- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । खाली खुट्टा हिंडेर यात्रा गर्नु सामान्य कुरा थिएन । त्यो पनि लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको सीमा क्षेत्र बबई नदीदेखि सल्यान, दाङ हुदै काठमाडाैंको दूरी करिव ५ सय १५ किलोमिटर । सनातन हिन्दू राज्यको कायम र संघीयता खारेजीको एजेण्टा लिएर खाली खुट्टाको यात्रा तय गर्दा उनलाई वर्षायामको समय त्यसै पनि कठिन थियो ।
तर झनकबहादुर बस्नेत भने आफूले थालेको कठोर यात्राको लक्ष्य प्राप्ति गर्न कम्मर कसेर हिँडे । अन्ततः उनी पूर्वपश्चिम राजमार्गमा २१ दिनमा हिंडेर बुधबार काठमाडाैं पुगेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काले लिएको हिन्दू राज्य कायम र संघीयता खारेजीको मागलाई पुनः पैदल यात्राको संकल्पले नेतृत्व पंक्तिलाई ध्यानाकर्षण गराउनका लागि खाली खुट्टा हिंडेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने लक्ष्य उनै झनकले लामो कठोर पैदल यात्रालाई बिट मारेका छन् ।
शुरुवाती स्थानबाट यात्रा तय गर्दा काठमाडाैंस्थित रहेको पशुपतिनाथको मन्दिरमा यात्रालाई विसर्जन गर्ने र नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आफूले लिएका एजेण्डाको ज्ञापनपत्र बुझाउने बताएका छन् ।
देश र जनताका लागि बोझको रुपमा रहेको संघीयता र पछिल्लो समय पैसाले धर्म परिवर्नत गराउने क्रमले नेपालको अस्तित्व हिन्दू धर्ममाथि हमला भएको भन्दै नेपाललाई धर्म निरपेक्षता भनी घोषणा गरिएको र उक्त बुँदालाई हटाएर पुनः ऐनलाई संशाेधन गरी हिन्दू राज्य घोषणा गर्नुपर्ने मागलाई द्धय युवा नेता माँझ राख्ने योजनाका साथ हिंडेको झनकले बताए । साउन ४ गतेदेखि यात्रा शुरु गरेका बस्नेतले बिहीबार पशुपतिनाथको मन्दिरमा एक कार्यक्रमका साथ यात्राको विसर्जन गरेका छन् ।
दाङ तुलसीपुर नेपाली कांग्रेस नगर कमिटिका सह–सचिव रहेका युवा नेता बस्नेतले यात्रा विसर्जन कार्यक्रममा आफ्नाे पैदल यात्रा संघीयता खारेजी र हिन्दू राष्ट्र कायम र संघियताको खारेजी लक्षित रहेको भन्दै माग पूरा होला, नहोला तर पनि आफूले देश र जनताको लागि एउटा कठोर अध्याय पूरा गरेको जनाए ।
उनलाई पशुपतिनाथ मन्दिरमा पूर्वमन्त्रीद्धय रामचन्द्र अधिकारी, सुशिलमान शेरचन, पूर्व संविधानसभा सदस्य बुद्धिराम भण्डारी, आफन्त, साथीभाइ र शुभचिन्तकहरुले एक कार्यक्रम गरी स्वागत गर्दै बस्नेतले लिएको अठोट र संकल्पलाई साथ सहयोग गर्ने आश्वासन दिएका थिए ।