काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीमा विभिन्न पार्टी तथा संगठनबाट चोइटिएर आउनेहरु गाभिने भएका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एकिकरण हुन लागको युनिटीले ध्रुवीकरण र एकिकरणको निर्णय सार्वजनिक गरेको छ ।
सो युनिटीले मंगलबार (७ गते) एकिकरणको घोषणा गर्दै छ । राष्ट्रिय नाचघरमा हुने घोषणा सभामा नेत्रविक्रम आफै पुग्ने छन् ।
चन्द समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफुहरुसंग माओवादी केन्द्र, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी, हेमन्त ओलीको कम्युनिष्ट न्यूक्लियस नेपाल र नेपाल मदनवादी पार्टी लगायतका समूहहरु जोडिन लागेको बताए ।
माओवादी केन्द्रबाट सन्देश पौडेलसहित ३ जना केन्द्रीय सदस्य, नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य इस्लाम हवारी, हेमन्त ओलीको न्यूक्लियस नेपाल र नेकपा मदनवादी पार्टीका कृष्ण पोखरेललगायत ध्रुवीकरण हुन लागेका हुन् । एमालेबाट छुट्टिएकाहरुले मदनवादी पार्टी खोलेर बसेका थिए ।