arrow

दमकका मेयरले भने-दमकवासीलाई अनुभूति हुने परिवर्तन ल्याउँछौं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २ बिहिबार
damak-mayour.jpg

झापा । दमक नगरपालिकाका मेयर रामकुमार थापाले आगामी ५ वर्ष भित्रमा दमकवासीलाई अनुभूति हुने किसिमले नगरमा परिवर्तन आउने बताएका छन्। दमक नगरपालिकाका जनप्रतिनिधिसँग गरिएको”आगामी बजेट र अबको प्राथमिकता’ विषयक साक्षात्कार कार्यक्रममा मेयर थापाले यस्तो बताएका हुन् ।

दमक नगरपालिकाले ७ वटा मुख्य विशेषता बोकेको परिणाममुखी बजेट ल्याउन तयारी भइरहेको बताउँदै कार्यक्रममा मेयर थापाले आर्थिक मितव्ययिता र सुशासन यसका मुख्य आधार भएको प्रस्टाएका थिए । मेयर थापाले आगामी बजेट शिक्षा, स्वास्थ्य र विपन्न समुदायका नागरिकको प्राथमिकतामा रहने बताए ।

उनले अबको बजेटले ठूला महत्त्वका योजनाभन्दा पनि जनमुखी बजेटको आवश्यकता रहेको बताए । अबको बजेटले दमकमा विपन्न वर्गका नागरिकले दैनिक खानाको समस्याबाट मुक्त गर्न विपन्न रासन कार्डको शुरुवात गरिने पनि जानकारी दिएका छन् । साथै  दमकलाई शैक्षिक गुणस्तरमा सुधार गरेर नेपालकै शैक्षिक आकर्षणको केन्द्र बनाइने बताएका छन् । 

असार १० भित्रै बजेट आउने तयारी भइरहेको बताउँदै थापाले विगतका जनप्रतिनिधिले शुरू गरेका राष्ट्रिय गौरवका योजनाहरूलाई आवश्यकताको आधारमा पूर्णता दिइने बताए । मेयर थापाले दमकको चर्चित भ्यु टावरलाई समय सापेक्ष विकास गर्दै त्यही टावरको आसपासमा एक गुणस्तरीय अस्पताल निर्माणको पहल थालिने बताएका छन् ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राईले कर्मचारी हतियार भएको बताउँदै जनप्रतिनिधिले कसरी काट्छन् ,उनीहरूको हातमा भएको बताए । अधिकृत राईले नगरमा आयस्रोत कम भएको तर बजेटले समेट्नुपर्ने विषय धेरै भएकाले बजेट तर्जुमा गर्न कठिन भएको बताएका छन् । उनले बजेटले थेग्न नसक्ने गरी योजनाका चाङ लाग्ने गरेको जानकारी दिए । 

कार्यक्रममा दमक वडा नं १ का अध्यक्ष हरि न्यौपाने र वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलले वडाका समस्या र आगामी बजेटले सम्बोधन गर्नुपर्ने प्राथमिकताका विषयमा आफ्ना धारणा राखेको थिए ।



नयाँ