arrow

रुपा तालमाथि झोलङ्गे पुल, थपियो पर्यटकीय गन्तव्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
pool 3 rupa.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ पचभैयाको सिमलडाँडादेखि रुपा गाउँपालिका-७ भङ्गारा जोड्ने झोलुङ्गे पुल गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको छ ।

पुलको एक कार्यक्रमबीच आज उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले तालमाथिको झोलुङ्गे पुल कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकालाई जोड्ने मात्र नभै एउटा पर्यटकीय गन्तव्यका रुपमा समेत विकास हुने विश्वास व्यक्त गरे । यस स्थानमा झोलुङ्गे पुल निर्माणका लागि लामो समयदेखि प्रयास हुँदै आएको जनाउँदै उनले पुल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने बताए । यस स्थानमा झोलुङ्गे पुल निर्माणको चर्चा आजभन्दा २५ वर्षअघिदेखि निरन्तररुपमा चलेको पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिनानाथ ढकाल बताउछन् ।

विसं २०४४ मा पचभैयामा अमरसिद्ध स्कुल शुरु गर्दा विद्यार्थी माग्न लामास्वाहाँरा, भङ्गारालगायतका स्थानमा पुग्दा त्यहाँका स्थानीयले पुलको माग गरेको स्मरण गर्दै उनले त्यसै बेलादेखि पुलको आवश्यकताले चासो र चर्चा पाएको बताए । “भङ्गराबाट विद्यार्थी पठाउन स्थानीयवासी तयार भएपछि हामीले तत्कालीन अवस्थामा पचभैयाको वनका सिमलका रुख काटेर आवत-जावतका लागि डुङ्गा बनाएका थियौँ”, तत्कालीन समय स्मरण गर्दै उनले भने, “यति लामो समयपछि पुल बनेको छ, यसले आवत-जावत त छँदैछ, तालमाथिको पुल भएका कारण यसले यहाँको पर्यटकीय विकासमा पनि टेवा पुर्याउने पक्का छ ।” पुल निर्माणसँगै रुपाको भङ्गरा आसपासका विद्यार्थी आगामी दिनमा १५ मिनेटकै समयमा पचभैयास्थित अमरसिद्ध माविमा आएर कक्षा ११ र १२ सम्मको अध्ययन गर्न पाउनेछन् ।

झोलुङ्गे पुल यहाँको लामो समयदेखिको आवश्यकता रहेको पोखरा-३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बताए । पुलले आसपासमा सञ्चालित रुपाकोट रिसोर्ट, बेगनास रिसोर्टजस्ता गन्तव्यसँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने उनले बताए ।

बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले लामो समयदेखिको प्रयासमा सम्पन्न झोलुङ्गे पुलले यस क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने बताए । पुल निर्माणसँगै आगामी दिनमा यहाँ आउने पर्यटक झोलुङ्गे पुलबाटै रुपातालको अवलोकन गर्न पाउने छन् । सात तालको बगैँचा यस सहरमा रहेको यो ताल  रामसार सूचीमा सूचीकृत छ ।

सूर्यको किरणसँगै रुपातालमा पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको स्थानीयवासी बताउँछन् । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण गन्तव्य बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक पर्यटक आउने गरेका छन् ।

सार्वजनिक बिदाका दिनका साथै अधिकांश शनिबारका दिन रुपाताल किनारमा माछा खान जानेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । प्रेमी-प्रेमिकाको भेटघाटका लागि पनि पछिल्लो समयमा आकर्षणको केन्द्र बन्दै गएको यो तालमा स्वीमिङ र फिसिङका लागि पनि पर्यटक पुग्ने गरेका छन् । तालमा आउने चराचुरुङ्गी पर्यावरणीय अवलोकनकर्ताका लागि गजबकै आकर्षण बन्न सक्ने विश्वास लिइएको छ । रुपाताल किनारका जङ्गललाई समेटेर बनाइएको अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना पनि यहाँको अर्को आकर्षण हो ।

चिडियाखानामा आउनेले यहीबाट हिमाली दृश्यावलोकनसहित तालको अवलोकन गरी रमाउन सक्छन् । ताल, चिडियाखानासँगै यहााका पचभैया देउराली, पचभैया कोट मङ्गलधर्म चक्र बौद्ध गुम्बा यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् । रुपाताल आसपासका क्षेत्रको जङ्गलमा तीन सय ६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । १३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइने यो क्षेत्रमा बनेको झोलुङ्गे पुलजस्ता संरचनाले आगामी दिनमा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ