काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समय विवादित बनेको मन्त्री सिफारिसको भागबण्डा मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसले राखेको एक मन्त्रालयल थप्ने प्रस्ताव मानेसंगै विवाद समाधान भएको हो ।
रामचन्द्र पौडेल पक्षलाई पाँच मन्त्री दिनका लागि मन्त्रालय नपुगेपछि पार्टी सभापति शेरबहादुर देउवाले दाहाललाई मन्त्रालय थप्ने आग्रह गरे ।
कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल लगायतका नेताबीच बालुवाटारमा भएको सहमति अनुसार कांग्रेसले सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गरी १४ मन्त्रालय पाउने भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘१४ मन्त्रालय दिएर कुरो मिलेको त होला । नभए कुरो मिल्यो भनेर जानकारी आउँदैन थियो ।’ वुधबार साँझबाटै त्यही कुरा आइरहेको थियो ।
साउन २० गते सरकारको गठन पूर्व कांग्रेस र माओवादी नेताहरूबीच भएको सात बुँदे सहमतिमा माओवादीले प्रधानमन्त्री बाहेक ८ मन्त्रालय र कांग्रेसलाई १३ मन्त्रालय दिने कुरा भएको थियो । कांग्रेस नेता बलबहादुर केसीले भागबण्डा मिलेको जानकारी दिए । उनले भने, ‘मन्त्रालय के कति भन्ने कुरा भन्दा पनि सरकार कांग्रेसकै हो । जे होस् पाँच मन्त्रालय पौडेल पक्षलाई दिने कुरो मिलेसंगै झगडा समाधान भयो ।
पौडेल पक्षले कम्तीमा पाँच मन्त्रालय नपाए सरकारमा सहभागी नहुने अडान लिएको थियो । सभापति शेरबहादुर देउवासँगको सल्लाहमा उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री दाहालसँग वार्ता गरी कांग्रेसको लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गर्ने पहल गरे ।
यद्यपि, पहिले देखि कांग्रेसले शिक्षा मन्त्रालय पाउने भनेकामा अब त्यसो नहुने भएको छ । शिक्षा माओवादीले नै राख्ने सहमति भएको छ । शिक्षा मन्त्रालय पाउने चर्चा भएका माओवादीका मन्त्री धनीराम पौडेल अहिले सम्म विभान विभागीय छन् ।
कांग्रेसको कोटामा परेको शिक्षा मन्त्रालयमा माओवादी नेता नारायणकाजी श्रेष्ठले आफूनिकट विनाविभागीय मन्त्री धनिराम पौडेललाई दिन भन्दै दाहाललाई घेरेपछि देउवाले शिक्षा माओवादीलाई छोडेका हुन् । कांग्रेसले अव माओवादीले पाउने भनेको स्वास्थ्य मन्त्रालय पाउने भएको छ ।
शिक्षा मन्त्रालयमा सभापति देउवाले अर्जुननरसिंह केसीलाई पठाउने तयारी गरिरहेकामा सो मन्त्रालय कांग्रेसको भागमा नपरेपछि केसीले अब सहरी विकास मन्त्रालय पाउने सम्भावना बढेको छ । केसी सहरी विकासमा गए कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुने भनेका गगन थापालाई असर पुग्ने छ । गगन थापाले समेत सहरी वा पर्यटन मन्त्रालय रोज्ने अनुमान गरिएको थियो । पर्यटनमा पनि जीवनबहादुर शाहीको नाम आएपछि उनलाई मन्त्रालय छान्न सकस भएको छ ।
गृह, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, स्वास्थ्य, परराष्ट्र, सामान्य प्रशासन, सहरी विकास, संस्कृति तथा पर्यटन, सिंचाई, श्रम तथा रोजगार, वन, शान्ति तथा पुनःनिर्माण, सहकारी तथा गरिबी निवारण मन्त्रालय कांग्रेसको भागमा परेको छ । खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले सानो दलका लागि कांग्रेससँग मागेका छन् । त्यसको साटो उद्योग मन्त्रालय कांग्रेसले पाउने सम्भावना छ । कांग्रेसमा पहिले चर्चामा रहेका केही व्यक्ति पर्न नसक्ने सम्भावना बढेको छ ।
सपथ शुक्रबार बिहान
कांग्रेसभित्र मन्त्री सिफारिस हुनेको भागबण्डा मिले पनि सरकारमा थप हुने मन्त्रीहरूको सपथ ग्रहण शुक्रबार बिहानमात्रै हुने भएको छ । यसअघि, वुधबार कांग्रेसका एक नेताले पनि शुक्रबार विहान सपथ हुने बताएका थिए ।
विवाद समाधान गरी विहिबार साँझसम्म भए पनि थप हुने मन्त्रीहरूको सपथ गराउने तयारी पार्टी सभापति देउवाको थियो । यद्यपि, विहिबार कृष्णजन्माष्टमी पर्वको सार्वजनिक विदा र राष्ट्रपति विद्यादेवी भण्डारी पर्वमा व्यस्त रहेकाले सपथ हुन नसक्ने बताइएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले समेत सपथ शुक्रबार मात्रै हुने जनाएको छ ।