arrow

टीकापुर घटनाको एक वर्ष पूरा, राजनीतिक हत्याको औचित्य खुलेन

logo
प्रकाशित २०७३ भदौ ७ मंगलबार
tikapur.jpeg
टीकापुर । आठ सुरक्षाकर्मीसहित एक नाबालकको मृत्यु भएको कैलालीको टीकापुरमा हिंसात्मक घटना भएको मंगलबार एक वर्ष पूरा भएको छ । मधेस आन्दोलनको सबैभन्दा त्रासदीपूर्ण यो घटनापछि लामो समय त्रासै त्रासमा बाँचेको टीकापुरको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ । तर अहिलेसम्म मधेस आन्दोलनको औचित्य र त्यसको माग पूरा भने हुन सकेको छैन । 
 
त्यतिबेला मधेसी र पहाडीबीच निकै तिक्तता भए पनि अहिले त्यो सामान्य भएको छ । सामाजिक सद्भाव पनि बढ्दै गएको छ । एक वर्ष अवधिमा थारु र पहाडी समुदायबीच झैंझगडा भएको एउटा पनि मुद्दा नपरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 
 
एक वर्षअघि घरेलु हतियारको आक्रमणबाट घाइते भएर स्थानीयको घरभित्र लुकेर बसेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलाई थारु कार्यकर्ताले बाहिर ल्याएर आँगनमा हत्या गरेका थिए। उनको टाउको ढुंगाले थिचिएको थियो।
 
न्यौपानेलाई बचाउने क्रममा सशस्त्र प्रहरीका हवल्दार रामबिहारी थारुलाई कार्यकर्ताले जिउँदै आगो लगाएर मारेका थिए। उनी उग्रतारा सशस्त्र प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मण सिंहका अंगरक्षक थिए। प्रहरी निरिक्षकद्वय डिल्ली विष्ट र केशव बोहराको बीभत्स शव धान खेतमा भेटिएको थियो। अन्य सुरक्षाकर्मीका शवसमेत बीभत्स रुपमा भेटिएका थिए।
 
घटनास्थलनजिकैको घरमा खेलिरहेका १८ महिनाका नाबालक टेकबहादुर साउदको टाउकोमा गोली लागेको थियो। सुरक्षाकर्मीमाथि आक्रमण भएको झन्डै एक घन्टापछि नाबालकलाई गोली लागेको उनका आफन्तले बताएका छन्।
 
घटनामा संलग्न आरोपमा राज्यले ५८ जनाका नाममा मुद्दा दायर गरेको छ जसमध्ये २२ जना पक्राउ परेका छन्। ३४ जना फरार छन् भने २ नाबालक भएका कारण छाडिएका छन्।
 
घटनापछि टीकापुर र आसपास क्षेत्रमा स्थानीय प्रशासनले धेरै दिनसम्म कर्फ्यु लगाएको थियो। सशस्त्र र नेपाल प्रहरीले मात्रै स्थिति नियन्त्रणमा लिन नसक्ने भन्दै सरकारले नेपाली सेनासमेत परिचालन गरेको थियो।
 
यति ठूलो घटना भए पनि जुन मागका लागि यो घटना निम्तिएको थियो त्यसको छेउँछाउँमासमेत पुग्न नसक्नु भने दुर्भाग्य हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ