अर्घाखाँची । सदरमुकाम सन्धिर्खक देखि १२ जना यात्रु लिएर हिडेको ग १ ज ४८७८ नम्बरको जीप अर्घाखाँची जिल्ला हंसपुर गाविस–५ चोरपाटामा दुर्घटनामा परेको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने, ६ जना सख्त घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा गाडी धनी नारायण राना समेत रहेका छन् । ६ घाइते लाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ ।
गाडी उकालो चढ्ने ठाउँबाट दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप चालक गुल्मीका उत्तम श्रीस प्रहरी चौकी हंसपुरको नियन्त्रणमा रहेका प्रहरी जवान कुलचन्द्र पोख्रेलले जानकारी गराए ।
जीप सडकबाट करिब सात सय मिटर तल खसेको थियो । सन्धिर्खक जीप काउनटरबाट १२ जना यात्रु लिएर १ बजे प्यूठान बादीकोटका लागि छुटेको जीप दोउँसो ३ः४५ बजे दुर्घटनामा परेको देउराली यातायात व्यवसायी समितिले जानकारी दिएको छ ।
सन्धिखर्क बाट छुट्दा १२ जना यात्रु लिएर हिडे पनि बाटोमा अन्य यात्रुहरु पनि चढेकाले मृतक र घाइतेको संख्या बढी भएको इलाका प्रहरी कार्यालय हंसपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परेकाहरुको उद्धार कार्य जारी रहेकाले घाइते तथा मृतकको पहिचान हुन सकेको छैन । दुर्घटना स्थलमा ठूलो भिर रहेकाले उद्धारमा कठिनाइ भएको इलाका प्रहरी कार्यलय हंसपुरले जनाएको छ ।