arrow

शैक्षिक उन्नयन गर्न स्वयंसेवक विकास कार्यक्रम शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
ichchhakamana-gaupalaika.jpg

चितवन । इच्छाकामना गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि स्वयंसेवक विकास कार्यक्रम शुरुआत भएको छ । राष्ट्रिय युवा परिषद्संगको सहकार्यमा गाउँपालिकामा स्वयंसेवक विकास कार्यक्रम शुरु गरिएको हो । सार्वजनिक शिक्षा सवलीकरणमा युवा परिचालन गर्ने ध्येयले थालनि गरिएको सो कार्यक्रमको शनिबार इच्छाकामना-४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालयमा गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शुभारम्भ गरे । 

उनले स्वयंसेवक विकास कार्यक्रमले स्थानीय युवाहरूलाई आफ्नो गाउँको विद्यालयको शैक्षिक सुधारका लागि भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । शैक्षिक गुणस्तर सुधार गर्न राष्ट्रिय युवा परिषद्ले यस कार्यक्रमका लागि इच्छाकामना गाउँपालिकालाई छनोट गरेकामा धन्यवाद दिए । गाउँपालिकाले पनि विद्यालयमा युवा स्वंसेवक शिक्षकको परिकल्पना गरेको उनले जानकारी दिए । शिक्षाका लागि पर्याप्त जनशक्ति नभएकाले स्वयंसेवक शिक्षक आवश्यक रहेको उनको भनाइ थियो ।

विशेषगरी शिक्षक बिरामी हुँदा विद्यालयका शिक्षिका सुत्केरी भएको अवस्थामा लामो समय बिदा दिनुपर्ने भएकाले त्यस्तो अवस्थामा स्वयंसेवक शिक्षकले कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ । यस कार्यक्रमले युवाहरूमा स्वयंसेविका बन्ने भावना पैदा हुने, गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिने अध्यक्ष गुरुङले बताए । 

राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माले गाउँपालिका भौगोलिक दृष्टिले दुर्गम पहाडी भेग र पिछडिएका समुदायको बसोबास रहेको हुँदा यहाँको शैक्षिक गुणस्तर सुधारमा टेवा पुर्याउन यस कार्यक्रमका लागि इच्छाकामनालाई छनोट गरिएको बताए । बेरोजगार युवालाई सामाजिककार्यतर्फ आकर्षण गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । यसरी युवा परिचालन गर्दा उनीहरूमा दक्षता बढ्ने उनको भनाइ छ । 

सो कार्यक्रमअन्तर्गत सहभागी युवाहरूलाई शनिबार नै ५० युवालाई एकदिने अभिमुखीकरण तालिमसमेत दिइएको छ । प्रशासकिय प्रमुख शर्माका अनुसार युवाले उक्त तालिमपश्चात आफ्नो टोलको विद्यालयको राम्रा र नराम्रा पक्षको जानकारी लिने छन् । विद्यालयको सुधार गर्नुपर्ने पक्ष के-के छन्, शिक्षक-विद्यार्थी र अभिभावकसँग छलफल तथा अन्तरक्रिया गरेर भरेका फारम गाउँपालिकामा पेश गर्नेछन् । सोही आधारमा गाउँपालिकाले शिक्षा नीति बनाउने र यसरी बनाएको शिक्षा नीति प्रभावकारी हुने उनको भनाइ छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले युवा स्वयंसेवक कार्यक्रमले शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे । युवालाई आफ्नो गाउँ टोलको विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि के गर्न सकिन्छ, आफूले सिकेको ज्ञान, सीपको भरतपुर सदुपयोग गर्न आग्रह गरे । युवाहरूले चनाखो बनेर चासो राख्दा हरेक क्षेत्रमा सकरात्मक परिवर्तन आउने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ