काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । बिहानदेखि जारी बैठकमा स्थानीय निकायको पुनःसंरचनाका बारेमा पार्टीेको आधिकारिक धारणा बन्दैछ । छलफल जारी रहेको सांसद एवं काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिएका छन् ।
काँग्रेसले यसअघि आइतबार र सोमबार केन्द्रीय समिति र जिल्ला सभापतिको संयुक्त बैठक राखेर सोही विषयमा छलफल गरेको थियो ।
स्थानीय निकायको पुनःसंरचानाका लागि सुझाव दिन गठित आयोगले ५६५ वटा स्थानीय तह बनाउनुपर्ने सुझाव दिएपछि प्रमुख दलहरुबीच यसबारेमा चासो बढेको हो ।
थोरै गाउँपालिका र नगरपालिका बनाइँदा जनतालाई दिइने सेवा सहज र व्यावहारिक नहुने काँग्रेसको धारणा छ ।
काँग्रेसले कम्तीमा १००० वटा स्थानीय तह बनाउन जोड दिएको छ ।
यसैबीच, बैठकमा सरकारमा जाने मन्त्रीहरुको नाममा विवादसमेत झल्किएको छ ।
काँग्रेसले पहिले नेविसंघको महाधिवेशनको बहाना बनाउँदै आफ्ना प्रतिनिधिहरु सरकारमा पठाउन सकेको थिएन ।
महाधिवेशन सकिएपछि उपप्रधानमन्त्री विमलेन्द्र निधि भारतमा गएकाले नाम दिन नसकेको जनाएको थियो ।
निधि मंगलबार दिउँसो १२.३० मा काठमाडौं फर्कदै छन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का प्रभावी नेता कृष्णप्रसाद सिटौलाबीच कुरो नमिल्दा काँग्रेसले सरकारमा मन्त्रीको नामावली पठाउन सकेको छैन । यसले गर्दा संसदसमेत प्रभावित भएको छ ।