arrow

कम्युनिष्ट नेताहरुलाई चिनियाँ सन्देशः ‘तिमीहरु वामगठबन्धन गर लगानी हामी गर्छौं’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
oli-prachanda-madhav-jhalanath-leu.jpg

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको चार दिने भ्रमणका क्रममा सोमबार र मंगलबार नेपालका कम्युनिष्ट पार्टीका नेताहरुबीच भेटघाटमै बित्यो । 

नेपालमा प्रधानमन्त्री भैसकेका चार जना कम्युनिष्ट नेताहरुसँग लिउले दिन बिताएका थिए । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब पाँच घण्टा र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालसहित नेताहरुसँग करिब दुई घण्टा उनले बिताएका हुन् । 

सोमबार लिउले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब सवा घण्टा भेटवार्ता गरे । ‘यसपल्ट चिनियाँको दुई वटा चासो देखियो–अमरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र नेपालका वाम दलहरुको विभाजनको सन्दर्भ’, स्रोतले भन्यो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा पाँच घण्टा संवादपछि नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा अपरान्ह ४ बजेदेखि सवा घण्टासम्म दुई पक्षबीच संवाद भयो । अघिल्लो दिन प्रचण्ड निवासमै पुगेका थिए । ‘विचार मिल्नेहरुसँग सहकार्य गर्नुस्, कांग्रेससँगको सम्बन्ध नेपालका कम्युनिष्टहरुलाई फलदायी नहुन सक्छ’, तीन दलका नेताहरुको भेटघाटमा चिनियाले दोहोर्याएको प्रसङ्ग हो । 

चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ नेताले नेपालको वामपन्थी आन्दोलनको विषयमा चासो राखे । अघिल्लो दिन प्रचण्डसँग भेटघाट गरेर मंगलबार केपी ओली, माधव नेपाल र झलनाथ खनालसँग भेटघाट गरेका थिए । चीनको विकास र कम्युनिष्ट आन्दोलन तथा एकताबारे करिब आधा घण्टासम्म आफ्ना भनाइ राखेपछि लिउले नेपाल प्रसङ्ग जोड्दै यहाँका वाम पार्टीहरू मिलेर गएको राम्रो हुने सन्देश दिएका थिए । भेटका क्रममा उनले आफ्नो यो भ्रमणबाट दुई देशको सम्बन्ध सुधार हुने विश्वास लिएका छन् । 

त्यतिमात्र होइन नेपालको कम्युनिष्ट पार्टीहरुको प्रशिक्षणमा चीनले के कस्तो सहयोग गर्नुपर्ने हो त्यसतर्फ पनि ध्यान दिन वचन दिएको स्रोतको दाबी छ । 

‘तपाईंहरु एकापसमा मिल्नुस् चिनियाँ कम्युनिष्ट पार्टीले गर्नुपर्ने सहयोग गर्नेछ’, भेटघाटमा सहभागी एक नेताले भने । उनका अनुसार नेपालको विकास साझेदार मात्र नभई कम्युनिष्ट पार्टीको उत्थान र विकासमा पनि सहयोग गर्ने वचन दिएका थिए ।  

‘नेपालको विकास लागि चीन साझेदार हो । चीनले निरन्तर सहयोग गर्दै आएको छ । नेपाली जनताको एकता र नेपाली राष्ट्रिय एकताले नै देशको विकास सम्भव छ । त्यसका लागि कम्युनिष्ट पार्टीको एकता महत्वपूर्ण हो’, लिउको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

लिउले भेटवार्ताका क्रममा दुई कम्युनिष्ट पार्टीबीच सम्बन्ध बढाउने प्रस्ताव पनि गरेका थिए । ‘हामी तपाईंहरुको राष्ट्रिय स्वाभिमानको लडाइँको कदर गर्र्छाैँ, यो लडाइँ अझै बलियो बनाउन तपाईंहरु मिलेर जाँदा राम्रो हुन्छ,’ नेता लिउको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 

चिनियाँ राष्ट्रपति सी चिनफिङको एउटा भनाइ पनि सुनाउँदै एकतामै बल हुने भएकाले वामपन्थी दलहरु मिलेर जाँदा राम्रो हुने सुझाएका थिए । ‘आमरुपमा विचारधारा मिल्ने मान्छे एक ठाउँमा आउनु राम्रो कुरा हो । चीन एकतामा विश्वास गर्छ । एकतामा बल हुन्छ भन्ने हाम्रो मान्यता हो। त्यसकै आधारमा चीन अघि बढेको छ’, लिउले अगाडि भने, ‘हाम्रै राष्ट्रपति सी चिनफिङले पनि ’एकतामा बल हुन्छ’ भनिरहनु भएको छ । उहाँकै भनाइअनुसार त्यहीकारण पनि हामी एक छौँ। चीन अहिले एक र बलियो छ ।’ एउटै विचारका दलहरुले एकतालाई मूलमन्त्र बनाउँदा राम्रो हुने धारणा पनि भेटमा राखेका थिए । 

त्यस्तै प्रचण्डसँग उनकै निवास खुमलटारमा भएको भेटमा लिउले नेपालका कम्युनिष्ट पार्टीहरु एकआपसमा किन मिल्न नसकेका र किन भिन्न शक्तिसँग सहकार्य गरिरहेका छन् भन्ने प्रसङ्गबाट वामगठबन्धनको कुरा उठाएका थिए ।  

लिउसहितको ७ सदस्यीय प्रतिनिधिमण्डलले प्रचण्डलाई खुमलटार निवासमै पुगेर सोमबार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म २ घण्टा लामो भेट गरेको थियो । त्यसको जवाफमा प्रचण्डले आफूहरुले पनि वामपन्थी शक्ति बलियो बनाउने प्रयास गरिरहेको र यसमा चिनियाँ पक्षको पनि सहयोगको अपेक्षा रहेको बताएका थिए । 

आफ्ना पार्टीका तर्फबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुसालसहित प्रचण्ड भेटघाटमा बसेका थिए ।

लिउले एमाले, कांग्रेससँग पार्टी टु पार्टी सम्बन्ध राम्रो बनाउने र दुई देशको सम्बन्ध राम्रो बनाउन यो भ्रमण गरेको बताए पनि खुमलटारमा भने वामपन्थी शक्तिहरु मिलेर ठूलो शक्तिको रुपमा उदाउदा छिमेकी मुलुकलाई पनि सहज हुने अपेक्षा गरेका थिए । 

नेपालमा स्थानीय चुनाव सकिएपछि संघीय संसदको चुनाव नजिकिँदै गर्दा चीनले नेपालका वामपन्थी दललाई मिल्न सुझाव दिनु अर्थपूर्ण रुपमा हेरिएको छ । यही विषयलाई लिएर लिउले प्रचण्डसँग आधा घण्टा र ओलीसँग एक घण्टा एकल संवाद गरेका थिए । त्यहाँ पनि वामपन्थीहरु दलहरु मिल्नुपर्ने सुझाव दिएको स्रोतको दाबी छ ।

यसरी नेकपा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीका नेतासँग सोमबार र मंगलबार भएका भिन्नाभिन्नै भेटमा चिनियाँ नेता लिउले वामपन्थी शक्तिबीचको एकता भए मुलुकको मात्र होइन चीनले पनि सकारात्मक रुपमा लिने बताएका थिए । 

लिउले यसरी कम्युनिष्ट दलहरुसँग खुलेआम भेटेर वामगठबन्धनका लागि नेताहरुलाई दबाब दिए पनि चीन नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भन्न भने छुटाएनन् । अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहेको बताउँदै उनले नेपालका कम्युनिष्टहरु मिलेमा आन्तरिक शक्ति बलियो हुने कुरा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ