बागलुङ। गत श्रावण १० गते रातिको अबिरल बर्षा सँगै बाढि पहिरो बाट पिडित बनेका जिल्लाका पश्चिम क्षेत्रका बाढिपहिरो पीडितका लागि भनी उठाएको राहत सदरमुकाममानै थन्किएको छ । पिडितलाई केही राहत प्रदान गर्ने हेतुले विभिन्न सामाजिक संघ संस्थाले संकलन गरेको राहत रकम र सामग्री सदरमुकाममै थन्किएको हो । महिना दिन पुग्दा पनि बाढि पहिरो प्रभावित बनेकाहरुका लागि भन्दै संकलन गरिएको राहत सामग्री तथा नगद अहिलेसम्म गाउँ पुग्न सकेको छैन् ।
पहिरोमा परी ६ जनाको मृत्यु र दर्जर्नौ घाइते भएका थिए । बाढी पहिरोका कारण १ सय २३ घर पूर्ण रुपमा क्षतीग्रस्त बनेपछि जिल्लामा क्रियाशिल सामाजिक संघ संस्थाले राहत संकलन अभियान सुरु गरेका थिए । तत्कालकालागि सरकारी निकायबाट राहत रकम पीडितलाई वितरण गरिएपनि सामाजिक संघ संस्थाले संकलन गरेको राहत अहिलेसम्म सम्बन्धीत ठाउँमा पुग्न नसकेको पीडितहरुको गुनासो छ ।
जिल्लाको अधिकारीचौर, बोङगादोभान, दर्लिङ, राजकुत, बुर्तिबाङ, ग्वालीचौर, लगायतका आधादर्जन गाविसका बासिन्दाहरु पिडित बनेक थिए । उनिहरुलाई जिल्ला दैविप्रकोप समितिबाट पठाएको बाहेक कुनै पनि किसिमको राहत अहिले सम्म पुगेको छैन ।
अधिकारीचौर निमबहादुर बुढाले भने घाउमा मल्हम लगाउँने भन्दै सदरमुकाम, राजधानी लगायतका ठाउँमा रकम उठाएका सुनेको तर अहिले सम्म त्यो राहत सम्बन्धित क्षेत्रमा आएको छैन । बाढी पहिरोबाट आफन्त गुमाएका, घरवार बिहिन भएकाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समिति, रेडक्रस लगायतले तत्काल पुर्याएको राहतले गुजारा चलाइरहेको पीडितको भनाई छ ।
बाढी पहिरोबाट घरवार बिहिन बनेका अधिकांश अहिलेपनि आफन्तको शरणमा बस्न बाध्य छन भने कतिपयको पुनःस्थापनाका लागि जग्गाको अभाव देखिएको छ । बाढी पीडितका लागि भन्दै जिल्लामा नेपाली कांग्रेसले एक लाख १३ हजार आठ सय ८९ रुपैयाँ, नेकपा एमालेले दुई लाख, नेपाल पत्रकार महासंघले एक लाख ९३ हजार आठ सय, नेपाल मगर संघले तीन लाख ८५ हजार, लियो क्लब अफ बागलुङ कालिकाले एक लाख ५० हजार रुपैयाँ संकलन गरेका थिए । अधिकांशले सडक सञ्चालन भएपछि राहत पुर्याउँने भनेपनि प्रभावित क्षेत्रमा नियमित यातायातका साधन सञ्चालन हुँदा समेत पुग्न सकेको छैन ।
नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले तत्काल पीडितलाई राहत पुर्याउँने उद्देश्यले रकम संकलन गरिएपनि तत्कालिन समयमा सडक अवरुद्ध भएका कारण नसकिएकाले अब केही दिनमा राहत रकम पुर्याउँने बताए । संघ संस्था लगायत केही व्यक्तिहरुले व्यक्तिगत रुपमा राहत रकम तथा जिन्सी सामग्री संकलन गरेपनि अहिलेम्म पीडितसमक्ष नपुगेको पीडितहरुले गुनासो गरेका छन् । अहिले जिल्लाको बुर्तिबाङ सम्म नियमति यातायात संचालनमा आएका छन ।
जिन्सी सामान सहित लाखौ रुपैयाँ नगद संकलन भएको अनौपचारीक जानकारी भएपनि अहिलेसम्म औपचारीक रुपमा कति राहात रकम तथा सामाग्री संकलन भएको छ भन्ने तथ्याङक आएको छैन । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले भने,'जिल्ला भित्र संकलित राहात रकमलाई एकिकृत गर्ने उद्देश्यले बैक खाता सञ्चालन गर्न लागेका छौ ।'
सामाजिक सञ्जालमा तथा बिभिन्न अभियाननै सञ्चालन गरि देश बिदेशबाट बाढी पहिरो पिडीतका लागि ठुलो रकम संकलन गरेपनि दुर्घटनाको ३ साता बितिसक्दा समेत पिडितले नपाउँदा स्थानीयहरुले रकम दुरुपयोग हुन सक्ने आशंका गर्न थालेका छन् ।