arrow

'विदेश जाउँ मरेको लाश बाकसमा आउँछ, स्वदेशमै बसु प्रगतिका बाटा सबै बन्द भए'

अझै अन्यौलमा छन् एस्.एल.सी.उत्तीर्ण गरेका विद्यार्थी

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ भदौ १३ सोमबार
rolpa-slc-pun.jpeg
लिबाङ (रोल्पा)। करिव दुइ दिनको लामो पैदल यात्रा पार गरेर उच्च शिक्षा अध्ययनका लागि हस्याङ फस्याङ गर्दै केहीदिन अघि बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पाको गेट भित्र प्रवेश गरे शहिन्द्र पुन। 
 
भानुभक्त माध्यमिक विद्यालय रिकुनेटा उवा रोल्पाबाट २०७२ सालको एस.एल.सी परीक्षा दिएका पुन दोश्रो पटक लिबाङ आएका थिए। उनलाई विद्यालयको प्रशासन कक्ष कहाँ होला भन्ने खुलदुली थियो। उनको साथमा गाउँको दाजु पर्ने अर्का एक युवक पनि संगै थिए। उनकै सहयोगमा पुन कक्षा ११ मा भर्नाका लागि प्रशासन कक्षमा प्रवेश गरे। त्यहाँ उनी जस्ता धरै विद्यार्थीहरु भर्ना गर्नका लागि लाइनमा बसेका थिए। उनको पालो आयो अनि प्लाष्टिकको झोलाबाट आफ्नो एस्एल.सी. परीक्षाको सर्टिफिकेट शिक्षकको हातमा थमाउदै उनले भने कक्षा ११ को भर्ना गर्न आएको हुँ पैसा कति लाग्छ सर ?
 
शिक्षकले उनको सर्टिफिकेट हेर्नासाथ जवाफ दिए तिमीले कक्षा ११ मा भर्ना हुन पाउदैनौं। पुन अक्क न बक्क परे। दुइ पाइला पछाडि हिच्किदै उनले भने किन सर तर मैले परीक्षा त पास गरेको छु नि। 
 
एकैछिन चारैतिर सन्नाटा छायो। सबैले मुखामुख गरेर भन्न थाले एसपटकको एस.एल.सी.परीक्षाले धेरै विद्यार्थीलाई अन्यौलमा पारेको छ। अनि शिक्षकले जवाफ दिए भाइ तिम्रो टोटल जीपीए हेर्दा पुगेको छ तिमी उत्तीर्ण छौं तर विषयगत रुपमा हेर्दा अंग्रेजी, गणीत र विज्ञान विषयमा डी ग्रेड आएको हुँदा हामीले तिम्रो भर्ना गर्न सक्दैनौं। 
 
लामोदुरीको यात्रा पार गर्दै शिक्षक बन्ने लक्ष्य बोकेर सदरमुकामको विद्यालय आएका पुनको मुहार हेर्दाहेर्दै रातो भयो। उनका आँखामा आसुका थोपाहरु टिलपिल गर्न थाले। क्षणभरमै उनी निकै हतोत्साहित देखिए। सबै उनको मुहार हेरेर मौन बने। केहीबेरपछि लामो श्वास फेर्दै पुनले भने ( तर सर हाम्रो विद्यालयका सरले त मलाई पास भयौ भन्नु भएको थियो नि। उनलाई अझैपनि विश्वास लागेन आफू कक्षा ११ मा भर्ना हुनका लागि अयोग्य छु भन्ने बारेमा।
 
विद्यालयका शिक्षक तुलसी श्रेष्ठका अनुसार कक्षा ११ मा भर्ना भई कुनैपनि विषय पढ्नका लागि माध्यमिक तहका सबै विषयहरुमा कम्तिमा डी प्लस आउनु पर्छ भनेर शिक्षा मन्त्रालयले सबै विद्यालयहरुमा परिपत्र गरिसकेको  छ। तर पुनले ३ विषयमा डी ग्रेड मात्र ल्याएको हुँदा भर्ना लिन नसकिने उनको भनाइ छ। शिक्षक श्रेष्ठका अनुसार पुन जस्तै करिव  २५/३० जना छात्रछात्राहरु विद्यालयबाट यसरी नै निराश बनेर फर्किसकेका छन्। 
 
सोही विद्यालयका अर्का शिक्षक ओम सेनका अनुसार अहिलेको शिक्षा प्रणालीले विद्यार्थीको बाल मष्तिष्कमा सकारात्मक प्रभाव पार्नका लागि कसैलाई पनि तिमी फेल भयौ भन्न मिदैन भन्ने प्रावधान ल्याएको छ। तर उ असफल पनि भएको हुँदैन उसका प्रगतिका बाटाहरु पनि खोलिदैनन्  भने कसरी उसलाई सफल भन्न सकिएला ? सानो देशले ठूला ठूला विकसित देशको नक्कल गर्न खोजेको हुदा यो अवस्था आएको हो।
 
यसै विषयमा बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पाका प्राचार्य मधुसुधन पोख्रेल भन्छन् परीक्षा दिएपछि विद्यार्थी असफल हुदैनन् भन्ने सरकारको मान्यता हो। विद्यार्थीले जुन विषयमा जति सिकाई उपलब्धि प्राप्त गर्‍यो त्यसैका आधारमा विषय छान्न पाउने उसको अधिकार हो। सरकाले ल्याएको ग्रेडिङ सिस्टमका बारेमा विद्यार्थी अभिभावकको बुझाइमा फरक परेको हुँदा यसो भएको हो।  
 
पुन जुन उत्साह बोकेर विद्यायमा प्रवेश गरेका थिए त्यो भन्दा निराश र हतोत्साहित बन्दै बाहिरिए। उनी आफ्ना साथीहरुसंग भन्दै थिए विदेश जाउँ मरेको लाश बाकसमा आउँछ। स्वदेशमै बसु प्रगतिका बाटाहरु सबै बन्द भए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ