- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन्। उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रूपमा चित्रण पनि गरे।
भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुने गरी जिउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समतामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको पनि बताए।
देश ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा भएको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनको लागि शुभकामना पनि दिएका छन्।
सरकारले २१ जेठ २०६३ मा देशलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। तर, छुवाछुत अन्त्य समूल रूपमा भएको छैन।
यसप्रति प्रधानमन्त्री देउवाले मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसङ्गतिले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन्।
समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु आफैँमा एक अपमानजनक कार्य भएको पनि प्रधानमन्त्री देउवाको धारणा छ।