वालिङ । स्याङ्जाको तिन्दोबाटे–६ झोल्पेका किसान टेकबहादुर दर्लामीले दूध बिक्री गरेर मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्छन् । सतहत्तर वर्षीय टेकबहादुर हाल सातवटा मुर्रा जातका भैँसीबाट दैनिक ३५ लिटरसम्म दूध बिक्री गर्छन् ।
“काम गर्न उमेर छेक्दैन गर्नका लागि जाँगर हुनुपर्यो,” वृद्ध किसान दर्लामी भन्छन् – “उत्पादन भएको दूध बिक्रीका लागि समस्या छैन घरसँगै डेरी जोडिएकाले त्यही डेरीमार्फत दैनिक दूध बिक्री गरिरहेछु ।” घरमा आफू र दुईवटी बुहारी भैँसीका लागि घाँस र दानापानीको व्यवस्थामा जुट्ने गरेको उनले बताए ।
“यामअनुसार दूध बिक्रीबाट कहिले दुई लाखसम्म आम्दानी हुन्छ कहिले एक लाखमा पनि चित्त बुझाउनुपर्ने र सबै खर्च कटाएर औसत मासिक डेढ लाखसम्म बचत हुने उनको भनाई छ । युवा रोजगारीका लागि मुलुकबाहिर गइरहेका अवस्थामा स्वदेशमै पशुपालन व्यवसाय गर्न सके राम्रो आम्दानी हुने भएकाले युवालाई पशुपालनमा लाग्न दर्लामीको सुझाव छ ।
पशुपालनका लागि आवश्यक पर्ने घाँस खेतीसमेत गरेका टेकबहादुर विभिन्न क्षेत्रबाट उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेकाछन् । रासस