arrow

गठबन्धन देशका लागि अभिषाप हो – केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
kp-oli-2079-03-20b.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्तारुढ गठबन्धन देशका लागि अभिषाप भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गठबन्धन स्वेच्छाचारी ढङ्गले अगाडि बढेको आरोप लगाए । 

उनले भने, ‘रेडक्रससमेत आफ्नो पार्टीको हुनुपर्छ भन्ने ठान्छ सत्तारुढ दल । एउटा दल विशेष र सत्तागठबन्धनको बाली काट्ने फसल उठाउने यो देश हो ? एउटा थिति हुनुपर्छ के देशमा ।’

उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न नदिएर पुलिस गएर घेरेको भन्दै भने, ‘जहाँ पनि दमन ।’

उनले पटक पटक यो गठबन्धन हुन्जेल देश उँभो नलाग्नेसमेत बताए । ओलीले गठबन्धन सरकारले एउटा पनि गतिलो काम नगरेको दाबी गरे । 

त्यस्तै उनले करका दरको घोटाला त्यसकै नमूना भएको बताएका हुन् । उनले भने, ‘गरिमामय संसदमा प्रश्न उठेपछि उल्टै धम्क्याउने ? गृहमन्त्रालयको अनिवार्य पालना गर्नुपर्ने सीसीटीभी फुटेज के सडकमा मकै पोल्नेले मान्न पर्ने ? अर्थमन्त्रीले दिन नपर्ने ? यत्रो गम्भीर प्रश्न उठिराखेका बेलामा डिलिट भयो रे । यस्तो पनि हुन्छ ?’

अध्यक्ष ओलीले अर्थतन्त्रको अस्मिता लुट्ने काम भएको दाबीसमेत गरेका छन् । उनले भने, ‘ब्यापारीका प्रतिनिधि र बाहिरका मान्छे राखेर बजेट बनाइन्छ भने त्यो भन्दा लज्जाजनक विषय के हुन्छ ?’

उनले यसलाई आफूहरुले गम्भीरपूर्वक लिएकोसमेत बताएका छन् । उनले छानबिन समिति बनाउनसमेत माग गरेका छन् । सत्यतथ्य बाहिर आउनु पर्छ । प्रश्न उठेको छ । सही सत्यतथ्य छानबिन गरेर सम्माननीय प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ । 

के प्रधानमन्त्रीजी लाचार हुनु भएको हो ? कि गठबन्धन जोगाए पुग्ने हो ? सरकार जेसुकै होस् ? अब त हुँदा हुँदा फुटेज डिलेट गर्ने । डिलेट गर्न पाइन्छ ? मन्त्रीले त आउनुस् छानबिन गरौं भन्नुपर्ने थियो । म दोहोर्याएर भन्छु यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू संसदीय छानबिन गरौं । छानबिन हुनैपर्छ यस्ता विषयमा । विश्वमै नभएको यसरी बाहिरका विचौलिया राखेर बजेट बनाउन पाइन्छ ? सरकार मर्यादामा बस्नु पर्दैन ?’

उनले थपे, ‘यसको छानबिन गरेर प्रतिवेदन संसदमा आउनु पर्छ । यसको दायाँ बायाँ हुनुहुँदैन । खोइ जवाफदेहिता ? खै उत्तरदायित्व ? ओठे जवाफको कुरा होइन । प्रमाणसहितको कुरा आउनु पर्यो नि ।’

ओलीले आफ्नो पालामा ओम्नीले घोटाला गर्यो भनेर आवाज उठाइएको भन्दै अहिले छानबिन गरेर कारबाही गरे भयो नि भन्दै चुनौती दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ