arrow

भाषिक भङ्गालो : अहिलेको विवाद ह्रस्व–दीर्घ र योग–वियोगमै सीमित

के हो विवादको मूल जड ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ भदौ ९ बिहिबार
Nepali-Language-war.jpeg
काठमाडाै‌ । भाषा विचार विनियमको माध्यम हो र यो निरन्तर विकासको प्रक्रियामा रहेको हुन्छ। विश्वमा २०० भन्दा बढी राज्यहरू अस्तित्वमा रहेका छन् भने सोभन्दा बढी सङ्ख्याका भाषाहरू अस्तित्वमा छन्। भाषा विकासको गतिमा निरन्तर दौडिरहने प्रक्रिया भएकाले केही भाषाको प्रभाव बढी त केहीको कम हुनु स्वाभाविक पनि हो र यस्तो हुँदै पनि आएको छ। 
 
नेपाली भाषालाई भारोपेली भाषा समूह अन्तर्गत पर्ने शतम् वर्गको संस्कृत भाषाबाट प्राकृत र अपभ्रंश हुँदै विकसित भएको मानिन्छ। यसलाई जसरी भनिए तापनि भारोपेली खण्डमध्ये भारतीय उपमहाद्वीपमा अस्तित्वमा रहेको संस्कृत भाषा नै नेपाली भाषाको विकासको आधार हो। प्राकृत र अपभ्रंश भनेका पनि भाषिक भाषिक रूपान्तरणका चरणहरू हुन्। 
 
यसरी हेर्दा नेपाली भाषाको प्राथमिक आधार बिन्दु संस्कृत भाषा नै रहेको स्पष्ट हुन्छ तर कतिपय संस्कृतका अतिवादीहरूले भनेजस्तो नेपाली भाषाको जननी नै संस्कृत भाषा हो भन्नेचाहिँ होइन र भाषिक विकास मातृ–पुत्री सम्बन्धका आधारमा अस्तित्वमा रहने वा वंशजको आधारमा हस्तान्तरण हुने विषय पनि होइन, यो केवल भाषिक आदान–प्रदान एवं दैनन्दिन व्यवहारबाट विकसित हुँदै जाने विषय हो। 
 
नेपाली भाषालाई संस्कृत भाषासँग सर्वाधिक निकट राख्न सकिने र राख्नुपर्ने केही आधारहरू छन्। प्रथमतः भारतीय उपमहाद्वीपमा विकसित सिन्धुसभ्यताका क्रममा पनि संस्कृतको अस्तित्व रहेको एवं प्राप्य सर्वाधिक पुराना धार्मिक ग्रन्थहरू संस्कृतमै प्राप्त हुनुले सबैको आकर्षण संस्कृतप्रति गएको र यसबाट क्रमागत रूपमा अन्य भाषाहरूको विकास भएको हो।
 
द्वितीयतः यसको सम्बन्ध जातिगत विकास प्रक्रियासँग पनि सम्बन्धित छ। नेपालको इतिहास पढ्दा पनि के स्पष्ट हुन्छ भने हालको नेपालको भू–खण्डमा जनजातिको बाहुल्य रहेतापनि उनीहरू सत्ताबाट भने प्रायः टाढै रहनुपर्‍यो। खास गरी हालको भारतीय भू–खण्डबाट व्यापार लगायत विभिन्न सिलसिलामा नेपाल प्रायः टाढै रहनुपर्‍यो। खास गरी, हालको भारतयि भू–खण्डबाट व्यापार लगायत विभिन्न सिलसिलामा नेपाल भित्रिएका लिच्छनीहरूले राज्यसत्ता आफ्नो हातमा लिएपछि हालको नेपाली भू–खण्डमा खस–ब्राहमणहरूको वर्चश्व र संस्कृत भाषाको प्रयोग बढी हुन थाल्यो। अधिक सङ्ख्यामा रहेका आदिवासी÷स्थानीयहरूले आ–आफ्नै भाषामा दैनिक व्यवहार चलाउने गरेका भए पनि आगन्तुक लिच्छवीहरूलाई स्थानीय भाषा सहज लभ्य नभएकाले उनीहरूले संस्कृतलाई नै राजभाषाका रूपमा प्रस्तुत गरे र व्यवहार चलाए। यस अवस्थामा स्थानीय आदिवासीहरूलाई पनि संस्कृत भाषा जान्नुपर्ने  बाध्यता भयो तर अपढित आदिवासीहरूले संस्कृतजस्तो गाह्रो भाषालाई यथारूप ग्रहण गर्न सकेनन् र संस्कृतको मूलमा स्थानीय भाषाकाृ समेत प्रभाव परी नेपाली भाषाको विकास भयो। 
 
तृतीयतः शासकीय महत्वाकांक्षा एवं जान्नेसुन्नेहरूको अहंवादी प्रवृत्तिले नेपाली भाषालाई संस्कृतको समीपमै हुर्काएको हो। विधायिका निर्मित कानुनको प्रारम्भ नै नरहेको तत्कालीन अवस्थामा समाज चलाउने आधार भनेकै धर्मशास्त्रहरू थिए र ती धर्मशास्त्रहरू सबै संस्कृतमा लेखिएका थिए। 
 
मध्यमार्गी भाषाका रूपमा नेपाली भाषा विस्तारै अस्तित्वमा आइरहेको भए तापनि नेपाली भाषाका प्रयोक्ताहरूमध्ये बढी शिक्षित र बाठाटाठाहरू ब्राह्मण–खस वर्गका नै थिए र उनीहरूको खास भाषा अस्तित्वमा पनि थिएन। तसर्थ, आफूले जानेको आधारमा वा अरुलाई जान्ने–सुन्ने नबनाउने आधारमा ती बाठाटाठाहरूले शास्त्रीय संस्कृतलाई नै तद्भवीकृत गर्दै नेपाली भाषाको विकास गराए र नेपाली भाषा संस्कृतसँग निकट रहन पुग्यो। यी अन्य केही कारणहरूले गर्दा शास्त्रवादी पण्डितहरूले संस्कृत–नेपाली भाषालाई मातृ–पुत्री सम्बन्धका रूपमा व्याख्या गर्ने कोसिस गरेका हुन्। 
 
अध्यात्म र भौतिकताको समेत अनुपम नमुना संस्कृतमा रहँदा रहँदै पनि परिष्कार एवं परिमार्जनको अभावले हाल सो भाषाको अस्तित्व नै सङ्कटमा पुगिसकेको छ। अनुपम ग्रन्थ प्राप्तिका लोभले केही अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्रहरूले संस्कृतलाई खोजिरहे तापनि संस्कृत भाषाको व्यावहारिक अस्तित्व लुप्त भइसकेको छ। यसरी मातृभाषा(संस्कृतलाई नेपालीको मातृभाषा मान्नेहरूका लागि)को अस्तित्व अन्त्य हुनु भनेको पुत्री भाषाले परिपक्वता प्राप्त गर्नु हो अर्थात् नेपाली भाषा स्वयंमा पूर्ण भाषा बन्न सक्नुको प्रमाण हो। 
 
भाषिक विवादका स्वरूपहरू
नेपाली भाषाले लिखित अस्तित्व प्राप्त गरेको करिब १ हजार वर्ष पूरा भइसकेको छ। यस क्रममा अभिलेख, ग्रन्थ–वाङ्मय हुँदै नेपाली भाषामा साहित्यिक रचनाहरू पनि प्रशस्तै लेखिए। साहित्य लेखनको पनि करिब अढाइ शतक पूरा गरिसकेको नेपाली भाषाले आफूलाई एक विकसित भाषाको रूपमा प्रस्तुत गरिसकेको छ। खासगरी नेपालको एकीकरण पछि राष्ट्रभाषाको रूपमा कायम रहँदै आएकाले पनि नेपाली भाषाले विकसित हुने मौका पाएको हो। मूलतः नेपालको शासन सत्तामा हालसम्मै पनि खस–ब्राह्मणहरूको वर्चश्व रहेको तथा उनीहरूले नेपाली भाषालाई नै मातृभाषाका रूपमा ग्रहण गरेकाले नेपालका अन्य भाषाहरूभन्दा नेपाली भाषा निकै अघि बढ्न सफल भएको हो । त्यसमाथि पछिल्लो एक शतकमा तीव्र विकास हुन पुगेको नेपाली साहित्यले नेपाली भाषालाई नेपालका अन्य भाषाहरूसँग नभई विश्वस्तरका भाषाहरूसँग तुलना गर्न सक्ने बनाएको हो। 
 
यसरी भाषिक विकास हुने क्रममा अनय भाषहरूमा झैं नेपाली भाषामा पनि सामान्य विवादहरू नदेखिएका होइनन्। खास गरी मौलिक शब्दहरू र आगन्तुक शब्दहरूको प्रयोगका सन्दर्भमा भाषिक प्रयोक्ता र व्याख्याताहरूबीच विवाद हुने कुरा विश्वव्यापी नै हो। केहीले राष्ट्रवादका नाममा कठिन नै भए तापनि मौलिक शब्दहरूकै प्रयोग गर्नुपर्ने विचार राख्ने त केहीले सहजताका लागि आवशयक परे आगन्तुक शब्दहरूलाई प्रविष्ट गर्न सकिने मत राख्ने हुँदा कुनै पनि भाषा विवादमा आउने गर्दछ।
 
नेपाली भाषाको हालको विवाद
विश्वमा अस्तित्वमा रहेका प्रमुख भाषाहरूले व्यावहारिक प्रयोगका अतिरिक्त साहित्यको तीव्रतर विकास गरी भाषिक विकासमा आफूलाई अग्रपङ्क्तिमा राख्दै आएका छन्। खास गरी भाषिक अभियन्ताहरूको मूल लक्ष्य भन्नु नै आफ्नो भाषालाई विश्वस्तरमा पुर्‍याउनु हो र हुनुपर्छ पनि। यसका लागि एकमात्र शर्त भनेको भाषिक प्रयोगकर्ताहरूको सङ्ख्या र क्षेत्रमा वृद्धि गराउनु हो। यसरी भाषिक प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि गर्नका लागि शब्दभण्डारको विस्तार, भाषिक सहजतामा जोड एवं भाषिक आगमनको सहर्ष स्वीकार गर्नुपर्ने हुन्छ। तर नेपाली भाषाका सन्दर्भमा पछिल्लो समय देखिएको विवादले भने भाषिक विकासलाई भन्दा विनाशलाई निम्याइरहेको छ। 
 
के–हो विवादको जड ? 
नेपाली भाषाका व्याख्याता वा अझ भनौं, आफूलाई भाषाविद् एवं भाषिक अभियन्ता नै भन्नेहरूले समेत आफ्नो एजेन्डा के हो भन्ने बारेमा केही खोल्न सकेका छैनन् तर त्यही विवादले ती भाषिक पण्डाहरूबीच बोली एवं पानी नै बाराबारको अवस्था सिर्जना गराएको छ। नतिजा गहन आइसकेको भए तापनि विवादको जड खोतल्दै जाने हो भने यस्तो विवाद सर्वथा तर्कहीन एवं हास्यास्पद रहेको पाइन्छ। यस अवस्थामा विवादका जडधारीहरूले आफ्नो नाम बिकाउनका लागि मात्रै विवादका लागि विवाद गरेका देखिन्छ। केहीले राजनीतिक शक्ति केन्द्रको गलत प्रयोग गर्दै विवादको बीजारोपण गरेका एवं केहीले तिनकै रिस गर्दै विवादमाथि विवाद थपेका बाहेक कुनै उल्लेख्य कार्य प्रस्तुत विवादमा रहेको पाइँदैन।
 
के छ भिन्नता ? 
वर्तमान अवस्थामा नेपाली भाषामा खास गरी २ समूहले भाषाको लहरो तान्दै भाषिक विकासको डोरीलाई चुँडाउन लागि परेका छन्। यहाँ पहिलो समूहलाई प्रयोवादी(परम्परागत प्रयोगलाई नै निरन्तरता दिनुपर्दछ भन्ने मान्यता अभिव्यक्त गरेका आधारमा) र दास्रो समूहलाई नियमवादी(खास नियम बनाई सोही नियमका आधारमा भाषा एवं वर्णको निर्धारण गर्नु पर्छ भन्ने मान्यता अभिव्यक्त गरको आधारमा) मान्न सकिन्छ। शब्दहरूको योग र वियोगका क्रममा पहिलो समूह गोगवादी र दास्रो समूह वियोगवादी देखा परेका छन्। यस्ता केही विवादका स्वरूपहरूलाई यहाँ प्रस्तुत गरिएको छ:
 
क) ह्रस्व–दीर्घको द्वन्द्व
विगतमा नेपाली भाषालाई खास गरी उच्चारण प्रक्रियाका आधारमा ह्रस्व र दीर्घ रूप प्रदान गर्दै आइएको पाइन्छ। यस क्रममा संस्कृत लगायत देवनागरी लिपि एवं नेपाली भाषाको जस्तै ह्रस्व–दीर्घको अस्तित्व रहने लिपिका हकमा सोही भाषामा रहे अनुसार एवं अन्यका हकमा उच्चारण समयका आधारमा शब्दहरूको ह्रस्व–दीर्घ स्वरूपको निर्धारण गरिएको देखिन्छ। सामान्यतः संस्कृत तत्सम बाहेक तद्भव र आगन्तुक भाषाका हकमा शब्दको आदि र मध्य अक्षर ह्रस्व एवं अन्तिमको अक्षर दीर्घ रहने गरेको छ यद्यपि केही अवस्थामा भने यस्तो मान्यता लागु भएका छैनन्। जस्तै;
 
संस्कृत तद्भवका केही उदाहरण
फूल–फुल्ल(पुष्प), खीर–क्षीर(दुध र चामलबाट बनेको परिकार), चूक–च्युत्(गल्ती), चूलो–चुल्ली(अँगेना)
 
छूत–सूतक(छुन नहुने), जूवा–द्यूत(जुवा खेल्नु), ठूला–स्थूल(विशाल), तीन–त्रीणि(दुई पछि आउने सङ्ख्या) तीतो–तिक्त(नमीठो),
 
तीखो–तीक्ष्ण(धारिलो), दूध–दुग्ध(सेतो झोलिलो पदार्थ), दूबो–दुर्वा(एक पवित्र झार)
धूलो–धूलि(हावासँग माटो उडेको अवस्था), नीम–निम्ब(एक रुख), पूरा–पूर्ण(सकल) आदि। 
 
आगन्तुकका केही उदाहरण
कीमत–अरबी, खून–फारसी, खूब–फारसी, चीज–फारसी, तीर–फारसी(वाण अर्थमा), नूर–अरबी(ज्योति) पूँजी–हिन्दी आदि। 
 
हालको भाषिक विवादको मूल कारण यिनै अपवादी केही शब्दहरू बन्न पुगेका छन्, जसका बारेमा भाषिक दिग्गजहरू बिना कारण दिमाग खर्चिरहेका छन्। उनीहरूमध्ये पहिलो समूह प्रयोगका आधारमा ती शब्दहरूको यथारूप अस्तित्व रहनुपर्दछ भन्ने मान्यता राख्दछन् भने दोस्रो समूह संस्कृतका तत्सम बाहेक अन्य सम्पूर्ण शब्दहरूका हकमा नियमतः आदि र मध्यका अक्षर ह्रस्व र अन्तिमका अक्षर दीर्घ हुनुपर्ने मान्यतामा रहेका छन्। 
 
विवादको सूल जडः फुल कि फूल
अन्य शब्दहरूमध्ये पनि सबैभन्दा बढी खेलिएको शब्दका रूपमा भने फुल वा फूल नै रहेको देखिन्छ। विवादको दोस्रो समूहले फूल(पुष्पका अर्थमा)को प्रयोग ह्रस्व गर्ने भनेको आधारमा त्यसलाई व्यङ्ग्य गर्दै पहिलो पक्षका भाषाकर्मीहरूले केही पुस्तक नै पनि प्रकाशन गराएका छन् भने यसै बारेमा दर्जनौं लेखहरू लेखिएका छन्। फुल(अण्डा)को माला लगाउने वा नलगाउने भनी हास्यास्पद विवाद पनि निकै गरिएको छ।
 
अझ लाजैमर्दो कुरो त के छ भने यी प्रयोगवादी एवं नियमवादीहरूले कार्यपालिका र विधायिकामा समेत यस्ता सस्ता विवादलाई प्रवेश गराई सोही अनुसार निर्णय गराएका छन्। एउटै विद्यार्थीले समेत विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा एउटै शब्दलाई फूल-फुल(पुष्पको प्रयोजनका लागि) का रूपमा बुझ्न बाध्य भइरहेका छन्। यतिमात्र होइन कि एउटै पाठ्यक्रम लागु भएका विद्यालय, महाविद्यालय एवं विश्वविद्यालय मातहतका क्याम्पसहरूमा समेत अध्यापकको जबर्जस्तीका कारण विद्यार्थीहरू कहिले फुल त कहिले फूल लेख्न र पढ्न बाध्य भइरहेका छन्। त्यसमाथि विवादमा आएका यस्ता शब्दहरू सयौँ वा हजारौँ रहेको पनि पाइँदैन बरु यस्तै केही सीमित शब्दहरूकै विवादमा ती विद्वानहरूले भाषाको अस्तित्वसँगै राज्यको ढुकुटी पनि नामेट गराउन लागिपरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ