नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा बिहीबार साँझ भारतको नयाँ दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार साँझ भारतका राष्ट्रपति प्रणव मुखर्जी र शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।
शुक्रबारबाट उच्चस्तरीय भेटवार्ता गर्दै गरेका निधिले साँझ ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसाग राष्ट्रपति भवनमा भेटवार्ता गर्ने तय भएको नेपाली दूतावासले जनाएको छ । भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा हस्तान्तरणसहित दुई देशको सम्बन्धबारे छलफल हुनेछ ।
संविधान जारी भएको दिन गत वर्षको असोज ३ गते आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रूपमा मुखर्जीलाई निमन्त्रणा गर्न लागिएको स्रोतले बताएको छ ।
उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग शुक्रबार १ देखि पौने ३ बजेसम्म भेटवार्ता गर्ने तय भएको छ । भेटमा नेपाल–भारत सुरक्षा मामिलाका विषयमा छलफल हुनेछ ।
निधिले विदेशमन्त्री सुष्मा स्वराजसँग शुक्रबार पौने ३ बजे भेट्ने कार्यक्रम छ ।
त्यस्तै उपप्रधानमन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेभेन रेसकोर्सरोडस्थित प्रधानमन्त्री निवासमा शनिबार बिहान ११ बजे भेट्ने तय भएको छ ।
निधिले संविधान संशोधन गर्न भइरहेको प्रयास तथा संविधान कार्यान्वयनमा भारतको सहयोगबारे मोदीसँग कुराकानी गर्नेछन् ।
आइतबार र सोमबारका कार्यक्रम व्यक्तिगत उच्चस्तरीय र औपचारिक कार्यक्रम शनिबार साँझसम्म सक्ने उपप्रधानमन्त्री निधिको तयारी छ ।
त्यसपछि आइतबार र सोमबार साँझसम्म उनले व्यक्तिगत तथा पारिवारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।