arrow

पोखरा महानगर समक्ष पर्यटन परिषद्को दर्जनौं माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ६ सोमबार
Pokhara tourism cauncil.jpg

पोखरा । पोखरा पर्यटन परिषदले पोखरा महानगरपालिकामा पर्यटन महाशाखा स्थापना गर्न माग गरेको छ । परिषद्ले पर्यटक सम्पदा सहयोग कक्षको व्यवस्था गर्नुपर्नेमासमेत जोड दिएको छ । परिषदले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई सुझावहरु बुझाउँदै पर्यटकीय शहर पोखराको थप विकासका लागि आवश्यक पूर्वाधार निर्माण र लेकसाइडमा देखिएका समस्याहरु तत्काल संबोधन गर्न माग गरेको छ । 

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने, ‘पोखरा लेकसाइडका पर्यटन व्यवसायीको मात्र होइन । विश्वको ध्यान खिच्न सफल घुम्नै पर्ने शहरको परिचय बनाएको शहर पनि हो । यसलाई व्यवस्थित बनाउन डाइनामिक भिजनरी नेतृत्वको खोजी सधैं पोखराले गरिरहेको छ । अबको नेतृत्वले यसलाइ साकार पार्नेमा विश्वस्त छौं ।’

मुख्यतयः पर्यटन उद्योग अन्य उद्योग भन्दा भिन्न प्रकृतिको भएको र सिधै पर्यटकसंग हेलमेल भइ व्यवसाय संचालन गर्नुपर्ने हुँदा थुप्रै चुनौतिहरु रहेको स्पष्ट पार्दै उनले पर्यटन मैत्री नीति अवलम्बन गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । 

फेवाताल लगायत पोखरामा रहेको सम्पूर्ण तालहरु सफा सुन्दर, वातावरण मैत्री बनाउन ताल वरिपरी प्लाष्टिकजन्य खाद्यपदार्थ विक्री वितरणमा रोक लगाउनु पर्ने, फुटट्रयाकमा राखिएका फोहोर मैला संकलन बक्सहरु नियमित रुपमा खाली गर्नुपर्ने, फेवातालमा मिसिने ढलहरुको उचित व्यवस्थापन गर्नुपर्नेमा पनि परिषद्ले जोड दिएको छ । पोखराको लेकसाइडस्थित हिमागृह र रत्न मन्दिरलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय सम्पदाको रुपमा विकास गर्नका लागि न्यूनतम पूर्वाधार निमार्ण गर्दै दृश्वालोकनका लागि पर्यटक तथा सर्वसाधरणका लागि यथाशीघ्र खुला गर्नुपर्नेसमेत परिषद्को माग छ ।

महानगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्य स्थलहरुमा लिइने शुल्क एकै ठाउँबाट तिर्न मिल्ने व्यवस्था मिलाउन, पर्यटकीय क्षेत्र लगायत प्रमुख स्थानमा सुरक्षाका दृष्टिकाणले पर्याप्तमात्रामा सिसि क्यामेरा, सडक बत्ति जडान र संरक्षण, पोखराको सबैक्षेत्र समेट्ने गरी रिङ्गरोड (चक्रपथ) को डिपिआर तयार गरी निर्माण कार्य अगाडि बढाउन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयारी पछिको साँघुरा बाटाहरु समयमै बृहत अध्ययन गरी संरचना निर्माण गर्न, बसपार्क यथाशक्य छिटो छरितो सम्पन्न गरी व्यवस्थित गराउन र राष्ट्रबैंक चोकमा रहेको पर्यटन बसपार्क सञ्चालनार्थ महानगरले समिति गठन गरि त्यसको संरक्षण र संवर्द्धन तथा व्यवस्थापनको जिम्माका लागि पोखरा पर्यटन परिषद दिन, साइकल यात्री र जेव्राक्रसिङ्ग, सार्वजनिक बसहरु जथाभावी रोक्नबाट हटाई निश्चित ठाउँमा रोक्ने व्यवस्था गर्नुपर्ने साथै पोखराका विभिन्न चोकहरुमा व्यवस्थित ट्राफिक लाइटको व्यवस्था गर्न पनि परिषद्ले जोड दिएको छ । 

यसैगरी पर्यटन सम्बन्धी कार्यक्रमका लागि शीर्षक तोकी बजेट विनियोजन गर्न, अव्यवस्थित अनुमति विना संचालनमा रहेका व्यवसायहरुलाई अनुगमन गरी दर्ताको दायरामा ल्याउन, विगतमा लामो समयदेखि व्यवसाय संचालन गरेका तर स्थानीय सरकारमा दर्ता नभएकालाई दर्ता गर्ने व्यवस्था मिलाउन, अव्यवस्थित टेलिफोन, केवल, टिभि, इन्टरनेट साथै विद्युतका तारहरुलाई अन्डर ग्राउड गर्न, पोखरामा यसअघि पहिचान गरिएका प्रमुख गन्तव्यको संरक्षण, संर्वद्धन, प्रर्वद्धन गर्दै दिगो रुपमा विकासका कार्यक्रम ल्याउन, प्रमुख पर्यटकीय आवास क्षेत्रमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटन पुनरुत्थानका कार्यक्रमहरु संचालन गर्न परिषद्को सुझाव छ ।

पोखरा र लेकसाइडस्थित पार्कहरु, खाली जग्गा उचित संरक्षण, सौन्दर्यकरण र सम्बद्र्धन गरी पर्यटन मैत्री वातावरण बनाउनका लागि धुवा फाल्ने सवारी साधनहरुको चेकजाच गरी प्रदुषित भएमा महानगरपालिका क्षेत्र भित्र संचालनमा रोक लगाउनुपर्ने साथै राजमार्ग र सडक छेउछाउमा रहेका अटो सर्भिस/वर्कसपहरुलाई अन्य ठाउँमा स्थानान्तरण गरी व्यवस्थित गर्नुपर्ने, पोखरा महानगरपालिका भित्र रहेका विश्व सम्पदा सूचीमा सुचिकृत पर्यटकीय गन्तव्य स्थलहरुलाई संवर्द्धन र संरक्षण गर्दै कल्चर भिलेज (सांस्कृतिक गाउँ) जहाँ पर्यटकले अवलोकन गरी विभिन्न जातजातिको संस्कृती अध्ययन गर्ने स्थलको रुपमा विकास गर्ने विषयलाई समेटन आग्रह गरिएको छ । 

निकै लामो समयदेखि टुंगो लाग्न नसकेको फेवातालको मापदण्डलाई यथाशक्य छिटो टुंग्याएर व्यवसायीलाई अनिर्णयको बन्दी नबनाउन र यस मुद्दालाई प्राथमिकतामा राखेर कार्य गर्न, महानगरपालिकाले लिंदै आएको एकीकृत सम्पत्ति कर पाँच बर्षसम्म नबढाउने भनिएता पनि विभिन्न बहानामा बृद्धि हुँदै आएकोतर्फ पनि ध्यानाकार्षण गराइएको छ । 

यसैगरी अन्तर्राष्ट्रिय विमानस्थल निार्माणसँगै तत्काल आवश्यक देखिएकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि कुनै स्थान तोकी बजेट विनियोजन गरेर कार्य प्रारम्भ गर्न, व्यवसायहरु दर्ता गर्नका लागि अति आवश्यक कम्पनी रजिष्ट्रार्डको कार्यालय गण्डकी प्रदेशमा ल्याउन, पोखरा क्षेत्रको पर्यटनलाई कोभिड-१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले पनि रणनीतिक योजनाहरु तय गरेको विषयलाई पनि कार्यान्वयन तर्फ ध्यान दिन पनि परिषद्को आग्रह छ । 

पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्द्धन गर्ने उद्देश्यहरू राखेर तयार गरिएको रणनीतिक योजनामा पहिलो प्राथमिकतामा पोखरा शहर भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश दिने गरी आन्तरिक तथा वाह्य बजारमा पोखराको पर्यटनलाई ब्रान्डिङ गर्ने उल्लेख गरिनु सकारात्मक रुपमा लिएका उल्लेख गर्दै पर्यटन उद्योगलाई चलायमान बनाउन विभिन्न तहका सरकारबाट चाल्नुपर्ने उपयुक्त नीतिगत विषयमा सुझावहरू प्रस्तुत गर्ने नवीनतम् सामान्य अवस्थामा पोखरालाई पर्यटकीय हबको रूपमा दिगो विकास एवम् व्यवस्थापन गर्ने विषयलाईे कार्यान्वयमा जोड दिन परिषदले आग्रह गरेको छ । 

सो अवसरमा मेयर आचार्यले आफूले महानगर प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय प्राथमिकतमा रहेको जनाउँदै पोखराको पर्यटन विकासका लागि अहिलेसम्म भएका अध्ययन प्रतिवेदन र सुझावहरुको अध्ययन गरेर समग्र पोखराको विकासका निजी क्षेत्रसँग हातेमालो गरेर आफू अघि बढ्ने स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ