- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना साकार पार्नका लागि निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने बताएका छन् । ‘समृद्ध गण्डकी प्रदेशः सम्भावना र चुनौती’ विषयमा आर्थिक मिडिया र बेदव्यास क्रिएशनले आज पोखरामा आयोजना गरेकोे ‘गण्डकी आर्थिक बहस-२०७९’ मा उनले समृद्धिका लागि सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म लागिपरेको बताए ।
उनले भने, “समृद्ध गण्डकी प्रदेश बनाउने सरकारको सपनामा निजी क्षेत्रको सहयोग मुख्य रहन्छ, सरकार निजी क्षेत्रलाई सहयोग गर्न सधैं प्रतिबद्ध छ, देशको अर्थतन्त्रको ८० प्रतिशत निजी क्षेत्रमा आधारित रहेकाले यो क्षेत्र जबसम्म जुर्मुराउँदैन तबसम्म सरकार अगाडि बढ्न सक्दैन ।”
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले निजी क्षेत्रको सक्रिय सङ्लग्नताबिना विकास सम्भव नभएको बताए । प्रदेश सरकारले बनाएका नीति, नियम तथा कानुन आर्थिक गतिविधिलाई चलायमान बनाउन र निजी क्षेत्रको प्रवर्द्धका लागि रहेको उनको भनाइ छ ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान) गण्डकीका अध्यक्ष जगत पोखरेलले जलविद्युत् क्षेत्रको विकासबाट गण्डकी प्रदेशको समृद्धि सम्भव रहेको बताए । उनले यहाँका नदीनालाबाट विद्युत् उत्पादन गरी ऊर्जाको बिक्री वितरणबाट प्रदेश र प्रदेशवासीलाई धनी बनाउन सकिने उल्लेख गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले अनावश्यक राजनीतिक हस्तक्षेपले पर्यटन क्षेत्रमा असर पारेको बताए । उनले व्यक्तिको क्षमताका आधारमा नभई राजनीतिक पार्टी हेरेर व्यक्तिलाई माथि पुर्याउने परिपाटीले समस्या उत्पन्न भएको जिकिर गरे ।
उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले लगानीमैत्री वातावरण बनाउने दायित्व सरकारको भए पनि त्यो हुन नसकेको बताए । उनले पोखरा महानगरपालिका र प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयन गर्न कठिनाइ भएको पनि उल्लेख गरे ।
आयोजक संस्था आर्थिक मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र पौडेलले प्रदेशको समृद्धिका लागि सरकारी, निजी क्षेत्र तथा सरोकारवालाको सहभागितामा बहसमूलक कार्यक्रममार्फत सम्भावना र चुनौती पहिल्याउनका लागि कार्यक्रम गरिएको बताए ।