- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टीमा गएका तत्कालीन एमालेका कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फकाउन थालेपछि बीचमै समाजवादी केन्द्रको भाउँतो सिर्जना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका पाँच नेताको छलफलको क्रममा सो भाउतो सिर्जना गरिएको हो । उनीहरुबीच एकता र नयाँ पार्टी गठनको विषयमा निरन्तर छलफल गर्नुको पछाडि नेकपा एसका कार्यकर्ताहरु एमालेतिर फर्कने सक्ने भय रहेको स्रोतको दाबी छ ।
नेपाली कांग्रेससँग जति नै बार्गेनिङ गरे पनि प्रचण्ड र उनीहरुको समूहले पाउने भन्दा बढी सिट भए कांग्रेसमा विद्रोहको संकेत देखिएपछि प्रचण्डले आफ्नो पार्टी बलियो बनाउन सो भाउँतो सिर्जना गरेका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको ‘नेकपा’ को सचिवालयमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले समाजवादी केन्द्र बनाउने र त्यसमा बाबुराम भट्टराईलाई पनि मिलाउने भएका हुन् ।
‘प्रचण्डले आफ्नो शक्ति केन्द्रीत गर्ने र केही गरी कांग्रेससँग गठबन्धन हुन सकेन भने समाजवादी केन्द्र बनाएर एउटै चुनाव चिन्हमा निर्वाचन जाने गरी यस्तो नीति लिएका हुन्’, माओवादीका एक नेताले भने ‘यदि यस्तो भएमा माओवादीको सिट संख्या बढ्नेछ ।’
नेकपा विभाजनपछि बनेका माओवादी र एस पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेका छैनन् । माओवादी, नेकपा एकीकृत समाजवादी र नेकपा एकता अभियान सबैको अवस्था भन्दा एमालेको अवस्था सुदृढ रहेको छ ।
‘पछिल्लो समय वामपन्थी एकताको विषयले स्थान पाउन थालेको हो । एमाले बाहेकका शक्ति एक हुन तयार देखिन्छन् । अरु शक्तिलाई पनि सँगै लैजानुपर्ने विषयमा समेत छलफल चलेको छ ।
एमालेले भने यस विषयमा इच्छा जाहेर गरेको देखिँदैन । तर, अध्यक्ष ओलीसँग फरक मत राख्ने नेताहरु भने वाम एकतामा चासो राख्छन्’, माओवादी सकेसम्म एकता नभए समाजवादी केन्द्र बनाउन चाहन्छ’, स्रोतले भन्यो ।
नेकपा एसबाट ठूलो पंक्ति एमालेमा फर्कने सक्ने अवस्था भएपछि प्रचण्डले त्यसलाई रोक्न पनि समाजवादी केन्द्र बनाउन खोजेको ती नेताको भनाइ छ । ‘कांग्रेसले आफू प्रतिकुल हुन स्थानमा मात्रै गठबन्धन गरेमा माओवादीका लागि घाट हुनेछ र सत्ताको चाबी माओवादीको हातबाट फुत्कने छ । त्यसकारण पनि आफू कसिलो शक्ति बनिरहन यस्तो उपाय निकालेका हुन्’, माओवादीका ती नेताले दाबी गरे ।
एस पार्टीभित्र यतिबेला झलनाथ खनाल समूह बलियो रहेको छ । सो समूहले एमालेसँग सहकार्य एवं पार्टी एकताको विषयमा छलफल गरिरहँदा माओवादीकै पहलमा समाजवादी केन्द्रको विषय उठान गरेर अल्मल्याइएको छ ।
यो छलफल तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यबीच मात्र छलफल सीमित छैन । एकता र नयाँ पार्टी निर्माणको छलफलले आकार ग्रहण गर्दै गएमा प्रचण्डलाई फाइदा हुने गरी छलफल गरेको देखिन्छ ।
अहिलेका लागि नेकपा बाहेकका शक्तिका रुपमा जनता समाजवादी पार्टी (जसपा) लाई लिइएको छ । जसपाको एउटा समूहलाई पनि यो प्रकृयामा सामेल गराउने प्रयास भएको देखिन्छ ।
त्यसमा जसपाका पूर्व नेता डा बाबुराम भट्टराईले नेतृत्व गरेको समूह इच्छुक देखिन्छ । जसपालाई समेत जोड्ने हो भने ‘कम्युनिष्ट पार्टी’ नभनेर ‘समाजवादी’ शब्दसँग सम्बन्धित नाम राख्नुपर्ने विषयमा छलफल अघि बढेकाले पनि माओवादीका अध्यक्ष प्रचण्ड उत्साही भएका हुन् ।