arrow

बुटवलको बेहाल सडक: अधकल्चो सडकले सर्वसाधारणलाई सास्ती, ठेकेदारलाई मस्ती

logo
नारायण वली,
प्रकाशित २०७९ असार ९ बिहिबार
butwal sadak.jpg

रुपन्देही । बुटवलको चौराहा–गोलपार्क सडकखण्डको करिब ३ किलोमिटर सडक विस्तारको ठेक्का पाएको कम्पनी “कञ्चनजङ्घा बिरुवा जेभीका“ ठेकेदारले ८ करोड २६ लाख रुपैयाँ हालसम्म लगिसके पनि उक्त सडकको हालत भने थप बेहाल बनेको छ ।

शुरुमा विभिन्न कारणले विस्तार कार्य गर्न निकास नपाएको उक्त सडकले पछिल्लो समय ठेकेदारका कारण ‘अधकल्चो’ बनेको ६ लेन सडकको निर्माण कार्य सम्पन्न गर्नुपर्ने समयसीमा दुई पटकसम्म थपे पनि पूर्णता नपाउँदा विशेष गरी लुम्बिनी प्रादेशिक अस्पतालको प्रमुखद्वार अगाडि, पुष्पलाल पार्क छेउँछाउँ र पाल्पा रोडको अवस्था निकै विजोग अवस्थामा पुगेको छ ।

६ लेन सडक विस्तारका लागि २०७३ साल चैत १७ गते ठेक्का सम्झौता भएको र पहिलो सम्झौता गर्दा २०७६ साल असोज १२ गते सम्पन्न गर्नुपर्ने ठेक्का पत्रमा उल्लेख गरिएको पाइएको छ । पत्रमा भ्याट र पीएससमेत उल्लेख गर्दै कूल ४७ करोड, २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ ५० पैसा लागत देखाइएको छ । 

शुरुमा सडक विस्तारको काम अगाडि बढ्दा घरधनीहरूले मुद्दा हालेर सडक क्षेत्राधिकारमा परेका भौतिक संरचना (घर) नहटाएर अवरोध सिर्जना गरे । त्यसपश्चात् केही काम शुरु भएको बेला कोरोना महामारीको कहरसँगै वर्षात् शुरु भयो । त्यही समयलाई निहुँ बनाएर ठेकेदार कम्पनीले पहिलो पटक म्याद थप गरेको र पहिलो म्याद अनुसार २०७७ साल जेठ १ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता पनि खेर गयो । 

ठेकेदारले पुनः दोस्रो पटक म्याद थप्यो । जसको समयावधि सकिन अब २२ दिन मात्रै बाँकी छ । दोस्रो म्याद थप बमोजिम २०७९ साल असार ३० गते सम्पन्न गर्नुपर्ने उल्लेख छ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरको बागडोर सम्हाल्न निर्वाचित भएर आएका खेलराज पाण्डेले जिम्मेवारी वहन गरेको केही दिन पश्चात् बुटवलको जीर्ण सडकलाई मर्मत सम्भार गरी यातायात र पैदल यात्रीहरूका लागि सहज गराउने उद्देश्यले थालेको मर्मत कार्यले थप सङ्कट पैदा गरेको छ ।

ठेकेदारले एकतर्फी बाटो बन्द गराएर कालोपत्रे गर्ने तयारी गरे पनि न काम गर्ने न बाटो खोल्ने कार्य गर्नाले नगरप्रमुख पाण्डेले थालेको सहजतामा ब्रेक लाग्न पुगेको छ ।

सङ्घीय सरकारले लगाएको ठेक्का र सडक डिभिजनको मातहतमा विस्तार हुन थालेको अस्तव्यस्त सडकलाई केही सहज बनाउन खोजे पनि निर्माण कम्पनीले खासै वास्ता नदिएको बताइएको छ ।

तर यता ठेकेदारले दुई पटक थपिएको म्यादसम्म पनि ६ लेनमा विस्तार कार्य सम्पन्न नगर्दा लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको मुख्य महेन्द्र राजमार्ग चौराहा–सिद्धार्थ राजमार्ग अन्तर्गत गोलपार्कसम्मको सडक दूरावस्थाले बटुवादेखि यात्रुहरूले जाममा परेर हैरानी बेहोर्नु परेको छ ।

दोस्रो पटकको म्याद पनि सकिनै लाग्दा आवागमनलाई सहज बनाउन जीर्ण सडकलाई मर्मत सम्भारको नाममा काम गर्न खोजेको जस्तो देखाएर एकतर्फी बाटो बन्द गराएर काम नगरेको ठेकेदार पक्षले बुटवलको सवारी सञ्चालनमा थप जोखिमसँगै घण्टौँसम्म जाम लाग्ने बनाएर जनतालाई सास्ती दिएको स्थानीय उद्योगी यज्ञेश्वर थैवले बताए ।

उनले भने, “यस्तो अधकल्चो अवस्थामा छोडेको पनि दुई हप्ता हुन लागिसक्यो । स्थानीय सरकार र प्रदेश सरकारका मान्यज्यूहरू यही बाटो हिँड्नु हुन्छ । खै कुनै चासो दिएको जस्तो लाग्दैन । यो के रमिता बनाएको होला । कि कालोपत्रे गरिहाल्नु पर्छ, कि त यस्तो झन् बिजोग नबनाएको भए हुने ।“

बुटवलका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि राष्ट्रिय स्तरका योजनाहरू अलपत्र पारेर पटक पटक पेस्की स्वरूप पैसा लगेर कर्तव्य पूरा नगर्ने  ठेकेदारको ठेक्का रद्द गर्नुपर्ने र ठेकेदारको लाइसेन्ससमेत कालोसूचीमा राखेर कारबाही गर्दै, अधुरा योजना पूरा गर्न अर्को ठेकेदार कम्पनीलाई दिएर पूरा गर्नुपर्ने सरोकारवालाहरूले सुझाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ