काठमाडौं । स्वास्थ्य मन्त्री गगन कुमार थापाले डा. गोविन्द केसीका मागपूरा गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गरेसँगै हाम्राकुरासँग प्रतिक्रिया दिँदै स्थास्थ्य क्षेत्रसँग जोडिएका नागरिक आन्दोलनलाई आफू पदमाबसेसम्म त्यसलाई कहिले पनि नदोहोरिने गरी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
शुक्रबार राष्ट्रपति भवन शितल निवासमा सपथगहण गरेसँगै ११ बजे स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री थापाले बैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण रिपोर्ट गलत हुने गरेको विषयमा विशेषज्ञ समिति गठन गर्ने निर्णय पनि गरेका छन् । उनले गलत रिपोर्टकाका कारण बैदेशिक रोजगारीमा जाने धेरैले दुःख पाइरहेका र स्वास्थ्य मन्त्रालयमा समेत पटक–पटक उजुरी पर्ने गरेको विषय सुधारका लागि यस्तो समिति गठन गरेका हुन् ।
यस्तो निर्णय भएसँगै थापाले पत्रकारहरूसँग प्रतितक्रिया दिँदै सविधानमा सम्भवतः सबैभन्दा धेरै स्वास्थ्यको अधिकार लेखिएकोले यो संविधानको कार्यान्वयनको लागि आफू सक्दो भूमिका निर्वाह गर्ने बताए । स्वास्थ्य क्षेत्रमा सुधारको लागि आवश्यक धेरै काम रहेको भन्दै उनले आफू संविधान निर्माणको क्रममा स्वास्थ्य क्षेत्रको बारेमा लेख्ने समितिभित्र रहेर काम गरेकोले पनि यस विषयमा आफूलाई केही ज्ञान रहेको प्रतिक्रिया पनि दिए ।
अहिले उपलब्ध स्रोत र साधन भएका ठाउँमा पनि सेवा उपलब्ध गराउन नसकिरहेको भन्दै उनले जसरी हुन्छ जनतालाई स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुर्याउन सक्ने अवस्था सिर्जना गर्ने प्रतिक्रिया पनि व्यक्त गरे ।
मन्त्री थापाले गरेको निर्णयमा गलत रिपार्ट दिने संस्थालाई कारबाहीको दायरामा ल्याउने, समितिमा स्वास्थ्य मन्त्रालयको तोकेको राजपत्र अंकित प्रथम श्रेणीका चिकित्सक अध्यक्ष रहने उल्लेख गरिएको छ । त्यसबाहेक पनि समितिमा मेकिडकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानून अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनीधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् ।