काठमाडौं। नेपाल विद्यार्थी संघको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भदौ ९ गते विहीबार बस्ने भएको छ। नेविसंघको ११ औं महाधिवेशनले नैनसिंह महरको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको थियो।
नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टका अनुसार ९ गते बिहीबार नै नेविसंघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ। प्रमाणपत्र बुझेलगत्तै संघको पहिलो केन्द्रीय समिति बैठक बस्ने तय भएको भट्टले जनाए।
निर्वाचन समितिले सबै निर्वाचित पदाधिकारीहरुलाई पार्टी कार्यालय सानेपामा प्रमाणपत्र दिने र त्यसलगत्तै केन्द्रीय समितिको बैठक बस्नेछ। पहिलो बैठकमा महाधिवेशन सफल गराउनलेलाई धन्यवाद दिने प्रस्तावका अतिरिक्त स्ववियु निर्वाचन, विद्यार्थीलाई सहुलियत लगायतका विषयमा छलफल हुने बताइएको छ।
सोही दिन नेविसंघको निवर्तमान केन्द्रीय समितिले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नवनिर्वाचित समितिलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ।