'जडीबुटी निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ'
‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
675
Shares
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले जडिबुटीको निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्नसकिने बताएका छन् । डेढ दशकदेखि क्यानडामा खाद्य तथा औषधिविज्ञका रुपमा कार्यरत नारायण घिमिरेद्वारा लिखित ‘नेपाली रैथाने जडिबुटी’ पुस्तक विमोचन गर्दै थापाले यस्तो बताएका हुन् ।
पूर्वमन्त्री थापाले प्रचुर सम्भावना भएको जडिबुटीको निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्नसकिने बताए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सरकारले आगामी आवको बजेटमार्फत ‘प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम’ घोषणा गरेको उल्लेख गर्दै उनले जडिबुटीलाई आयआर्जनसँग जोड्नुपर्ने बताए । “योग, आयुर्वेद, रैथाने ज्ञान र जडिबुटीलाई पर्यटनसँग जोडेर लैजानुपर्छ”, पूर्वस्वास्थ्यमन्त्री थापाले भने ।
पुस्तकमा तितेपाती, धुर्सेली, खिर्रो, रुद्राक्ष, कुश, टिमुर, दुबो, मोरिङ्गा, सिमललगायत औषधीय गुणले भरिपूर्ण जडिबुटीले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा उल्लेख गरिएको छ ।
जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेलले पुस्तकले रैथाने जडिबुटीका बारेमा खँदिलो जानकारी दिएको बताए । नेपालमा प्राप्त औषधिजन्य जडिबुटीको ‘क्लिनिकल ट्रायल’ गर्नसके नेपालले ठूलो आर्थिक लाभ लिनसक्ने बताए ।
पुस्तकका लेखक घिमिरेले नेपालको जडिबुटीलाई नेपालमै अनुसन्धान गरेर यही खपत गर्ने नीति लिनुपर्ने र नेपाललाई खाद्य अनुसन्धानको केन्द्र बनाउनुपर्ने बताए ।
तनहुँको बन्दिपुर गाउँपालिकास्थित याम्पाफाँटमा जन्मिएका घिमिरे आयुर्वेदिक औषधिको साइड इफेक्टरहित गुण र एलोपेथिक ओखतीको तत्काल उपचार गर्ने क्षमता पुनः संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयको शोधकर्तासमेत हुन् ।
वैज्ञानिक र प्रयोगात्मक विकासको अनुसन्धानमार्फत हर्बलको खाद्य र औषधीय गुणको संयोजन गरी हिलिङ फुड निर्माणमा उनले विज्ञता प्राप्त गरेका छन् । घिमिरेको गाँजा, हर्बल र ‘हिलिङ¬ फुड’को प्रभावसम्बन्धी विभिन्न अनुसन्धनात्मक शोध प्रकाशित छन् ।