arrow

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालन हुने सम्भावना न्यून

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
pokhara-airport (2).jpg

पोखरा । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । विमानस्थल निर्माणको काम ९६ प्रतिशत सकिए पनि बाँकी चार प्रतिशत काम निकै चुनौतीपूर्ण रहेका कारण सञ्चालनमा ढिलाइ हुने भएको हो । विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीका अनुसार विमानस्थलको डेकोरेशन, फिनिसिङका कामसहित केही भेइकल र फायर भेइकल आउन बाँकी छ ।

यस्तै, दुई बोडिङ ब्रिजमध्ये एउटा जडान र नेपाल आयल निगमको डिपो निर्माण पनि बाँकी छन् । यी काम अझै शुरु नभएकाले विमानस्थल निर्माण सम्पन्न भए पनि सञ्चालनमा ढिलाइ हुने देखिएको छ । यसैगरी विमानस्थलको मुख्य चुनौती पोखराको ल्याण्डफिल्ड साइड व्यवस्थापन, वर्षाको पानी नियन्त्रण गर्न नहर तथा ढलको व्यवस्थापन र रिठ्ठेपानी डाँडा कटान रहेका छन् । यसको उचित व्यवस्थापन नभएसम्म विमानस्थल सञ्चालन गर्न कठिन छ ।

विमानस्थलबाट तीन किलोमिटरभित्रै ल्याण्डफिल साइट रहेको छ । विमानस्थल सञ्चालन गर्नुभन्दा ६ महिनाअघि ल्याण्डफिल साइट सार्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । ल्याण्डफिल साइट सार्नका लागि पोखरा महानगरलाई पटक-पटक अनुरोध गरिएको छ । तर महानगरपालिकाले ल्याण्डफिल साइटका लागि जग्गा पाउन सकेको छैन । नयाँ ल्याण्डफिल साइट बनाउन पोखरा वडा नं. १६ र २० को बीचमा पर्ने पस्मराङ छनोटसमेत गरे पनि स्थानीयले पानीको मूल भएको क्षेत्र भन्दै विरोध गरेपछि महानगर अघि बढ्न सकेको छैन ।

यसैगरी रिठ्ठेपानी डाँडा कटानका सम्बन्धमा पनि विभिन्न समस्या छन् । डाँडाको रूख कटान अघि वातावरणीय प्रभाव मूल्याङ्कन नभएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेर वन मन्त्रालयमा पेस गरे पनि स्वीकृत भएको छैन । निजीतर्फको डाँडा भने कटान भइरहेको छ । अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि यो डाँडा ४० मिटरसम्म कटान गर्नुपर्ने हुन्छ । क्यालिब्रेसन फ्लाइटका लागि १४ मिटर डाँडा तत्काल कटान गर्नुपर्ने देखिएको छ । वर्षायाम शुरु भइसकेकाले पनि डाँडा कटान कार्यमा समस्या आउने देखिन्छ । 

यस्तै, विमानस्थल सञ्चालन गर्न हवाई रुट पनि समस्याका रूपमा देखिएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाललाई थप हवाई रुट दिन भारतीय समकक्षी ज्योतिरादित्य सिंधियासँग प्रस्ताव गरेका थिए तर भारतबाट जवाफ आउन सकेको छैन । 

चिनियाँ कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसारका सबै काम अन्तिम चरणमा रहे पनि नेपाल सरकारको जिम्मामा रहेका सञ्चालन पूर्व गर्नुपर्ने काम भने अझै बाँकी छन् । पोखरा विमानस्थल गत चैत १२ गते चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा नेपाललाई हस्तान्तरण गरिएको थियो । विमानस्थल निर्माण कार्य जुलाई १० सम्म सम्पन्न हुने प्रमुख मुनंकर्मीले बताए । उनका अनुसार विमानस्थल भित्र कर्मचारीको व्यवस्थापनदेखि अन्य काम बाँकी नै छ । अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा हुनुपर्ने सबै विशेषतालाई अनुसरण गर्दै विमानस्थल सञ्चालनमा ल्याइने प्रमुख मुनंकर्मीले बताए । 

विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यदल गठन गरिसकेको र कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ । कार्यदलले विमानस्थल निर्माणमा भएका कमीकमजोरीलाई सुधार गर्नेछ । कार्यदल ल्याण्डफिल्ड साइट, रिठ्ठेपानी डाँडा कटान, सिचाइका समस्या समाधानतर्फ केन्द्रित भएको मुनकर्मीले बताए ।

सरकारले सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी २०७३ वैशाख १ मा विमानस्थल शिलान्यास गरेको थियो । तर कोरोनाका कारण सामान आयात प्रभावित र कामदार अभाव भएपछि एक वर्ष म्याद थपिएको थियो । चीनको झण्डै २२ अर्ब सहुलियतपूर्ण ऋण छ । नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच सन् २०१४ को मे ३१ मा ठेक्का सम्झौता भएको थियो । नेपाल र चीनको एक्जिम बैङ्कबीच २०१६ मार्च २१ मा ऋण सम्झौता भएको हो । 

सरकारले प्राधिकरणसँग २०१६ जुन ५ मा ऋण सम्झौता गर्यो । एक्जिम बैङ्कले २०१७ मे ३१ देखि ऋण प्रवाह गरेको थियो । यसरी सन् २०१७ जुलाई ११ मा काम शुरु भएको थियो । २०३२ सालमा पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्न शुरु भएको थियो । ३८ सय ९९ रोपनी विमानस्थलको रहेको आयोजनाले जनाएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्डभित्र रहेर फोरडी मोडलमा विमानस्थल बनिरहेको छ । यस विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ