काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गए। सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ भदौ १० गते दिउँसो सिङ्गापुर प्रस्थान गरेका थिए। त्यसको एक दिन अघी एमाले अध्यक्ष केपी ओली पनि स्वास्थ्य उपचारका लागि बैङकक प्रस्थान गरे। दुबै पार्टीका अध्यक्ष आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अलग अलग देश हानिए। देशको स्वास्थ्य संस्थाको हालत जस्तो भएपनि आफूहरु भने सरकारी सम्पती खर्च गरेर उपचार गर्न विदेश जाने विषय सार्वजनिक रुपमा आलोचनाको विषय भएको छ। यो प्रवृती नफेरिदासम्म यो सार्वजनिक वहशको विषय बनिरहनेछ।
तर यहाँ अहिले चर्चा गर्न खोजेको विषय भनेको पार्टी सभापतिको र अध्यक्षको हैसियतमा विदेश भ्रमण जाँदा उनीहरुले आफूले गरिरहेको कामको जिम्मेवारी हस्तान्तरणको विषय हो। एक दिन अगाडी पछाडी स्वास्थ्य उपचारकै लागि विदेश गएका पार्टी नेतृत्वले आफ्नो जिम्मेवारी कार्यवाहक तोकेर हस्तान्तरण गर्ने परम्परा नै रहेको छ।
स्वास्थ्य उपचार गर्न दुई साताका लागि बैंकक उडेका अध्यक्ष ओलीले उपाध्यक्ष वामदेव गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर गए। लामो समयको तिक्ततापछि एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर बैंकक उडे। अध्यक्षको निर्देशनपछि एमाले महासचिव ईश्वर पोखरेलले गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको पत्र हस्तान्तरण गरे।
तर त्यसको एकदिन पछि उपचारका लागि सिंगापुर गएका देउवाले कसैलाई जिम्मेवारी तोकेनन्। बरु खुसुक्क तरुण दलको निर्देशन समितिमा २ सदस्य थपेर हिंडे। पार्टीका अन्य नेतालाई जानकारी समेत नदिइ निर्देशन समितिमा सदस्य थपेर गएपछि विवाद वढ्दा शनिवार निर्देशन समितिको वैठक बहिष्कार गर्ने सम्मको विवाद भयो। पछि वैठक माइन्युट नगरि सकियो।
पार्टी सभापति विदेश भ्रमणमा जाँदा सभापतिले उपसभापति हुँदा उपसभापतिलाई नभए बरिष्ठ मध्येका कसैलाई तोकेर जिम्मेवारी दिएर जाने प्रचलन हुन्छ। तत्कालिन पार्टी सभापति शुसिल कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका जाँदा तत्कालिन उपसभापति रामचन्द्र पौडेललाई कार्यवाहक दिएर गएका थिए।
तर देउवाले पार्टी सभापति भएकै अवस्थामा विदेश भ्रमणको बेलामा कार्यवाहक दिएको देखिएको छैन। पत्नी आरजु राणाको उपचारका लागि भारत भ्रमणमा रहेका बेला पनि देउवाले कार्यवाहक दिएको आफूलाई थाहा नभएको सांसद रामहरी खतिवडाले बताए। यो पटक पनि दिएको आफूलाई जानकारी नभएको खतिवडाले बताए।
पार्टीका तर्फबाट मुख्य सचिवले सभापतिको आदेश अनुसार परिपत्रहरु हुने गर्छ। कार्यवाहकको बारेमा पनि मुख्य सचिवले जानकारी गराउने प्रचलन अनुसार कार्यवाहक तोकेको नतोकिएको विषयमा मुख्य सचिव कृष्ण प्रसाद पौडेलले पनि अनविज्ञता प्रकट गरे।
कार्यवाहक तोक्नै पर्ने कुनै वाध्यकारी व्यवस्था नभएको तर्क सभापति देउवा पक्षका कतिपय नेताहरुको तर्क छ। तर स्वयं अघिल्ला सभापतिहरुले निरन्तरता दिएको यो चलनलाई देउवाले किन निरन्तरता दिएनन भन्ने प्रश्न धेरै नेता कार्यकर्ताहरुले उठाएका छन्। पार्टीभित्रकै आलोचकहरु कार्यवाहक नदिनुको अर्थ देउवाले आफू
बाहेक अरु कसैलाई पनि विशवास गरेको नदेखिएको रुपमा पनि अर्थ्याएका छन्। पार्टीको भातृ संस्थाहरु महाधिवेशनमा भएका बेला आफ्नो हित विरुद्ध निर्णय कार्यवाहकले गर्ने डरले पनि उनले कार्यवाहकको जिम्मेवारी नदिएको तर्क पनि कतिपयको छ। पार्टीको पदाधिकारीका आकांक्षीहरु धेरै भएको अवस्थामा कार्यवाहक दिदा उसलाई सम्भावित उपसभापतिको उमेद्वारको रुपमा देखिने हुनाले पनि देउवाले कार्यवाहक नदिएको तर्क पनि छ।
देउवा निकट स्रोतका अनुसार लेखेर कार्यवाहक नदिइए पनि सभापतिले पार्टीमा लिनुपर्ने निर्णयका लागि सहजिकरण गर्न उपप्रधामन्त्री तथा पार्टी नेता विमलेन्द्र निधीलाई जिम्मेवारी तोकेका छन्।