- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटको मजुवा फाँटलगायतका ठाउँमा मध्यजेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख भानु भट्टराईले बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने बताए । “वर्षा पनि भइरहेकाले रोपाइँलाई सहज बनाएको छ”, उनले भने, “असारसम्ममा अधिकांश ठाउँमा रोपाइँ सकिइसक्छ ।”
गलकोट नगरपालिका-७ बामियाका सचित्र गुरुङले रोपाइँले किसान बेफुर्सदिला बनेको बताए । उनी आफैँ पनि चार दिनयता लगातार घरकै रोपाइँमा खटिएका छन् । चिसापानीमा गुरुङको १५ मुरी धान फल्ने खेत छ । “रोपाइँको चापाचाप छ, गलकोटको मजुवा, आँगाखेत, बाह्रमुरीलगायतका फाँटमा रोपाइँ चलिरहेको छ”, गुरुङले भने, “गलकोटमा धेरैजसो रोपाइँ जेठमै सकिन्छ ।”
त्यसक्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्ने भएकाले रोपाइँ छिटो हुने गरेको हो । त्यहीँमाथि दैनिकजसो वर्षा हुन थालेपछि किसानलाई थप राहत मिलेको छ । नेपालमा सामान्यतया अङ्ग्रेजी महिना जुन १० मा मनसुन भित्रिने गरे पनि कहिलेकाहीँ भने अलि छिट्टै मनसुन सक्रिय हुने गर्छ ।
केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।
यहाँको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । असार लागेपछि रोपाइँ भएको क्षेत्रको विश्लेषण गरेर नियमित तथ्याङ्क दिन सकिने केन्द्रका प्रमुख भट्टराईले बताए ।
जिल्लाको कूल पाँच हजार ८५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाइन्छ । “यस वर्ष धानखेती हुने क्षेत्रफल बढ्ने अनुमान छ”, प्रमुख भट्टराईले भने, “उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ ।”
परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जातकै धान रोज्ने गरेको उनको भनाइ छ । उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बीउ वितरण, बीज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने प्रमुख भट्टराईले बताए ।