काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन बिहीबार बाबुको भौतिक उपस्थिति हुने छोराछोरीले बाबुको मुख हेरेर मनाउँदै छन् । बुबाको मुख हेरेपछि मिठाइ, फलफूल, कपडा आदि उपहार दिने चलन छ । टाढा हुने छोराछोरीले फोनबाटै पनि कुरा गरेर पनि बुबाको मुख हेर्ने गरिन्छ ।
भौतिक रूपमा बिदा भइसकेका बाबुहरूलाई भने छोराछोरीले तस्बिर हेरेर वा विभिन्न शक्तिपीठ, देवालयमा गई दान गर्ने परम्परा छ । औँसीको दिनलाई शास्त्रमा पितृको दिन मानिन्छ ।
पिता नहुनेहरूले गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा गई पितृका नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्ने गर्छन् ।
यसै दिन घर डेरामा कुश भित्र्याउने चलन छ । स्वर्गका राजा इन्द्रले भगवान् विष्णुलाई स्वर्गबाट कुश दिएको दिनको रूपमा संस्मरण गर्दै यस दिन कुश भित्र्याउने चलन छ ।
तुलसी, कुश र शालीग्रामलाई विष्णुको प्रतीक मानिन्छ । भाद्र कृष्ण औँसीका दिन काटिएको कुश एक वर्ष, अन्य औँसीमा काटिएको कुश एक महिना र अन्य दिन काटिएको कुश सोही दिनका लागि मात्र धार्मिक कार्यमा काम लाग्छन् भन्ने मान्यता छ ।
भाद्र कृष्ण औँसीका दिन चन्द्रमा र सूर्य सिंह राशिमा पर्ने भएकाले यो दिन पितृ कार्यका लागि उत्तम मानिएकाले दिवंगत बाबुप्रति श्राद्ध तर्पण गर्ने र जीवित देवतासरह बाबु हुनेले उपहार आदि दिएर प्रसन्न तुल्याउने गर्दा राम्रो हुन्छ ।
गोकर्णेश्वर औँसी पनि भनिने यो दिन उत्तरगया भनी पवित्र मानिएको गोकर्ण क्षेत्रमा पितृ श्राद्ध गर्दा पितृ उद्धार हुन्छ भन्ने मान्यता छ । गोकर्णमा श्राद्ध गराउने ब्राह्मणले बुधबार नै स्थान ओगटिसकेका छन् ।
श्राद्ध कर्म गर्दा गोकर्ण छेउको बागमती नदीमा फोहर फाल्न निषेध गरिएको छ । फोहर नियन्त्रण गर्न स्वयम्सेवकको एक दस्ता गोकर्णलगायत बागमती नदी क्षेत्रमा खटिएका छन् ।
ग्रहगणितअनुसार सूर्य र चन्द्रमा एउटै राशीमा पर्ने दिनलाई औंशी भनिन्छ । शास्त्रमा औंशीका दुई भेद बताइएका छन् । प्रातकाल सूर्योदयभन्दा पहिले चन्द्रमा रेखास्वरूपमा देखिए सिनीवाली भनिन्छ ।
चन्द्रमाको अवशेष नै नदेखिने औंशी कुहू हो । ज्योतिषशास्त्रअनुसार प्रत्येक तिथिका स्वामी भएजस्तै औंशी तिथिका स्वामी पितृ हुन् ।
औंशीका दिन शास्त्रले बताएका निषिद्ध कार्यजस्तै वेदको अध्ययन नगर्ने जस्ता ‘औंशी बार्ने’ चलन छ । औंशीका दिन बिहानै उठेर स्नान गरी पितृहरूको स्मरण गर्दै तर्पण गर्ने जस्ता चलन गाउँघरमा अद्यापि चलेकै देखिन्छन् ।
आमाबाबु नहुनेले औंशीको दिन खनजोत नगर्ने, नित्यपूजामा शङ्खघण्ट नबजाउने, हाँडी नबसाल्ने, बेलुकी भात नखाने, सम्भोग नगर्ने चलन छ ।
औंशीका दिन खाद्यान्न सुकाउँदा कीरा लाग्दैन भन्ने विश्वासभित्र वैज्ञानिक तथ्य लुकेको पनि छ