ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले चौधरी फाउन्डेसनले देशका विभिन्न अस्पतालहरूमा गरिरहेको सहयोगको सह्राना गर्दै कान्ति अस्पतालको आकस्मिक कक्ष विस्तारमा पुर्‍याएको योगदान अतुलनीय भएको बताए। अस्पतालका निर्देशक.डा.युवनिधि बस्यौलाले चौधरी फाउन्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे। उनले चौधरी फाउन्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए।

चौधरी फाउन्डेसनले स्वास्थ्य क्षेत्रमा देशैभरि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। कोभिड महामारीकाबीच गत वर्षको जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा १८ शय्याको सिजी आइसियु वार्ड तथा धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण गरेको थियो। फाउन्डेसनले आफ्नो स्वास्थ्य सहयोग अन्तरगत हाल सरकारी अस्पतालका पूर्वाधार निर्माणमा सहयोग केन्द्रित गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ