arrow

वामपन्थी जोड्न सुपर ग्लु खोज्दै वामदेव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
bamdev-gautam-ncp-1619856204.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनपछि वामपन्थी पार्टीहरुबीच सहकार्यको कुरा उठेको बेला पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एकता अभियानका लागि राष्ट्रिय भेला बोलाएका छन् । एमाले–माओवादीका नेताहरु आपसमा कुराकानी गरिरहेका बेला गौतमले शनिबारका लागि भेला बोलाएका हुन् । 

‘नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकताका लागि नयाँ चरणको एकताको अभियान शुरु गर्न राष्ट्रिय भेला बोलाइएको हो’, गौतमका स्वकीय सचिव दिपक टमाटाले भने । उनका अनुसार सबै पार्टीका नेता र कार्यकर्तालाई बोलाइएको छ ।

 ‘यो एउटा राष्ट्रिय गोष्ठी जस्तै हो’, टमाटाले भने । राष्ट्रिय सभा सांसद रहेका गौतमले शनिबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा राष्ट्रिय भेला बोलाएका हुन् । 

पार्टी एकता राष्ट्रिय भेलामा सबै जिल्लाबाट प्रतिनिधि पठाइदिन आग्रह गरिएको बताए । ‘नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकताको आवश्यकताको विषयमा छलफल गर्नका लागि राष्ट्रिय भेला बोलाउनु भएको हो,’ टमाटाले भने । उनका अनुसार अभियानमै रहेका कतिपय नेताहरू समाजवादी दलतिर लागेका छन् । 

जता लागे पनि एकता चाहनेहरू यो भेलामा उपस्थित हुनसक्ने गौतमको भनाइ छ । तत्कालीन नेकपाभित्र विवाद उत्कर्षमा रहेको समयमा २०७७ माघ १४ गौतमले एकताका लागि ‘राष्ट्रिय एकता अभियान घोषणा’ गरेका थिए । 

त्यस समयमा अध्यक्ष केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल दुई समूहले आधिकारिक नेकपा आफू भएको दाबी गर्दै आएका बेला गौतमले एकता अभियान शुरु गरेका थिए । 

२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र विभाजित भएका थिए । त्यसपछि नेकपा एमाले पनि विभाजित भयो । एमाले विभाजित भएपछि गौतम तटस्थ बसेका थिए । 

स्थानीय तहको चुनावको बेला गीतमार्फत माधव नेपाल नेतृत्वको समाजवादी पार्टीलाई सहयोग गरेका थिए । केही दिनअघि केपी ओली विरोधी भाषण गरेका गौतमले शनिबारका लागि कम्युनिष्ट पार्टीहरुको एकता हुनुपर्ने अभियानको थालनी गर्नुलाई राजनीतिक वृत्तमा चर्चायोग्य भएको छ । 

तर गौतमको यो अभियानमा क–कसले साथ दिने भन्ने बारेमा केही खुलेको छैन । एमाले–माओवादीका नेताहरुले एक आपसमा वामगठन्धनको कुरा चलाइरहेका छन् । 

एमाले अध्यक्ष ओलीसँग माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भेटघाट गरेका थिए भने एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले माओवादी अध्यक्षसँग भेटघाट गरिसकेका छन् । 

त्यसैगरी एमाले र माओवादीका दोस्रो तहका नेताहरुबीच पनि निरन्तर सम्पर्क गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ