arrow

धन्य चुनाव भो र बच्यो नेविसंघ, जश देउवालाई

logo
बाबु नेपाली,
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
nebisangh11.jpeg
काठमाडौं ।  ‘अचानोको मर्म खुकुरीलाई के थाहा’  भन्ने नेपालीमा एउटा उखान छ । यो उखानले आफूलाई परेको पीडा अरुलाई थाहा हुँदैन भन्ने संकेत दिन खोजेको छ । हुन पनि नेपाली काँग्रेसको सबैभन्दा पहिलो चरणको भ्रातृ संगठन नेविसंघ यस्तो अचानोमा परेको थियो कि अहिले निर्वाचन नभएको भए सम्भवतः कहिल्यै हुने थिएन कि ! 
 
यसको कारण के भने निरन्तरता क्रमभ्रङ्ग भएपछि त्यसले फेरि बाटो पकड्न मुस्किल पर्छ । अर्थात् ‘बेद पढ्ने ब्राम्हणलाई रक्सीको लत बस्यो भने त्यसले जिन्दगी बेद बढ्दैन’ भनिन्छ । ‘दाम्लो छिनालेर बुर्कुसी मारेको राँगो कहिल्यै भकारो खोजेर जाँदैन’ भनेझैं नेविसंघ स्वांठ भैसकेको थियो । कसैले भनेको नटेर्ने भइसकेको थियो । 
 
नेविसंघले विद्यार्थी विषय उठाउनु पर्ने हो । शिक्षाको विषय उठाउनु पर्ने हो । तर नौ वर्षसम्म महाधिवेशन नगरी बस्दा जसरी शक्ति संचय भएर बसेको थियो त्यसले नै समस्यामा पारेको हो । 
 
नेविसंघका कार्यकर्ता ‘ब्याचलर’ (अविवाहित) हुँदा असाध्यै राम्रो हुन्थ्यो । तर अहिलेको नेविसंघलाई हेर्ने हो भने छोरो पनि बाबुलाई नै भोट हाल्न निर्वाचन स्थल गयो कि ! 
 
बाबुछोराले एउटै क्लासबाट पढेको भनेर प्रमाणपत्र बनाए कि ! यो केवल कल्पना हो । यस्तो नभएको होस् । भन्न के खोजिएको हो भने हदै पार गरेर नेविसंघका कार्यकर्ता नेविसंघमै थिए । 
 
हुनत नेविसंघपछिको भ्रातृ संगठन तरुण दल छ । तरुण दलमा जाने जाँगर कुनै पनि नेविसंघ नेताले बनाएनन् । पहुँच र पहिचानको आधारमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि भए । 
 
यो अर्थमा तरुण दल पनि नेविसंघ जत्तिकै रुग्ण अवस्थामा छ । यसको पनि छिट्टै उद्दार हुनुपर्छ । त्यतिमात्र होइन नेपाली काँग्रेस निकटका जति पनि संघसंस्था छन् तिनीहरुको चुनाव तत्काल हुनुपर्छ । 
 
किनकि ती संघले पनि नेविसंघकै अवस्था भोगिरहेका छन् । ती पनि जीर्ण छन् । एउटै पदमा बसेर लाभ उठाउने त होलान् तर कार्यकर्ता बनेर बस्नेको कहिल्यै उद्दार हुँदैन । 
 
कसरी भयो नेविसंघ महाधिवेशन–
जेसुकै भए पनि नेविसंघको चुनावी महाधिवेशन सम्पन्न भयो । तर यो सम्पन्न हुन सिङ्गो पार्टीले नै संघर्ष गर्नुप¥यो । पार्टी सभापति शेरबहादुर देउवाले नचाहेको भए सायदै यो चुनाव हुने थियो । 
 
देउवालाई राम्रैसंग थाहा छ नेविसंघको शक्ति । किनकि उनी नै त्यो शक्ति हुन् । नेविसंघको नेतृत्व सम्हालेर दुई पटक प्रधानमन्त्री हुने र पार्टीको सभापति बन्ने उनी एक्ला हुन् । 
 
यो महाधिवेशनलाई लिएर देउवाको राजनीति पनि अडिएको थियो । अर्थात् उनको इज्जत दाउमा थियो । त्यसैले पनि उनी जसरी पनि नेविसघको महाधिवेशन गराउनु पर्छ भन्नेमा थिए । भयो पनि । त्यसका लागि जश लिने हकदार देउवा नै हुन् । 
 
तर जसरी तीन दिने भनेर १२ दिनसम्म महाविधेशन भयो यो भने एक कालो धब्बा नै हो । महाधिवेशनको उद्घाटन भएपछिमात्र प्रतिनिधि चयन गर्ने प्रजातान्त्रिक दलका लागि कहिल्यै नमेटिने धब्बा पनि बन्यो । 
 
हुनत ‘सहमतिमा सबै जायज हुन्छ’ भनिन्छ । त्यही जायजपन यतिबेला देखियो । अझ ‘राजनीति एक फोहरी खेल हो, सम्भव असम्भव सबै कुरा जायज हुन्छन्’ पनि भनिन्छ । त्यही नाजायजलाई जायज गराएरै पनि देउवाले चुनाव गर्न सफल भए । 
 
अब भने विधानअनुसार नै नेविसंघ चलोस् भन्ने हो । त्यसरी चल्न सकेन भने पार्टीले फेरि ठूलो क्षति बेहोर्नुपर्छ । त्यसतर्फ देउवाले सोच्नु जरुरी छ । 
 
अहिले अध्यक्ष बनेका नैनसिंह महर ४४ वर्षका छन् । त्यो भने हाँस्यास्पद हो । तर नौ वर्ष थन्किएर बस्नुपर्दाका पीडा महरले पनि बुझेकै होलान् । उनी ३५ वर्षका भए स्वभाविक लाग्थे । 
 
महरले पनि बुझुन् कि थेग्रिएर बस्दाको पीडा र खेप्नुपर्ने आलोचना कस्तो रहेछ । त्यसो त उनको टिमका सदस्यहरु पनि सबै कलिला छैनन् । 
 
नेविसंघको विधानमा अबदेखि ३२ वर्षभित्रको पदाधिकारी हुनुपर्ने वाध्यताले गर्दा यो नै नेविसंघको अन्तिम बुढ्यौली टोली हुनेछ । 
 
यो बुढ्यौली टोलीले केटौले काम गरेर चाहीं नजाओस् । एउटा सिष्टम बसालेरमात्र बिदा होस् । 
 
जसरी नेविसंघमा उमेरको हद तोकिएको छ त्यसरी नै अब काँग्रेसले अन्य भ्रातृ संस्थामा पनि त्यो संस्कार बसाल्न सकोस् । 
 
हरेक पेशामा ‘रिटायर्डमेन्ट’ संन्यास भन्ने हुन्छ । केवल नेपाली राजनीतिमामात्र त्यो लागु भएको छैन । अब तरुण दल हुँदै काँग्रेसले पार्टीमा पनि पदाधिकारीको त्यो हदबन्दी लागु गर्न सक्ने हो भने सक्रियता बढ्ने देखिन सक्छ । 
 
त्यसो भयो भने अहिलेको वर्तमान परिस्थितिमा पनि काँग्रेसले थुपै नेतालाई सम्मानित अभिभावक बनाएर राख्न सक्छ । 
 
जीवनमा उर्जाको समय कति हो, कसले कति काम गर्ने ल्याकत राख्न सक्छ भनेर चिकित्सकीय सल्लाह नै लिने हो भने पनि काँग्रेस पदाधिकारीमा डाक्टरहरुको कमी छैन । बस् त्यसलाई ब्यवहारमा उतार्नु प¥यो । 
 
अहिले नेविसंघको चुनाव गराएर जश लिने काम त देउवाले गरे नै त्यसलाई निरन्तरता दिन नसके फगत यो अधिवेशन पनि आफ्नो उत्तराधिकारीलाई जिताउनमात्र गरिएको एक नाटक थियो भन्नुबाहेक अरु केही हुने छैन । 
 
यसै पनि हरेक काँग्रेस नेताका विद्यार्थी गुट छन् । गुटबन्दीको अन्त्य नगर्ने हो भने प्रजातान्त्रिक पार्टीको आडमा नेतृत्वका लागि सात सात जना नै चुनावी मैदानमा उत्रने होडबाजी सधै रहन्छ । 
 
देउवाले चुनाव गराएर मह काढेजसरी हात त चाट्ने नै भए तर अहम्ले मौरीको घारमै आगो लगाउने काम गरे भने उनका दुर्भाग्यका दिन सुरु भइसके भन्दा फरक नपर्ला ।
 
किनकि यस चुनावमा तीन पक्ष प्रत्यक्ष देखिएको थियो । भएको कुनै गठबन्धन पनि निश्चित स्वार्थपछि टुङ्गिन बेर लाग्दैन । 
 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ