arrow

देशको शिर निहुराउने काम नगर्दा सरकार ढल्योः अध्यक्ष ओली

logo
प्रकाशित २०७३ भदौ ५ आइतबार
K.P.-Oli-Photo---5.jpeg
भक्तपुर। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले राष्ट्रियतामा आँच आउने गरी देशको शिर निहुराउने काम नगरेका कारण सरकार ढलेको बताएका छन् । 
 
आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्मचारी सङ्घको आठौँ केन्द्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले षड्यन्त्रकारीहरुसँग शिर उचो बनाएर सामना गरेका कारण सरकार ढलेको बताए । 
 
“धेरै बलिया शक्तिले मलाई प्रधानमन्त्री हुनबाट रोक्दारोक्दै जनताको बलबाट म प्रधानमन्त्री भएँ, तैपनि षड्यन्त्र रोकिएन, वैशाख २२/२३ मा सरकार ढाल्न एक झड्का आक्रमण भएकै हो, त्यसलाई तर्काइयो, पछि त पत्तै नदिइ अर्को झड्का दिइयो”– उनले भने , “यो देश बनाउने गरी काम नगरेको भए, देशको शिर निहुराउने काम गरेको भए, नचाहिने कुरामा सम्झौता गरेको भए, राष्ट्रियतामा आँच आउने कुरा गरेको भए, मेरो नेतृत्वको सरकार रहन्थ्यो तर मैले त्यस्ता कदम चाल्न चाँहिन ।” 
 
आफ्नो नेतृत्वको सरकारले जनताका पक्षमा काम गरेपछि अरु दल समाप्त हुने डरले सरकार ढलेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भने , “अब दुई वर्ष मैले सरकार चलाउन पाएको भए अरु पार्टीको साइनबोर्ड मात्रै रहन्थ्यो, त्यही डरले आत्तिएकाले सरकार ढाल्न मद्दत गरे ।” 
 
आफूले सरकारमा छँदा ल्याएको नीति तथा कार्यक्रम, जनमुखी एवम् प्रभावकारी बजेट कार्यान्वयन हुँदा नेपालमा ठूलै परिवर्तन हुन्छ भनेर डराउने शक्तिले सरकार ढाल्न मद्दत पुर्‍याएको उनको आरोप थियो । अब २० वर्ष सरकारमा आफू रहँदा बनाएको कार्यक्रमबाट अबका सरकार हिँड्नुपर्ने बाध्यता रहेको जिकिर गर्दै उनले भने , “पूर्व–पश्चिम राजमार्ग, रेलमार्ग, द्रुतमार्ग, हुलाकी राजमार्ग, सिँचाइलगायतका कैयौँ कार्यक्रममा बजेट छुट्याएकाले ती काम अबका सरकारले गर्नैपर्ने उनको भनाइ थियो । 
 
अरु दलको सङ्कीर्ण स्वार्थको घेराभित्र चल्दा देश पछिपरेको बताउँदै ओलीले देशलाई सीमित शासकले आफ्नो घेरामा अल्मल्याएर जनतामाथि दमन गर्न खोज्दा देशमा रहेका स्रोत साधनको समुचित उपयोग हुन नसकेको र मुलुक आर्थिक समृद्धि एवम् विकासमा पछि परेको बताए । 
 
अध्यक्ष ओलीले जनक शिक्षालाई प्रतिस्पर्धी संस्थाका रुपमा लैजानुपर्नेमा जोड दिँदै सरकारी जमिन, भवन, प्रेस रहेको संस्था रु एक अर्ब घाटामा जानु विडम्बना भएको बताए । 
 
कार्यक्रममा ओलीले केन्द्रका उत्कृष्ट कर्मचारी मोहनप्रसाद गौतमलाई नगद रु दुई हजार ५०० सहित सम्मान गरे भने सङ्घका पूर्वअध्यक्ष चित्र आचार्य, कर्मचारी मनोहर लामिछाने, जनक भारती लगायतका कर्मचारीलाई सम्मान गरेका थिए । 
 
सङ्घका अध्यक्ष एवम् कार्यक्रमका सभापति रामबहादुर कुँवरले केन्द्रलाई सेक्युरिटी प्रेसका रुपमा विस्तार गरेर चेक छपाइ, नोट छपाइलगायत सरकारको सम्पूर्ण छपाइसम्बन्धी गोप्य काम केन्द्रबाटै गर्ने व्यवस्था गर्न माग गरे । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्ने भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ