विराटनगर । अपराध नियन्त्रणमा सक्रिय देखिएको मोरङ प्रहरी तस्करी नियन्त्रणमा समेत सफल हुदै गएको छ ।
तीन चार वर्ष अघि तस्करीको जालोले जेलिएको मोरङमा अहिले तस्करी पूर्ण रुपले निस्तेज पारेको प्रहरीको जिकिर छ । संलग्नहरुको कक्षा लिनु नै प्रहरीको तस्करी नियन्त्रण छडी हो ।
मोरङको नेपाल र भारत संग जोडिएको ६० किलोमिटर सीमाक्षेत्रबाट विगतमा हुने चोरी तस्करी नियन्त्रणमा आएको प्रहरीले सार्वजनिक गरेको तथ्याङले जनाएको छ ।
सीमाक्षेत्रमा प्रहरीले सक्रियता बढाएपछी गत आर्थिक वर्षमा भन्सार चोरी तस्करीमा संलग्न रहेका ९७ जना व्यक्ति र ७७ सवारी साधन नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले बताए ।
नेपाल प्रहरीले गत आर्थिकवर्षमा ३ करोड ५१ लाख ५६ हजार बराबरको सामान भन्सार दाखिला गरिएको उपरीक्षक भण्डारीले जानकारी दिए ।
सीमा नाकाबाट अवैध काम गर्ने र भन्सार छली गरी सामान नेपाल भित्र्याउनेलाई नियन्त्रणमा लिई उनीहरुलाई त्यसो गर्नुका बेफाइदाको विषयमा परामर्श दिई सम्झाइ बुझाइ गरेर छोड्न थालिएकाले तस्करीमा कमी आएको प्रहरीको जिकर छ ।
सीमा क्षेत्रमा अहिलेसम्म ५ हजार २ सय जनालाई यस्तो परामर्श दिइएको मोरङ प्रहरीले जनाएको छ । कडाईसँगै परामर्श गरेर छोड्ने गरिएपछि तस्करीमा संलग्न हुनेहरुले अर्कै पेशा अपनाउन थालेको भण्डारीले बताए ।