काठमाडौं। शनिवार कोइराला निवास महाराजगञ्जमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताहरुको वैठक बस्यो। नेपाल विद्यार्थी संघको महाधिशेनको समिक्षा र सरकारमा आफ्नो समुहको सहभागिताको बारेमा छलफलका लागि काँग्रेस भित्र पौडेल समुहका अधिकांश शिर्ष नेताहरु सहभागि थिए। महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा रामशरण महत, बल बहादुर केसी, डा मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, हृदयराम थानी, धनराज गुरुङ लगायतका नेताहरु वैठकमा सहभागि थिए।
पार्टी सभापति शेर बहादुर देउवाले पार्टी सञ्चालन एकलौटी ढंगले गरेको, सरकारमा पठाउने सदस्यहरुको बारेमा छलफल नगरेको बिषयमा बैठकमा छलफल भएको थियो। वैठक सकेर पौडेल त्यहिबाट नवलपरासीको कार्यक्रममा भाग लिन एयरपोर्ट गएका थिए। तर पार्टीको महाधिवेशनमा एकै प्यानलबाट चुनाव लडेका तथा काँग्रेस केन्द्रीय समितिमा सबैभन्दा बढी मत ल्याएका डा शेखर कोइराला भने शनिवारको वैठकमा सहभागि थिएनन। पौडेल र कोइराला समुह भनिदै आएको यो समुहको वैठकमा शेखर किन आएनन वा उनलाई बोलाइएन? त्यो कौतुहलता भने त्यहाँ रहेका अधिकांश कार्यकर्तामा थियो।
कोइराला निवास बाहिर रहेका कार्यकर्ताहरु डा शेखर वैठकमा नआएको बिषयमा चर्चा गरिरहेका थिए। उनिहरुले डा शेखर नआएको बिषयलाई ठीक भएको भन्दै अर्थ्याइरहेका थिए। तर डा शेखर नआएको हो वा उनलाई नवोलाइएको भन्ने बारेमा अनविज्ञ उनीहरुले वैठकपछि थाहा पाए सो वैठकमा डा शेखरलाई बोलाइएकै थिएन। उनी बिना नै बसेको सो वैठकमा नेविसंघमा पौडेल कोइराला समुहबाट खडा गरिएको अध्यक्षका उम्मेदवार डा शेखरले समर्थन गरेको उमेद्वारका कारण पराजित भएको बिश्लेषण भएको थियो। समुहका तर्फबाट नेविसंघमा उम्मेदवार तय गर्न बोलाइएको वैठकमा डा शशांक कोइराला स्वयंले बोलाउँदा पनि डा शेखर नआएपछि उनीहसँग पौडेल सहितका नेताहरु रुष्ट भएको बताइएको छ। शेखरका कारण नेविसंघ अध्यक्ष आफूहरुले गुमाएको रिपोर्टीङ पौडेल कोइराला खेमाका नेताहरुलाई विद्यार्थी नेताहरुले पनि गरेपछि डा शेखरसँग सो समुहका नेताहरु थप रुष्ट बनेको बताइएको छ। सो संकेत उनीहरुले शनिवारको वैठकबाट पनि दिए। छलफल गर्नुपरे आफूले एक्लै कुरा गर्ने तर समुहमा कुरा नगर्ने भनेर पौडेललाई यसअघी पनि भन्दै आएका डा शेखरले यसैकारण मात्र शनिवारको वैठकमा सहभागिता जनाएका थिएनन्। उनी समुहप्रति प्रतिवद्ध नभएको निष्कर्षमा पौडेल समुह विस्तारै पुग्दै जाँदा परिस्थित नयाँ ढंगले विकसित भइरहेको पौडेल निकटहरु बताउँछन्। नेविसंघको महाधिवेशन ताका डा शेखरले उनीहरुलाई आफू गुटमा नरहेको संकेत गर्दै त्यसमा आफू सम्मिलित नरहेको जनाउ दिन पौडेलहरुको समर्थन नरहेका अध्यक्षका उमेद्वारलाई सहयोग गरेको आरोप पनि पौडेल पक्षले लगायो। सरकारमा सहभागिता जनाउन लाग्दा अवरोध सिर्जना हुनु त्यसपछि नेविसंघमा आरोप खेप्ने अवस्था सिर्जना हुँदा डा शेखर पनि पौडेल समुहसँग सन्तुष्ट छैनन।
शनिवार महाराजगञ्जमा पौडेलको नेतृत्वमा वैठक चलिरहँदा डा शेखर भने काँग्रेस महाधिवेशनमा देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार भएका अर्जुनरसिंह केसीसँग उनकै गोंगवुस्थित निवासमा छलफलमा थिए। उनीहरुबीच सरकारमा सहभागिताको बारेमा तथा पार्टीभित्रको आन्तरिक राजनीतिक समिकरण बारेमा कुरा भएको बताइएको छ। केसी र डा शेखर पार्टीको आ आफ्नो समुहभित्र असन्तुष्ट रहँदै आएका छन्। प्रचण्ड नेतृत्वको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरेर जाने कुरामा केसीले स्वभाविक दावी प्रस्तुत गरेका थिए। तर उनलाई नेतृत्व त दिइएन बरु जनसम्पर्क समेत खासै हुँदै नहुने रक्षा मन्त्रालयमा लैजाने तयारी भएपछि उनले अन्तिम समयमा आएर सपथ ग्रहणमा भाग लिएका थिएनन्। डा शेखर पनि परराष्ट्र सहित सरकारमा जाने अन्तिम तयारी हुँदै गर्दा पौडेल समुहले उनलाई पनि सरकारमा जानबाट रोकेको थियो। आफ्नो समुह र सभापति देउवाबीच सरकारमा सहभागिताको बारेमा भागवण्डा नमिल्दै डा शेखर सरकारमा जान खोजे उनले त्यसै दिनबाट समुह त्यागेको हुने भनिएपछि डा शेखर पनि सरकारमा जान हच्किए। तर नेविसंघको महाधिवेशनमा पौडेल कोइराला समुहको उम्मेद्वारलाई हराउन आफूलाई नै आरोप लगाउन थालिएपछि भने डा शेखर रुष्ट बनेका छन्। पहिला पनि कमै सहभागि हुने पौडेल कोइराला समुहको वैठकमा त्यसपछि भने उनी जान छोडेका छन भने उनलाई पनि बोलाउन छाडिएको छ। शनिवार पनि त्यसैको निरन्तरता दिइयो।
डा शेखर अब आफू सरकारमा नजाने तथा पार्टी संगठनमा लागिपर्ने भन्दै निकटहरुसँग परामर्श थालेका छन्। डा शेखरले पार्टी संगठनमै काम गर्न चाहेको उनी निकटहरुले बताएका छन्। पौडेल कोइराला समुहले पनि उनलाई अब आफ्नो समुहबाट मन्त्री बनाउनेको लिष्टमा नराख्ने भएको पौडेल निकट स्रोतले बताएको छ। यदि डा शेखरलाई मन्त्री बनाइए त्यो आफ्नो समुहले पाउने कोटाबाट नहुने पौडेलले देउवालाई स्पष्ट गराएको दावी पौडेल निकटहरुको छ। पार्टी महाधिवेशनमा तीन ध्रुव देखिएको थियो। तर अहिले डा शेखरले आफूलाई चौथो शक्तिको रुपमा उभ्याउने प्रयास गरेको बुझाइपछि पौडेल पक्ष उनीसँग शशंकित भएको हो। पौडेल कोइराला पक्षका कतिपय नेताहरुसँग डा शेखरले गरेका संवाद तथा देउवा पक्षमा समेत असन्तुष्ट देखिएका नेताहरुसँग उनले गरेका केहि वार्ताहरुलाई देखाएर पौडेल पक्षले यस्तो आरोप लगाउन थालेको छ। डा शेखर निकटहरु भने पौडेल समुहभित्र डा शेखरलाई बाहिर राखेर अगाडी बढ्न खोजिएको बुझाइ राख्छन्। सभापति देउवालाई एक्लै अगाडी बढ्न खोजेको आरोप लगाउने पौडेलले समुहभित्र पनि डा साव जस्ता नेतालाई पाखा लगाएर एक्लै अगाडी बढ्न खोजे समुहलाई पनि फाइदा नहुने चेतावनी उनीहरुको छ। यस्तै अवस्था रहे कोही न कोहीले नयाँ समुह बनाउने प्रयास गर्छ डा शेखर निकटहरु बताउँछन्।
पौडेल समुहमा देखिएको नयाँ समिकरणलाई देउवा समुहले पनि नजिकबाट नियालिरहेको छ। नयाँ परिस्थिति बन्दा पौडेल समुह थप कमजोर बन्ने र उनीहरुको वार्गेनिङ पावर पनि कमजोर हुने बुझाइ देउवा समुहको छ। यद्यपी अझै धेरै कुरा खुलस्त बनिनसक्दा नयाँ समिकरणको चर्चा गर्न भने हतार नै हुनेछ।