arrow

केपी ओली र मोती दुगड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २८ शनिबार
kp-oli-moti-dugad.jpg

काठमाडौं । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको नजिक हुने र तस्वीर लिने नेता कार्यकर्ताहरुको संख्या बढिरहेको छ । विगतमा माधवकुमार नेपालतिर लागेर एमालेमै रहेका नेताहरु पनि ओलीको विरोध गर्न डराइरहेका छन् । उनीहरु भरसक ओलीको नाम नलिइ भाषण गर्न पाए हुन्थ्यो भन्न खोज्छन् । 

ओलीकै काखमा रहेका र हुर्केका नेताहरु भने प्रशंसामा दिन बिताउने गरेका छन् । यस्तै एक नेता पनि ओलीको हरेक कार्यक्रमको व्यवस्थापन खटिएका हुन्छन् । अरु पदाधिकारीलाई खासै वास्ता नगर्ने तर ओलीको हरेक कार्यक्रमको व्यवस्थापन गर्ने ती नेता हुन्– मोती दुगड । उनी नव प्रवेशी एमाले भएकै कारण ओली प्रधानमन्त्री भएका बेलामा मन्त्रीसम्म बन्न भ्याए । 

प्रसंग विराटनगरको हो । केपी ओली शुक्रबार बिहान विराटनगर पुगेका थिए । जिल्ला कमिटी मोरङले आयोजना गरेको एउटा कार्यक्रममा सम्बोधन गर्न ओली त्यहाँ पुगेपछि गठबन्धन, माओवादी केन्द्र र नेकपा एस पार्टीलाई थोरै थोरै गाली पनि गर्न भ्याए ।

स्थानीय तहको निर्वाचनपछि राजनीतिक कार्यक्रमको रुपमा उनी पहिलो पटक सरिक हुँदै थिए । यद्यपि पार्टी कार्यालयमा हुने विभिन्न कार्यक्रममा सम्बोधन गरेका भए पनि स्थानीय तहको निर्वाचन र सत्ता गठबन्धनबारे खास कुनै धारणा राखेका छैनन् । 

संसदमा नीति तथा कार्यक्रममाथि टिप्पणी गरेपछि उनी चुपचाप जस्तै थिए । तर शुक्रबार विराटनगरको कार्यक्रमका लागि ओली जाँदै गर्दा त्यहाँ एउटा अनौठो दृष्य देखिएको थियो । 

सञ्चारमाध्यमको खासै ध्यान नगएको तर केन्द्रीय तथा स्थानीय नेताहरुको ध्यान आकर्षित भएको थियो । जब विराटनगर एयरपोर्टमा ओली ओर्ले त्यतिबेला  ओलीको स्वागतमा एमाले केन्द्रीय सदस्य दुगड पनि देखिए । 

अरु बेला विराटनगरमा विरलै देखिने दुगड जब ओली जान्छन् त्यसपछि एयरपोर्टबाटै उनको स्कटिङ शुरु हुन्छ । केन्द्रीय सदस्य मोती दुगड पार्टीका केन्द्रीय अध्यक्ष ओली विराटनगर जाँदा एयरपोर्ट पुग्ने र ओली सहभागी हुने कार्यक्रममा सधै सहभागी हुने गरेका छन् । 

जिल्लामा हुने एमालेका अरु कुनै कार्यक्रममा दुगड सहभागी हुँदैनन् । तर अध्यक्ष केपी ओली विराटनगर पुगेपछि सधै झुल्किन्छन् । गएको स्थानीय चुनावमा पनि दुई तीन दिन देखा परेर भागेका उनी शुक्रबार पनि केपी ओली पुग्दा टाउको झुकाउँदै झुल्किएका थिए । 

उनी विराटनगरका कुनै पनि नेता कार्यकर्ताले भनेको कुरा सुन्दैनन् ।  कसैले भनेको मान्दैनन् तर अध्यक्ष जहाँ जान्छन् त्यहाँ उनको उपस्थिति अनिवार्य जस्तै बनेको छ । कुनै बेला मधेसवादी दलबाट सभासद् भएका दुगड मन्त्री हुनका लागि पार्टीका दुई सभासदमध्ये एक आफू अलग भएर नयाँ पार्टी खोले पनि मन्त्री हुन सकेनन् । 

पछि उनको पार्टी खरायो चिन्ह लियर चुनाव लड्यो । देशका धेरै ठाउँमा चुनावमा उम्मेदवार बनाए । तर एउटा समानुपातिकको लागि चाहिने १६ हजार मत पनि नआएपछि उनको यात्रा एमालेमा तय भएको थियो । 

एमालेमा आएपछि उनको भाग्य चम्कियो र उनी मन्त्री भए । एमालेमा आएपछि उनी उद्योगमन्त्री मात्रै भएनन् नेपालका उद्योगी व्यापारीहरुलाई साथ लिएर ओलीको दर्शन गराउनसमेत सफल भए । 

विशेषगरी विराटनगरका उद्योगी व्यापारीहरुलाई ओलीसँग भेट गराएर सिधा फाइदा लिएका र दिएका दुगड अहिले ओलीको स्कर्टिङ गरिरहेका छन् । उद्योग राज्यमन्त्री पछि ओलीको आर्थिक सल्लाहकारसमेत रहेका दुगडले ओली सहभागी हुने कार्यक्रम र भेटघाटमा हुने होटलहरुको व्यवस्थापन गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ