arrow

निधिले मधेसी मोर्चाका नेतालाई सिंहदरबार डाकेर के दिन्छु भने ?

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
nidhibalendra.JPG.jpeg
काठमाडौं । लामो समयपछि सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सम्वाद भएको छ । मोर्चाका नेताहरु समेत छलफलका लागि लामो समयपछि सिंहदरबार छिरेका छन् । 
 
तत्कालिन प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीको सरकारसंग निकै आजित भएको मधेसी मोर्चाले नयाँ सरकार गठन भएको २५ दिनपछि पहिलो पटक औपचारिक सम्वाद गरेको हो । ओली सरकारले मोर्चाले आन्दोलन संघीय गठबन्धनको नाममा छेडिसकेपछि पनि पटक–पटक वार्तामा बोलाएको थियो । यद्यपपि, मोर्चा तथा गठबन्धन नेताहरुले वार्ताको आधार तयार नगरी बोलाउँदैमा आफुहरु नजाने अडान कस्दै आएका थिए । वार्ता मोर्चाका नेताहरु भारतीय नाकाबाट काठमाडौं आउनु अघि नै टुटेको थियो । 
 
वर्तमान सरकारले सरकार गठन गर्नु अघि नै ३ बुँदे सहमति गरेर अघि बढेको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार सिंहदरबारमा मोर्चाका नेताहरुलाई राखेर सरकारले गरेको ३ बुँदेबारे विमर्श गरे । 
 
छलफलमा सहभागि तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले हाम्राकुरासंग भने, ‘वार्ता नै भएको होइन । यद्यपि, गृहमन्त्री जी ले औपचारिक छलफल नै गर्नु भएको हो । छलफलमा हामीले ६८ जना शहीदको नामावली पठाएकामा किन १६ जना छुटाएको भन्दै सोधेका थियौं ।’ जवाफमा गृहमन्त्रीले आफुहरुले बाँकी १६ जनाको नामलाई अन्तिम रुप दिन ‘भेरीफाई’ गरिरहेको बताएको उपाध्यक्ष लालले जानकारी दिए । 
 
गृहमन्त्री निधिको भनाई उदृत गर्दै लालले अगाडि भने, ‘ रकम निकाशा हुँदैछ । उहाँले घाइतेको उपचार खर्च र शहीद परिवारलाई आर्थिक सहायता मन्त्रालयले चाँडै दिन्छ । कार्यकर्तामाथि लागेका छुट्टा मुद्दाहरु पनि चाँडै फिर्ता लिनेगरी काम अघि बढेको बताउनु भएको छ ।’ आफुहरुको मागबारे सरकारले शीघ्र कारबाही गर्ने बचन निधिले दिएको उनले सुनाए । 
 
केही दिनअघि मोर्चाको सचिवालय बैठकले सरकारले तत्काल गर्ने भनेको काममा ढिलाई भएको भन्दै असन्तुष्टि जनाएको थियो । निधिले ३ बुँदे मागको २ नम्बर बुँदा आफ्नै मन्त्रालयले कार्यान्वयन गर्नु पर्ने भएकाले भइरहेको कामबारे मोर्चा नेताहरुलाई जानकारी गराए । 
 
दिउँसो दुई बजेदेखि एक घण्टासम्म चलेको छलफल सकारात्मक भएको लालको भनाई छ । बैठकमा तमलोपाबाट लाल, सद्भावनाबाट महामन्त्री मनीष सुमन, संघीय समाजवादी फोरमबाट संसदीय दलका उपनेता लालबाबु राउत, तराई मधेस सद्भावना पार्टीका नेता राम नरेश राय र थारु नेता भानुराम चौधरी सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ