arrow

कैकुखोला-खन्ती खण्ड कालोपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
beni-road.jpg
फाइल तस्वीर

म्याग्दी । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकको कैकुखोला-खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका-५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोला-खन्ती खण्डमा पहिलो पटक कालोपत्र भएको हो । 

बेनी-जोमसोम-कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले कैकुखोला-खन्ती खण्डको १६ किलोमिटर ५०० मिटरमध्ये १६ किलोमिटर दूरीमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको जानकारी दिए । 

“तेस्रो प्याकेजको कालोपत्र गर्न अब ५०० मिटर मात्र छ”, उनले भने, “शर्मा-गजुरमुखीले नै ठेक्का लिएको दोस्रो प्याकेजको भुरुङ्गतातोपानी-घाँसा खण्डअन्तर्गत पर्ने काभ्रे, घोप्टेभिर खण्डमा विस्फोटक पदार्थको सहायताले सडक विस्तार अन्तिम चरणमा पुगेको छ ।”

एघार मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावियन पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राख्ने काम भइरहेको छ । सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको र आवतजावत सहज भएको छ । 

करिब डेढ घण्टा लाग्ने गरेकामा हाल ३० मिनेटमा पार गर्न सकिन्छ । सडक कालोपत्र भएपछि एक घण्टा यात्राअवधि छोटिएको छ । मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ । 

बेनी-जोमसोम सडकको पहिलो प्याकेजअन्तर्गत म्याग्दीको राहुघाटबाट बेगखोलासम्मको छ किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र अन्तिम चरणमा पुगेको छ । गलेश्वरमा एक किलोमिटर र बेगखोलाबाट भुरुङ्ग-तातोपानी खण्डको सडकको अधिकांश ठाउँमा विस्तार सकेर कालोपत्रको तयारी गरिएको छ । 

विसं २०७४ मा शुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छवटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी छ । 

एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला खण्डको सातमध्ये छवटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत् प्रजापतिले बताए । आठवटा मोटर चल्ने पुल निर्माण सकिएका छन् । 

थप एकवटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।

सो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट सांसद प्रेमप्रसाद तुलाचनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ