arrow

लगातार एक्लै संसदमा तीने घण्टे आक्रोशको संकेत र राजनीतिक बाछिटा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
kp-sharma-oli-all.jpg

काठमाडौं । एमाले सत्ताबाट बाहिरिएपछि करिब नौ महिना संसद अवरोध गरेर वितायो । नौ महिनासम्म संसदमा भएको कुनै पनि गतिविधिमा सहभागी भएन । जसले गर्दा कतिपय सन्दर्भमा संसदका कामकारबाहीसमेत प्रभावित बन्न पुगे । 

एमालेले संसद अवरोध गरिदिँदा सरकारलाई समेत कतिपय सन्दर्भमा सहजता भयो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  पास गर्ने बेलामा सरकारलाई सहयोग पुगेको थियो । तर पनि एमालेले संसद अवरोध गर्न छोडेको थिएन । 

गत भदौमा एमालेबाट विभाजित भएर माधवकुमार नेपालले छुट्टै दल गठन गर्दा एमालेले कारबाही गरेका सांसदहरुलाई संसदमा राखेको विषयमा बखेडा निकालेको थियो । एमालेले राखेका ती मागहरु पूरा हुँदैनन् भन्ने थाहा हुँदा हुँदै पनि उसले नौ महिना संसद अवरोध गरिरह्यो । यही क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भयो र निर्वाचनमा एमालेबाट विभाजित भएको दल नेकपा एकीकृत समाजवादी (एस) पनि सहभागी भयो । एस पार्टीको सहभागितापछि एमालेले संसद अवरोध खोल्यो । 

संसद अवरोध खोलेपछि एमालेका उपमहासचिव प्रदीप ज्ञावालीले संसदमा सम्बोधन गरेका थिए । त्यसपछि सरकारले बजेटको पूर्व सन्ध्यामा नीति तथा कार्यक्रम प्रस्तुत गर्यो । सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले करिब तीन घण्टा आफ्ना धारणा राखे । सो धारणा राख्दा ओलीमा आफूले सत्ता छाड्नु पर्दाको पीडा पूरै भल्किएको थियो । 

चुनाव अघि दर्जनौँ स्थानमा सम्बोधन गर्दै ओलीले पाँच दलीय गठबन्धनसँग एक्लै लड्ने दाबी गरेका थिए । ‘पाँच दल मिलेर आउन् वा एक्लाएक्लै, पहिला जति जितेका थियौं, त्योभन्दा बढी जित्छौं’, ओलीले भनेका थिए । 

उनले सत्तारुढ गठबन्धनमा आबद्ध दललाई किलो र एमालेलाई क्विन्टलसँग तुलना गर्ने गरेका थिए । तर एमाले २०७४ को अवस्थामा कायम नरहेपछि करिब दुई हप्ता मौन बसेका ओलीले संसदमा तीन घण्टा सम्बोधन गरेका थिए । 

अघिल्लो पटक तीन सय नजिक रहेर पालिकाको नेतृत्व जितेको एमाले यो पटक २०५ मा झरेपछि ओलीले आफ्नो स्वाभाव र धारणाहरु बदलिनु पर्छ भन्ने नसोची संसदमा तीन घण्टासम्म सत्ता  र सत्ता गठबन्धनलाई गाली गर्न समय खर्चिएका थिए ।  

संसदमा सम्बोधन गर्नुअघि एमाले संसदीय दलको बैठकमा ओलीले पार्टीभित्र घात अन्तरघात भएको टिप्पणी गरेका थिए । उनले पोखरा, काठमाडौं जस्ता एमालेले जित्ने स्थानमा घात अन्तरघात हुनु निकै पीडादायी भएको बताएका थिए ।  

संसदीय दलको बैठकमा अध्यक्ष ओली संसदले अन्तर्घातका कारण एमालेले धेरै ठाउँमा चुनाव हारेको दाबी गरेका थिए । तर बिहीबार संसदको रोष्टममा उभिएर एमाले अध्यक्ष ओलीले अन्तरघातको कुरा गरेनन्, बरु निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएर सत्तामाथि शंका गरे । 

कुनै निश्चित ठाउँको होइन, देशभरकै निर्वाचन स्वच्छ र धाँधलीरहित हुन नसकेको बताए । सरकारले नीति तथा कार्यक्रमको शुरुमै ३० बैशाखमा समग्र निर्वाचननै ‘निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण स्वच्छ र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न’ भएको उल्लेख छ । 

यही विषयबाट आलोचना शुरु गरेका ओलीले भने, ‘भोट पाउनका लागि रुकुममा मतदाताको हत्या भयो । हुम्लामा आक्रमण भयो, ताप्लेजुङमा हत्या भयो ,उदयपुरमा हत्या भयो प्रहरीकै गोलीबाट, विभिन्न ठाउँमा घाइते भए, अंगभंग भए, जो सार्वभौम सम्पन्न छन्, मतदानको माध्यमबाट आफ्नो प्रतिनिधि छान्ने अधिकार राख्दछन्, उसैलाई घेर्ने–थुन्ने–आक्रान्त गर्ने–कुटपिट गर्न काम भयो’ भन्दै आलोचना गरे ।

ओलीको अभिव्यक्तिको क्रममा बेलाबेलामा एमाले सांसदहरुले ताली लगाउँथे बाँकी समय उनीहरु सुनेर बिताएका थिए । एमाले सांसदहरुलाई बोल्ने कुनै विषय नै नराखी उनले समग्र नीति तथा कार्यक्रममाथि टिप्पणी गरेका थिए । सबै विषयवस्तुमा प्रवेश गरेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको सभामा दिएको अभिव्यक्तितर्फ संकेत गर्दै मतदातालाई धम्की दिएको बताएका थिए ।

 जुन कुरा उनले भरतपुरको चुनावी सभामा पनि बताएका थिए ।  ‘फलानालाई भोट नदिए देश दुर्घटनामा जान्छ भनेर निर्वाचनको समयमा जनतालाई धम्की दिइयो, यस्तो अभिव्यक्तिले जनताले द्वन्द्वकाल सम्झिए, छोराछोरी विदेशिनु परेको सम्झिए, आतंक छाएको सम्झिए, जनता थरथर काम्ने स्थिति बन्यो,धम्कीपूर्ण अभिव्यक्तिपछि जनताले मान्छे मारिएका, अंगभंग भएका, त्यही चितवनमा बोरामा हालेर घिसारी–घिसारी मान्छेको हत्या गरिएको झलझल सम्झिए’, ओलीले संसदमा भने । 

जुन कुरा उनले स्थानीय तहको निर्वाचन अघि चितवनमा पनि बोल्दै आएका थिए । उनले चुनावी भाषणको रुपमा भनेकै विषयहरु दोहोर्याएका थिए । ओलीले संसदमा गरेको सम्बोधन सुन्दा एमालेले चुनावी पराजयलाई सहजै स्वीकार गर्न नसकिरहेको र सरकारबाट बाहिरिनु परेको पीडालाई पोखिरहेको भान हुन्थ्यो ।  उनले समग्र चुनाव धाँधली भयो भन्दा आम मतदाता र स्थानीय तहमा निर्वाचित एमालेकै जनप्रतिनिधिकै अपमान महसुस हुनेगरी अभिव्यक्ति दिएका थिए । 

निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँदै एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिको दलहरुले संसदमै खण्डन गर्ने अवस्था बनेको थियो । धाँधली भयो भन्दै गर्दा एमाले ठूलो दल भएको र एमालेलाई लोकप्रिय मत आएको बताउँदै गर्दा ओलीकै भनाई खण्डित भएको थियो । 

चुनावी परिणाम अपेक्षाअनुसार नआएपछि सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीमाथि ओलीले प्रश्न उठाएका थिए । तर त्यो प्रश्नमा ओली आफैँले एमाले ठूलो दल भएको र पपुलर मत आएको बताइरहँदा  भने अघिल्लो अभिव्यक्तिलाई पछिल्लो भनाइले खण्डन गरिरहेको हुन्थ्यो । 

संसदमा ओलीले यतिधेरै विषयवस्तुबारे टिप्पणी गरिरहँदा प्रमुख प्रतिपक्ष दलका नेता तथा संसदहरुले नीति तथा कार्यक्रममाथि बोल्ने विषयवस्तु नै टुंग्याएका हुन कि भन्ने आभाष भएको थियो ।

शुरुआतमा बिरामी भएकाले कुर्सीमा बसेरै सम्बोधन गर्ने जनाएका ओलीले तीन घण्टा सत्ता गठबन्धनलाई सत्तोसराप गर्ने शक्ति कहाँबाट ल्याए भन्नेमा संसद चकित परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ