काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठनका रिडायर्ड नेताहरु पार्टीभित्र आफुहरुको आन्तरिक व्यवस्थापनको खोजी थालेका छन् ।
उनीहरुले राजधानीमा वुधबार औपचारिक भेला नै आयोजना गरी पार्टी आफुहरुको बाँकी राजनीतिक जीवनप्रति चिन्तित नरहेको औंल्याए । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहको संयोजकत्वमा उनीहरुले दबाब अभियान नै थालेका छन् ।
बागबजारको एक होटलमा आयोजित भेलामा उनीहरुले अब पार्टी नेतृत्वलाई लिखित प्रस्ताव नै तयार गरी बुझाउने निर्णय गरे । भेलापछि उनीहरुले हिजोका दिनमा पार्टीको संगठन निर्माणमा गरेको योगदान र पार्टीलाई दिएको महत्वपूर्ण समयको कदर हुनु पर्ने भन्दै आगामी भूमिकाको खोजी गर्न अभियान थाल्नु पर्ने अवस्था आएको सुनाए ।
भेलामा सहभागि बलदेव तिमिल्सिनाले भने, ‘हिजो संगठन विस्तार, पार्टीका हरेक मोर्चा र आन्दोलनमा हामीले योगदान गरेका छौं । रिटायर्ड भइसकेपछि अब हाम्रो जाने ठाउँ कहाँ ? बाटो देखाइदिनु पर्याे भन्दै हामीले अभियान थालेका छौं । अब पार्टीका नेताहरुसंग निरन्तर छलफल हुन्छ ।’हाम्रो अभियान व्यवस्थापन नभएसम्म जारी रहन्छ । भेलामा पूर्व नेविसंघ अध्यक्ष रन्जित कर्ण, रामकृष्ण चित्रकार, दीपक अधिकारी लगायत पूर्व महामन्त्री, पूर्व सहमहामन्त्रीहरु र पूर्व पदाधिकारीहरु बाक्लो रुपमा उपस्थित थिए ।