arrow

तरूण दल निर्देशन समितिमा भाँडभैलो, बैठक चल्न सकेन

logo
प्रकाशित २०७३ भदौ ११ शनिबार
tarun-dal-new.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरूण दलको महाधिवेशन गराउन गठित निर्देशन समितिमा भाँडभैलो मच्चिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू पक्षीय नेताहरूलाई जवर्जस्ती निर्देशन समितिमा घुसाउने प्रयास गरेको आरोप लगाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण प्रसाद सिटौला पक्षका समिति सदस्यहरूले बैठक बहिस्कार गर्न लागेपछि बैठक स्थगित गरिएको छ। 
 
पौडेल र सिटौला पक्षले जवर्जस्ती पार्टीमा कसैलाई पनि छलफल नगरी निर्देशन समितिको संख्या ५ सदस्यीयबाट ९ सदस्य बनाएकोमा आपत्ति जनाएका हुन्। शुरुमा ५ सदस्य बनाउने भनेर ७ सदस्य बनाउँदा विरोध नगरेको अवस्थामा त्यसलाई कमजोरी ठानी फेरि २ जना थपेर नौ सदस्यीय निर्देशन समिति बनाएको भन्दै त्यसको विरोध गरिएपछि शनिवार बस्ने तयारी भएको निर्देशन समितिको बैठक बस्न नसकेको समिति सदस्य उमाकान्त चौधरीले जानकारी दिए । 
 
किन बस्न सकेन बैठक ? 
सुरूमा ५ सदस्यीय निर्देशन समिति बनाउने भन्दै बालकृष्ण खाँडको नेतृत्वमा उमाकान्त चौधरी, हृदयराम थानी, सरिता प्रसाईँ र सुरेन्द्र पाण्डे सहितको समिति गठन गर्ने निर्णय भएको थियो । यसमध्ये खाँड र पाण्डे देउवा पक्षबाट, थानी र प्रसाईँ पौडेल पक्षबाट अनि चौधरी सिटौला पक्षबाट निर्देशन समितिमा पठाउने सहमति भएको थियो । तर, पछि सार्वजनिक गर्दा देउवा पक्षीय शंकर भण्डारी र रामकृष्ण यादवलाई समेत समावेश गरेर समितिलाई ७ सदस्यीय बनाईएको थियो।
 
फेरि, शनिबार निर्देशन समितिको बैठक बस्ने बेलामा देउवा पक्षीय महेन्द्र यादव र विश्वप्रकाश शर्मा समेत सहभागी हुन खोजेपछि पौडेल पक्षीय तथा सिटौला पक्षीय सदस्यहरूले बहिस्कार गरेका हुन् । चौधरीले देउवा पक्षले मनपरी ढ‌‌गले सदस्य थप गरेर कब्जा गर्ने रणनीति लिएकोले बैठक बस्न नसकेको स्पष्ट पारेका छन् । उनका अनुसार समिति संयोजक बालकृष्ण खाँडले पनि यस विषयमा आफूलाई समेत केही पत्तो नरहेको बताएपछि सबैको सहमतिमा मात्र बैठक बस्नेगरी बैठक स्थगित भएको हो । 
 
दलको अधिवेशन यही भदौ २४, २५ र २६ गते गर्ने तयारी भईरहेको छ । तर, यस विषयमा पनि विवाद भने कायमै रहेको छ । एक पक्षले एकलौटी रूपमा मिति तय गरेको आरोप लगाउँदै शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना ८ बुँदे मागहरू पूरा नगरे महाधिवेशनको सम्पूर्ण प्रक्रिया नै बहिस्कार गर्ने चेतावनी पनि दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ