काँकडभिट्टा । भूगर्वविद् तथा इन्जिनियरले बाढी पहिरो नियन्त्रण तथा भूसंरक्षणमा भेटिवर रोपण प्रविधिको प्रयोग सस्तो र उपयोगी हुने बताएका छन् ।
भेटिवर एक प्रकारको झारजन्य वनस्पति हो जसको बोट कुशको जस्तो हुन्छ भने जरा शक्तिशाली तारजाली जस्तो आठ फिट लामो हुन्छ । भूक्षय रोक्नका लागि यसले जैविक पर्खालको काम गर्ने विज्ञहरु बताउँछन् ।
स्टेज नेपाल तथा भेटिवर नेटवर्कमा आबद्ध विज्ञले बुधबार मेचीनगर नगरपालिकाको सभाहलमा भेटिवरको उपयोगिता बारेमा जानकारी दिएका हुन् ।
स्टेज नेपालका अध्यक्ष इन्जिनियर सञ्जय देवकोटाले नदी नियन्त्रण र भूक्षय रोकथाममा भेटिवरको प्रयोग हाल विश्वव्यापीरुपमा लोकप्रिय भइरहेको बताए ।
यो वनस्पतिलाई जस्तोसुकै डाँडापाखा र बगरमा रोप्न सकिने र हुर्किएको ६ महिनापछि नै जरा फैलाएर भूसंरक्षण गर्न थाल्ने उनको भनाइ छ ।
भारत, अमेरिका, केन्या, थाइल्यान्ड लगायतका मुलुकका सडक र नदी किनारमा भूक्षय रोक्न भेटिवरको अनिवार्यरुपमा रोपण गर्न थालिएको उनले बताए ।
नेपालमा भेटिवर भित्र्याउने भूगर्वविद् राम श्रेष्ठले ढुङ्गाको ग्याभियन पर्खालभन्दा भेटिवर रोपेर बाढी नियन्त्रण प्रभावकारी हुने दाबी गरे ।
झापाको विरिङ, कन्काइ, मावा लगायतका नदीमा बाढी नियन्त्रणका लागि पाइलट प्रोजेक्टका रुपमा भेटिवर रोपिएको छ ।
शिवसताक्षी नगरपालिकाका किसानले भेटिवरको नर्सरी नै स्थापना गरेका छन् । रासस