काठमाडौं। नेपाल विद्यार्थी संघको महाधिवेशनमा भएको आन्तरिक प्रतिष्पर्धामा आफ्नो समुहले सफलता हात पारेपछि नेपाली काँग्रेसमा तेस्रो धारको रुपमा स्थापित कृष्ण प्रसाद सिटौला र गगन थापा नेतृत्वको टीमको ध्यान अब यहि महिना हुने तरुण दलको महाधिवेशनतर्फ केन्द्रीत हुन थालेको छ।
नेविसंघको रञ्जित कर्ण नेतृत्वको मनोनित कार्यसमितिमा तत्कालिन महामन्त्री सिटौला निकट करिव आधा दर्जन मात्र थिए। नेविसंघका तत्कालिन महामन्त्री तथा काँग्रेस नेता थापाले सिफारिस गरेका एक जना पनि परेका थिएनन्। थापाले आग्रह गर्दा पनि नराखेपछि उनलाई केन्द्रीय समितिमा राख्न सिफारिस गरिदिनुपर्यो भन्न आउनेहरुलाई अर्को महाधिवेशनको तयारीमा लाग्ने सुझाव दिएर पठाउँथे। नभन्दै यो पटक उनले त्यहि बेलादेखि विद्यार्थी नेताहरुलाई दिएको सुझाव र उनले पनि गरेको गृहकार्यका कारण वर्तमान निर्वाचित कार्यसमितिमा थापा निकट दर्जनौ व्यक्ति पुगेका छन्। त्यो पनि हैसियत र सम्मानका साथ। केहि व्यवस्थापकीय कमजोरी हटाउन सकेको भए सिटौला-थापा समुहले अझै कार्यसमितिमा आफ्नो हैसियत बढाउन सक्थ्यो उनी निकट एक नेताको भनाइ छ।
काँग्रेसको १३ औं महाधिवेशनमा कृष्ण सिटौला, गगन थापासँग अलग रहेका प्रदीप पौडेल विद्यार्थीको चुनावमा एकै ठाउँमा आएपछि यो समूहले आफ्नो हैसियत अझ बढाउन सकेको थियो। यसको प्रमाण उनीहरुले नेविसंघको महाधिवेशनबाट दिएका छन्। यो समूहबाट कुन्दन काफ्ले महामन्त्री मात्र बनेका छैनन पदाधिकारीमा झण्डै एक दर्जनलाई पुर्याएका छन्। नेविसंघलाई काँग्रेसको नर्सरी भनिन्छ। यस भनाइलाई मान्ने हो भने पनि यो समुहले काँग्रेसको नर्सरीमाथि वैधानिक रुपमा कब्जा जमाउने प्रयास गरेको छ। केन्द्रीय समितिमा पुर्याएको झण्डै ४० जनाको उपस्थितिले यो प्रयास गरिएको हो भन्ने कुरालाई वल पुर्याउँछ। नेविसंघको परिणामले पार्टीमा तेस्रो समूह बन्ने प्रयासलाई बल पुर्याएको विश्लेषण पछि यो समुहको ध्यान अब तरुण दलतर्फ केन्द्रीत भएको छ।
महाधिवेशन अघी तत्कालिन संस्थापन पक्षमै रहेका सिटौला थापाहरुले पार्टीभित्रै पनि अप्ठ्यारो बाटो रोजेका थिए। धेरैले साथ दिने अवस्था थिएन। राजनीतिक रुपमा आफ्नो भविष्यको चिन्ता उनीहरुलाई सहयोग गर्ने चाहनेहरुलाई पनि थियो। तर रहदा बस्दा अहिले पार्टीभित्रको आन्तरिक राजनीतिक समिकरणमा यो समुह निर्णायक सावित हुँदै गएको छ। नेविसंघ महाधिवेशन हुन नसक्ने अवस्थामा पुग्दा गगन र प्रदिपहरु निर्णायक बन्दा विद्यार्थीमा शेर बहादुर देउवा र कृष्ण प्रसाद सिटौलाको गठवन्धन बन्यो।
काँग्रेस महाधिवेशन दोस्रो चरणमा पुग्दा सिटौलाले देउवालाई जीताउन भुमिका खेले झै यो पटक विद्यार्थी महाधिवेशनमा सिटौला-थापा समूहका कुन्दन लगायतले आफु मात्रै जितेर आएनन्, देउवा समुहका अध्यक्षका प्रत्यासी नैनसिंह महरलाई पनि जिताए। सिटौला-थापाको समर्थन नभएको भए नैनसिंह जित्न सक्दैन थिए भन्ने कुरा पनि परिणामले देखाएपछि यो समुहले अबको गन्तव्य २० दिनपछि हुन लागेको तरुण दलको महाधिवेशनमा केन्द्रीत गर्ने संकेत गरेको छ। सँगँगै हुने महिला संघ र साँस्कृतिक संघको महाधिवेशनमा पनि उनीहरुको ध्यान जाने नै छ।
गगनले नेविसंघको महाधिवेशन अघी भनेका थिए गगन-प्रदिप जहाँ उभिन्छन नेविसंघको संस्थापन पक्ष त्यहि हो। उनले बोलेको कुरा आफ्नो ठाउँबाट पुरा गरेर देखाए। देश दौडाहा धेरै गर्ने नेतामा पर्ने गगन थापा तरुण दलको जिल्ला अधिवेशनहरु पनि धेरै ठाउँमा पुगेका छन्। उनी विद्यार्थी नेतृत्वमा छदा राजनीतिमा लागेकाहरु अहिले पनि धेरै विद्यार्थी र तरुण दलको राजनीतिमा सक्रिय छन्। तरुण दलको जिल्ला अधिवेशनहरु शुरु हुँदा रणनीतिक रुपमा छलफल गर्न र सकिदा परिणामको बारेमा छलफल गर्नेहरु सबै जिल्लाबाट उनीसँग जोडिएका देखिन्छन्। तत्कालिन महामन्त्री सिटौला र प्रदिपको बल यसमा थपिदा सिटौला-थापा समुह तरुण दलमा नेविसंघमा झै प्रभावकारी बन्ने आँकलन यो समुहका नेताहरुको छ।
तराईमा प्रभावशाली देखिएका उमाकान्त चौधरी, प्राध्यापक संघका पूर्व अध्यक्ष भिमसेनदास प्रधानदेखि महाधिवेशनताका यो समुहमा रहेका नेताहरु नेविसंघमा पाएको विजयले खुसी देखिन्छन। सिटौला, थापा र पौडेलकहाँ नेविसंघको महाधिवेशनमा जितेकाहरुले मिठाइ बाँडेको तस्विर उनीहरुसँग मात्र सिमित रहेन। सामाजिक सञ्जालमा व्यापक भएका ति तस्विरहरुले खुल्ला रुपमा हामी यो समुहसँग प्रतिवद्ध छौ भनेर पनि भनिरहेका छन्। यसरी आफूहरुसँगको समुह अझै धेरै ठूलो बनाउन उनीहरुले तरुण दलको महाधिवेशनलाई थप उपयोग गर्नेछन। काँग्रेस महाधिवेशनमा पराजय पछि प्रतिक्रिया दिने क्रममा सिटौलाले भनेका थिए अब अझ धेरै संगठनमा काम गर्छौ। समुहका एक नेता भन्छन, 'काम केहि नेविसंघमा दे्खिएको छ। काम देखाउने तत्कालको गन्तव्य तरुण दल हो भन्ने कृष्ण-गगनले बुझेका छन्। '